बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

घनश्याम भुसालको धारणा : नीति र नेतृत्व दुवैको पुनर्गठन अपरिहार्य

‘दशकौँको प्रशिक्षणले तयार गरेको प्रणाली २-३ दिनको सामाजिक सञ्जाल अभियानमै धराशायी भयो’
बिहीबार, ०२ असोज २०८२, २२ : २६
बिहीबार, ०२ असोज २०८२

सारांश

  • नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठन र लोकतान्त्रिक प्रक्रियाको सबलीकरणमा जोड दिए।
  • भुसालले जेनजी आन्दोलन र त्यसपछिका घटनाले मुलुकलाई असाधारण अवस्थामा पुर्याएको बताए।
  • उनले पार्टीको कमजोरी र भ्रष्टाचारका कारण लोकतन्त्रमा विश्वास कमजोर भएको उल्लेख गर्दै पार्टी पुनर्गठन आवश्यक रहेको बताए।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले जेनजी आन्दोलन र त्यसपछिका घटनाले मुलुकलाई असाधारण अवस्थासम्म पुर्‍याएको भन्दै अहिलेको मुख्य मुद्दा पार्टी पुनर्गठन र लोकतान्त्रिक प्रक्रियाको सबलीकरण रहेको बताएका छन् । 

भुसालले पार्टी सचिवालय बैठकमा प्रस्तुत गरेको कार्यपत्रमा केही घण्टाकै आन्दोलनले दशकौँदेखि बनेको राजनीतिक संरचना भत्काइदिएको उल्लेख गर्दै 'राजनीतिक दल, नेताहरूको ‘महानता’ र दशकौँको प्रशिक्षणले तयार गरेको प्रणाली २र३ दिनको सामाजिक सञ्जाल अभियानमै धराशायी भएको छ,' भनेका छन् । 

उनका अनुसार मुलुकमा दलाल पुँजीवाद, बेरोजगारी, कुशासन र नेताहरूको भ्रष्टाचारले जनतामा आक्रोश बढाउँदै ल्याएको र अन्ततः यही असन्तुष्टिले ठूलो विस्फोटको रुप लिएको हो । उनले भने, 'गणतन्त्र आएपछि पनि नेताहरूको अहङ्कार, गुटबन्दी र भ्रष्टाचारका कारण लोकतान्त्रिक व्यवस्थाप्रति विश्वास कमजोर हुँदै गएको छ ।' 

भदौ २४ को आन्दोलनपछि सिंहदरबार, सर्वोच्च अदालतदेखि राष्ट्रपति भवनसम्म आक्रमण हुनु साधारण कुरा नभएको भुसालले दाबी गरेका छन् । उनले यसमा बाह्य शक्तिको भूमिका र अन्तर्राष्ट्रिय सन्दर्भ पनि जोडिएको हुनसक्ने भन्दै आगामी दिनमा सत्य अझै खुल्ने विश्वास व्यक्त गरेका छन् । 

भुसालले लोकतन्त्रको रक्षा अहिलेको प्रमुख काम भएको उल्लेख गर्दै भनेका छन्, 'राष्ट्रपतिले सडकसँग सम्झौता गर्दा संविधानको सीमा छोइएको छ । अब लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउँदै चुनावतर्फ जानुपर्छ ।' 

उनले राजनीतिक दलकै कमजोरी र नालायकीले वर्तमान अवस्था सिर्जना भएको स्वीकार गर्दै पार्टी पुनर्गठन अनिवार्य रहेको बताए । 'अहिलेकै पार्टी संरचनामा जनतामाझ जान असम्भव छ । पुनर्गठन नगरे लोकतान्त्रिक प्रक्रिया बलियो बनाउन सकिँदैन,' उनले भने । 

भुसालले पार्टीव्यापी छलफलमार्फत नीति र नेतृत्व दुवैको पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार, यही प्रक्रियाबाट मात्र जनतामा नयाँ आशा र विश्वास पैदा गर्न सकिन्छ र मुलुकलाई प्रतिक्रान्तिकारी सम्भावनाबाट जोगाउन सकिन्छ । 

यस्तो छ भुसालको धारणा

जेनजीको आन्दोलन, त्यसको अपहरण र विध्वंश : 

हाम्रो दृष्टि र अबको मुद्दा 
–हामी अहिले असाधारण विरोधाभाषका बीच खडा छौं । केही घण्टाकै विप्लवले पुरानो राजनीतिक संरचना गल्यामगुर्लुम ढलेको छ । जेन जी भनिने निष्कपट नवयुवाहरूको प्रदर्शन, तिनीहरूमाथि भएको अपराधी दमन र तिनका नाममा देशभरि लगाइएको डढेलोको एउटै लप्काले राज्य भनिने संरचना कतिसम्म मक्किएको रहेछ भन्ने स्पष्ट पारेको छ । स्थापित भनिएका राजनीतिक पार्टीहरूका सामाजिक जराजुरी सतह बाहिर आएका छन् । पार्टीभित्र तथाकथित अनुशासनले थामेर राखेको नेतारराजनेताहरूको ‘दूरदृष्टि, 'महानता', ‘सामर्थ्य' का धरहरा गल्यामगुर्लुम् ढलेका छन् । दशकौंसम्म पार्टीका बैठक, निर्देशन, प्रशिक्षणले तयार गरेको राजनीतिक र पार्टी प्रणाली २र३ दिनको सामाजिक सञ्जाल अभियानले क्षतविक्षत पारेको छ । 

–हरेक भवितव्यबाट उठेर आफ्ना सीमा, कमजोरीको समीक्षा गर्दै र आफैबाट भएका भूलचुक र नालायकीहरूको वस्तुनिष्ठ हिसाब-किताब गर्दै जुन जाति, समाज, सङ्गठन वा राष्ट्रहरू अगाडि बढे तिनले इतिहासको नेतृत्व गरेका छन् । आत्ममुग्धताको आहालबाट निस्कन नचाहाने अकर्मण्य समुदायहरू इतिहासको गतिमा पछि पर्दे, साँघुरिँदै, बिलाउँदै गएका छन् । आज हामी आफैले बनाएका राज्य, राजनीति र सङ्गठनको भग्नावशेषका अगाडि छौं । हामीसँग दुइवटा विकल्प छन्ः अगाडि बढ्ने हो कि जहीँको तहीँ रहने हो ? इतिहासको गौरवगाथा र ध्वस्त वर्तमानको विरहगानमै अडिने हो कि भविष्यको नयाँ बाटो खोज्न सङ्कल्प गर्ने हो ? समाजका नवोदित प्रगतिशील वर्ग तथा समुदायको अगुवाइ गर्ने हो कि इतिहासले छोडिसकेका पछौटेहरूको पुच्छर बन्ने हो ? एकातिर इतिहासको गोलचक्कर छ, अर्कोतिर भविष्यको अनन्त मार्ग छ । यस्ता प्रश्नमाथि खुल्ला, पारदर्शी र वस्तुनिष्ठ छलफल गरौं । 

पार्श्वचित्र 

–औद्योगिक विकासलाई रोकेर मुलुकलाई आर्थिकरुपमा पराधिन बनाउने र त्यस पराधिनताको कूत खाएर सत्ताधारीले वर्गले शासन चलाउने व्यवस्थालाई मैले दलाल पुँजीवाद भन्दै आएको छु । बेरोजगारी र कुशासन दलाल पुँजीवादका मुख्य चरित्र हुन् । त्यसले समाजमा गरिबी, विभेद र असन्तुष्टि जन्माउँछ । जनताको त्यही असन्तुष्टिका कारणले पञ्चायत र राजतन्त्रको अन्त्य भएको थियो । लोकतान्त्रिक गणतन्त्रले दलाल पुँजीवादलाई अन्त्य गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्नुपर्थ्यो । तर नेपालको राजनीति दलाल पुँजीवादकै वरिपरी घुमिरह्यो । त्यसले आम नागरिकमा असन्तुष्टि बढ्दै जानु र कुनै न कुनै दिन विष्फोट हुनु अनिवार्यजस्तै हुन्थ्यो । 

गणतन्त्र आएपछि पनि एकपछि अर्को भ्रष्टाचार काण्डहरूमा नेताहरूको नाम जोडिँदै गएको र नेताहरूको अहङ्कार बढ्दै गएको, उनीहरूले आम नागरिकलाई हेप्दै गएको कुराले समाजमा आक्रोशलाई बढाइरहेको थियो । पार्टीमा जति ठूलो पद भयो राज्यदोहनमा त्यति धेरै पहुँच हुने हुँदा गुटबन्दी, पद र हैसियतको नाजायज वितरण, विधानमा हेरफेर, प्रश्न गर्नेहरूको निष्कासन, चाकर र नातापाताको पदोन्नतिजस्ता विकृति पार्टीहरूमा सामान्य घटना भएका थिए । मरणोपरान्त पदमै रहन खोज्ने नेताहरूले नैतिक वैधता गुमाउँदै गए । पार्टीहरू सत्ताधारी नेता र अन्य नेताका गुट, एउटै नेताका भिन्नभिन्न गुट, ठूला नेता र साना नेताका गुटमा बाँडिदै गए र तिनको अन्तरविरोध चर्किंदै जाँदा एकले अर्कोलाई बदला लिन गर्नु-नगर्नु गर्न थाले । यसरी पार्टीभित्रका विवादहरू सार्वजनिक चासो र आलोचनाका विषय हुँदै गए । इमान्दार कार्यकर्ताहरूले पनि नेताका विकृतिको भारी बोक्नु पर्ने भयो । सङ्क्षेपमा, पार्टी र राजनीति बदनाम हुँदै गए । 

–हाम्रा सार्वजनिक सम्पत्ति, राजनीतिक नेताहरू र व्यावसायिक संगठनहरू, अझ सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनमाथि जसरी एकै साथ हमला भयो यो तहको योजना नेपालभित्र बन्न सक्दैनथ्यो । २४ गतेपछि अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले जेजति सन्दर्भहरू उठाएका छन् त्यसले पनि यो नेपालमा मञ्चन भएको ुरनि क्रान्तिु हो भन्नेबारे प्रकाश पार्छ । आगामी दिनमा त्यो अझै खुल्दै जानेछ । 

लोकतन्त्रको रक्षा स् हाम्रो मुख्य काम 

–एउटा विषम परिस्थितिमा राष्ट्रपतिले सडकसँग सम्झौता गरेका छन् । त्यस क्रममा संविधानको सीमा छोइएको छ । हामीले लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउँदै निर्वाचनमा जाने क्रममा त्यसलाई असफल बनाउनु पर्नेछ । आगामी निर्वाचनमा जाने क्रममै संविधानलाई पूर्णतः लिकमा ल्याउनु पर्नेछ । हेक्का राख्नु पर्ने कुरा के छ भने यसका प्रायोजकहरूको काम फत्ते भैसकेको छैन । यसरी हेर्दा अहिले हामी क्रान्ति र प्रतिक्रान्तिको तानातानीको अवस्थामा छौं । यस प्रक्रियामा हामीले मुद्दामा आधारित भएर बृहत् लोकतान्त्रिक, वामलोकतान्त्रिक तथा वामपन्थी सहकार्यका दायरा बढाउँदै, तिनलाई सुदृढ गर्दै अगाडि बढ्नुपर्छ र प्रतिक्रान्तिकारी सम्भावनालाई पराजित गर्नु पर्छ । 

हाम्रो तात्कालिक मुद्दा 

–लोकतन्त्रमा राज्यको हर्ताकर्ता राजनीतिक पार्टी हुन्छन् । त्यसले सबै वर्ग र समुदायमा गएर राष्ट्रिय चरित्र ग्रहण गर्छ । त्यस अर्थमा राजनीतिक पार्टीले कुनै न कुनैरुपमा राष्ट्रलाई प्रतिनिधित्व गर्छ । त्यसैले असल र बलियो राज्य राष्ट्र बनाउनु भनेको राम्रो पार्टी बनाउनु हो । आजको नालायकीको दोष हामी राजनीतिक पार्टीको हो । किन्तु परन्तु गरेर यो जिम्मेवारीबाट उम्किन खोज्नु हुँदैन । यिनै पार्टीहरू आजकै अवस्थामा राखेर लोकतान्त्रिक प्रक्रिया बलियो बनाउने र निर्वाचनको सामना गर्ने कुराको कल्पनै गर्न सकिन्न । 

–हामीले आम जनतामा नयाँ आशा र विश्वास सिर्जना गर्न सकेनौँ भने लोकतान्त्रिक प्रक्रिया पुनर्वहाली नहुने दिशामा जान्छ । यो संविधानले काम गर्न छोड्छ र निशन्देह नेपाल फेरि बहुआयामिक सामाजिक तथा साँस्कृतिक द्वन्द्वतर्फ जान्छ । र, त्यस्तो द्वन्द्वले भूराजनीतिक शक्तिहरूलाई निम्त्याउने छ । 

–जनतामा नयाँ आशा र विश्वास सिर्जना गर्न, लोकतान्त्रिक प्रक्रियालाई सबल बनाउन, मुलुकको रुपान्तरणकारी नीति(कार्यक्रमका आधारमा राजनीतिलाई अगाडि बढाउन र मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउनका लागि आजको पहिलो शर्त अहिलेका पार्टीहरूको जण्ड पुनर्गठन हो । नीति र नेतृत्वको पुनर्गठन हो । नेता र पार्टीहरूले समयको पदचाप सुन्न र बुझ्न नसक्दा राष्ट्रहरूले ठूल्ठूला धक्काहरू खाएका छन् । हामी आफै पनि त्यसका भुक्तभोगी हौं । 

–मुलुक क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरणमा प्रवेश गरेको छ । हाम्रा सबै पार्टीले आज वा भोली पुनर्गठन नगरिकन जनतामा जान किमार्थ सम्भव छैन । यस विषयमा पार्टीव्यापी छलफल चलाउन तयार होऔं । यो मुख्य विषयलाई गलैँचामुनी राखेर अरु विषयलाई अगाडि राख्न थाल्यौँ भने दुनियाँले हामीलाई दुत्कार्ने छ । ‘पार्टीहरूको पुनर्गठन र राष्ट्रिय पुनरुत्थानमा हाम्रा एजेण्डाु भन्ने विषयमा राष्ट्रिय बहस हामीबाट सुरु हुनु सम्पूर्ण पार्टी परिवारका लागि गौरवको कुरा हुनेछ । त्यस्तो राष्ट्रिय बहसमा मुद्दा र कार्यक्रमका साथ अगाडि लाग्ने पर्याप्त क्षमता हाम्रो पार्टीमा छ । हाम्रा सीमा र अभावहरू अरुबाट सिक्न र पूरा गर्न तयार होऔं । भयानक दुर्भाग्यले हामीलाई नयाँ निर्माणको अवसर पनि दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप