बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नौ प्रश्न

‘बजारले पढिने र बेचिने कुरालाई प्राथमिकता दिन्छ, बहसले गहिरो मूल्य र सौन्दर्य खोज्छ’

शनिबार, ०४ असोज २०८२, १७ : ००
शनिबार, ०४ असोज २०८२

सारांश

  • अनीता न्यौपानेको कविता सङ्ग्रह 'फूलको विद्रोह'बारे रातोपाटीमा अन्तर्वार्ता लिइएको छ।
  • लेखन आफ्नो रहर भएको र समाजलाई बुझ्नका लागि लेख्ने न्यौपाने बताउँछिन्।
  • 'फूलको विद्रोह' मा नारीको पीडा, प्रेम र देशभक्तिका कविताहरू समावेश छन्।

अनिता न्यौपानेको कविता सङ्ग्रह ‘फूलको विद्रोह’ (२०७५) प्रकाशित छ । २०६४ सालदेखि लेख्न थालेकी न्यौपानेलाई हामीले रातोपाटीको नियमित स्तम्भ ‘नौ प्रश्न’मा निम्त्याएका छौँ । 

१) तपाईं वास्तवमा किन लेख्नुहुन्छ ? लेख्नका लागि कुन कुराले यहाँलाई बढी प्रेरित गर्छ ?

लेखन मेरो रहर हो । म किताब पढ्छु, समाजलाई पढ्छु, समाजमा भएका मान्छेलाई पढ्छु । ती आममान्छेलाई बुझ्नका लागि लेख्छु । समाजमा कस्ता–कस्ता पात्र रहेछन् भनेर थाहा पाउन पनि म लेख्छु । आफैँलाई मन्थन गर्न लेख्ने गर्छु ।

म परिवर्तनको संवाहक हुँ । कुविचार र कुभावनाको परिवर्तन हुुनुपर्छ र त्यो हामीले नै गर्नुपर्छ भन्ने लाग्छ र म लेख्छु । यस्तै विचार र भावनाले लेखनमा प्रेरित हुन्छु । मैले कति समाज बुझेँ, बुझेको कुरालाई कति लागु गर्न सकेँ वा सकिनँ भन्ने सधैँ लाग्छ । अझै भन्नुपर्दा हिजोको समाज, आजको समाज र भोलिको समाजका लागि म कस्तो मान्छे बन्ने भन्ने कुराले नै मलाई लेखनमा सबैभन्दा बढी हिर्काइरहने विषय हो । लेखनका लागि मलाई बढी प्रेरित गर्ने कुरा भनेकै यही समाज र यहीँ भएका विविध आयाम हुन् । 

२) अन्तिमपटक कुन कृति पढ्नुभएको थियो ? यो कृति कस्तो थियो ? 

डा. नवराज केसीले लेख्नुभएको ‘स्वस्पर्श’ मैले भर्खरै पढेँ । उहाँको पहिलो कृति शून्यको मूल्य पढेपछि उहाँको लेखनीबाट एकदमै प्रभावित भएकी थिएँ । त्यति मात्रै होइन, कर्णालीको चौकुने भन्ने ठाउँमा उहाँका कुराहरूलाई उहाँबाटै सुन्ने अवसर पाएकी थिएँ, त्यसपछि म झनै प्रभावित भएकी थिएँ । उहाँका हरेक कथाले भुइँमान्छेलाई सम्बोधन गरेका छन् । स्वस्पर्शले पनि भुइँमान्छेको सपनाको कथा भनेको छ । यो खासमा आशा, प्रेरणा र खुसीको कथा पनि हो । हामी सबैलाई लाग्छ, आफ्नै दुःखको पल्लाभारी छ, मेरो दुःखको आकार सबैभन्दा ठुलो दुःख हो तर हरेक मान्छे दुःखसँग जुधेर बाँचिरहेको छ । हुनेलाई कसरी जोगाउने भन्ने दुःख छ, नहुनेलाई कसरी पाउने भन्ने दुःख छ तर आफूले आफैँलाई छामेर हेर्न सक्ने हो भने वास्तविक जिन्दगी भेटिन्छ । स्वस्पर्श साँच्चै भन्नुपर्दा रुँदारुँदै हाँसिरहेका र हाँस्दाहास्दा रोइरहेका मान्छेको कथा हो । हामीले पढ्दा आफैँलाई मात्रै नभएर पूरै समाजका हरेक मान्छेको कथा यो हो । 

३) पछिल्लो समय नेपालको साहित्यिक बजार र बहस कस्तो पाउनुभएको छ ? बहस र बजारलाई हेर्दा हामी कुन दिशातिर गइरहेका छौँ भन्ने लाग्छ ?

बजारले पढिने र बेचिने कुरालाई प्राथमिकता दिन्छ भने बहसले गहिरो मूल्य र सौन्दर्य खोज्छ । बजार र बहस एक अर्काको परिपूरक बन्नुपर्ने हो तर कताकता बजार र बहसमा द्वन्द्वजस्तो देखिन्छ । यतिबेला साँच्चै भन्नुपर्दा नेपाली साहित्य बजार र बहस अन्तर्राष्ट्रिय प्लेटफर्मसम्म पुगिसकेको छ । विषयवस्तुमाथि व्यापक छलफल भइरहेको छ तर निचोड निस्केको छैन । कुनै दिन निस्केला प्रतीक्षा गरौँ । बहस र बजारलाई हेर्दा यतिखेर हामी खुला डिजिटल र अन्तर्राष्ट्रिय दिशातर्फ गइरहेछौँ भन्न सकिन्छ । विषयवस्तुको पहिचान र न्यायका मुद्दा गहिरिँदै छन् । बजारले पाठक र प्रविधिमैत्री पुस्तालाई केन्द्रमा राख्दै छ । आगामी दिनमा यसले एउटा उचाइ भेटाउनेमा आशावादी बन्न सक्ने अवस्था भने छ । 

४) यहाँको बुझाइमा कविता के हो ? कविता लेखनमा तपाईंलाई सबैभन्दा चुनौतीपूर्ण कुरा के लाग्छ ?

कविताको बारेमा धेरैका धेरै धारणा छन् । जसले जे कुराको अभाव महसुुुस गर्छ, उसका लागि त्यही कविता हो तर मेरो विचारमा कविता भनेको भावनाको सुन्दर रचनात्मक रूप हो । जसले मन र मस्तिष्कलाई एकसाथ छुन्छ । जसमा विचार र अनुभवलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको हुन्छ । अझै भन्नुपर्दा एकपटक पढ्दा मुटुुमा छाप बनेर बस्ने नै कविता हो । मान्छेहरू कवितालाई जसरी पनि प्रस्तुत गरिरहेका छन् । कविता त वास्तवमा ब्रह्माण्ड हो भन्ने लाग्छ । कविता धेरैले लेखेका छन् तर सुनेको आधारमा भन्न सकियोस् कि यो कविता फलानाको हो । कैयौँ कविता छन्, जसलाई आँखा चिम्लेर सुन्दा पनि यो कविता यसको हो भनेर भन्न सकिन्छ । त्यसैले शैली निर्माण कविता लेखनमा चुनौतीपूर्ण कुरा हो भन्ने लाग्छ । 

५) समकालीन नेपाली कविताको अवस्था यहाँले कस्तो देख्नुभएको छ ? यहाँले कुनै उद्देश्यका  साथ कविता लेख्नुहुन्छ कि ?

समकालीन कविताको अवस्था रङ्गीन, बहुआयामिक र प्रयोगशील देखिन्छ । केही दशकयता भएका सामाजिक, राजनीतिक परिवर्तन, प्रविधि र विश्वव्यापी प्रभावले गर्दा समकालीन कवितालाई नयाँ दिशा दिएको छ । मान्छेहरूले कविता लेख्नुअघि अरुका कैयौँ कविता पढ्नुपर्छ भन्न थालेका छन् । केही मान्छेलाई छोडिदिने हो भने नेपाली कविता असाध्यै राम्रो चेतनाको निर्माण अभियानमा लागेको देखिन्छ । केही मान्छेले कवितालाई भताभुङ्ग बनाइदिएका छन्, जसले गर्दा कविता अझै पनि आम मान्छेको रोजाइमा परेको छैन तर हिजोको कवितालाई पढेर भोलिको कविताको मार्गचित्र कोर्ने चाहना राख्ने हो भने सुन्दर कविता कोरिन्छन् भन्ने लाग्छ । 

कविता लेख्न सुरुवात गर्दाको अवस्थामा यही उद्देश्यले लेख्छु भन्ने थिएन तर अध्ययन गर्दै र बुझ्दै जाँदा कविता त परिवर्तनको ठुलो सूचक रहेछ, चेतनाको निर्माणकर्ता रहेछ । कसरी आफूलाई विचार निर्माणमा लैजाने भन्ने सोच्न बाध्य बनाउने माध्यम रहेछ कविता । कविता लेखन केवल शब्दको खेल नभई भावना, विचार र समाजको जीवित दस्ताबेज हो, जसको उद्देश्य पाठक र श्रोताको हृदयमा चेतना र सौदन्र्य जगाउनु हुन्छ । म पनि सोच्छु— भाषणमा मात्र, कुरामा मात्र कविता नहोस्, त्यसले प्रश्न गरोस् र एउटा दीप बालोस् । 

६) लेखेर अहिलेसम्म के कति कमाउनुभयो वा के गुमाउनुभयो ? 

तपाईंको र मेरो भेट नै लेखनले गर्दा भयो, यही नै हो कमाएको । लेखनले समाजमा चेतनाको बिउ रोप्यो भने त्यो सबैभन्दा ठुलो कमाइ हुनेछ भन्ने लाग्छ । गुमाउनुपर्ने कुरा त्यस्तो केही छैन । 

७) पाठकलाई पढ्न सिफारिस गर्नका लागि यहाँको कृति ‘फूलको विद्रोह’मा त्यस्तो के छ ? पाठकले यो कृति किन पढ्नुपर्छ जस्तो लाग्छ यहाँलाई ? यसमा के–कस्ता कविता छन् ?

‘फूलको विद्रोह’ आजभन्दा सात वर्षअगाडि प्रकाशित भएको मेरो कृति हो । हिजोको लेखन र आजको लेखनमा परिवर्तन पक्कै छ तर हामीले लेख्ने भनेको समय, समाज र देश नै हो । पचास वर्षपछिको समय कस्तो बनाउने भन्ने दूरदृष्टि राख्न सक्नु सबैभन्दा चुनौतीको विषय हो । मेरो कविताको शीर्षकले नै छ— फूलको विद्रोह, यस कुराले पनि कविता केका बारेमा होला भनेर थाहा पाउन सकिन्छ । 

मैले बाँचिरहेको समयमा नारी भएर बाँच्दा भोग्नुुपरेका दुःख र समाजले नारीमाथि बनाएको एउटा चित्र फूलको विद्रोहमा छ । त्यसैले पनि २१औँ शताब्दीमा नारी माथिको ज्यादती, पितृसत्तात्मक सोच र समग्र नारीहरूको पीडा बुझ्न पनि यो कृति पढ्नुपर्छ भन्ने लाग्छ । यसमा प्रेम, देशभक्ति र नारी विशेष कविता समावेश गरिएको छ । 

८) तपाईंलाई झकझकाएको कुनै एउटा साहित्यिक कृति सम्झिनुपर्‍यो भने कुनलाई सम्झिनुहुन्छ ? किन ? 

म साहित्य पढेर, सुनेर हुर्किएको मान्छे हैन । साँच्चै भन्नुपर्दा मेरी आमालाई अहिलेसम्म कुनै श्लोकहरू आउँदैनन् । बाबा सानैमा बित्नुभएका कारणले पनि उहाँमा साहित्यको बीज थियो कि थिएन, मलाई थाहा छैन । म परिस्थितिले बनाएको कवि हुँ । विद्यालयका पुस्तकमा भएका कविता, कथा, निबन्धहरू मात्र पास गर्नका लागि पढियो । यतिसम्म थाहा भएन कि ती साहित्य थिए । मैले साहित्यको किताब भनेर छोएको पुस्तक नै नारायण वाग्लेको पल्पसा क्याफे थियो, आज पनि म त्यो पुस्तक बेहद सम्झन्छु । 

पल्पसा क्याफे द्वन्द्व साहित्य थियो । प्रेम पनि उत्तिकै मात्रामा थियो तर द्वन्द्व देखे पनि नबुझेको भएर त्यो पुस्तकले मलाई द्वन्द्व बुझ्न मद्दत गरेको थियो । त्यसैले पनि मलाई त्यो किताब असाध्यै मन पर्छ । 

९) आखिर जिन्दगी के रहेछ ?

जिन्दगी भन्ने शब्द नै गहिरो र दार्शनिक छ । यसमा सबैको अनुभव फरक–फरक हुन सक्छन् । मेरो विचारमा जन्म र मृत्युलाई जोड्ने अनुभवको नदी हो । जहाँ बग्दै जानु, सिक्दै जानु र हरेक पलको सुन्दरता महसुस गर्नु नै यसको सार हो भन्ने लाग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप