बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विराटनगर महानगरको जलेको भवनको विज्ञ टोलीद्वारा अवलोकन

मर्मतसम्भारपछि सञ्चालनमा ल्याउन सकिने
आइतबार, ०५ असोज २०८२, १७ : ००
आइतबार, ०५ असोज २०८२

सारांश

  • विराटनगर महानगरपालिकाको भवनमा आगजनीबाट भएको क्षतिको विज्ञ टोलीले अवलोकन गरेको छ।
  • विज्ञ टोलीले भवन मर्मत गरी सञ्चालनमा ल्याउन सकिने बताएको छ, र मर्मत कार्य छिट्टै सुरु हुनेछ।
  • जेनजी आन्दोलनका क्रममा क्षति पुगेको भवनमा भौतिक पूर्वाधार महाशाखा, राजस्व महाशाखा लगायतका कोठाहरू प्रभावित भएका थिए।

विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको विराटनगर महानगरपालिकाको भवनलाई विज्ञ प्राविधिक टोलीले अवलोकन गरेको छ। महानगरले भवनलाई पुरानै अवस्थामा फर्काउनका लागि काम तीव्र पारेको बताएको छ।

आगलागीपछि जलेका सबै कोठाहरूको सरसफाइ भइसकेको र अत्यावश्यक सेवाहरू आंशिक रूपमा सुचारु भइसकेको महानगरले जनाएको छ। जलेको भवनलाई मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा महानगरले विज्ञ प्राविधिक टोलीलाई बोलाएर अवलोकन गराएको हो ।

अवलोकनमा मनमोहन प्राविधिक विश्वविद्यालयकी डीन डा.रेखा श्रेष्ठ, पूर्वाञ्चल विश्वविद्यालयका अविनाशकुमार मण्डल, नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशका सभापति जगरनाथ साह, इन्जिनियर उमेश ओझा, भरत न्यौपानेसहितको विज्ञ टोली सहभागी थियो। उनीहरूले महानगरका सबै जलेका कोठाहरूको अवलोकन तथा परीक्षण गरेका थिए।

प्रारम्भिक अवलोकन र परीक्षणपछि विज्ञ टोलीले भवनलाई मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था देखिएको बताएको छ। महानगरको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले दिएको जानकारीअनुसार, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रशासनिक भवनमा क्षति पुगेको थियो।

विशेषगरी, भौतिक पूर्वाधार महाशाखा, राजस्व महाशाखा, घरनक्सा शाखा र बैठककोठा मा बढी क्षति पुगेको छ। महानगरका तीनवटा भवनमध्ये प्रवेशद्वार नजिकै रहेको राजस्व महाशाखाको भवन सबैभन्दा बढी प्रभावित भएको थियो।

महानगरपालिकाले छिट्टै नै मर्मतको काम सुरु गर्ने र सम्पूर्ण सेवाहरू पूर्ण रूपमा सुचारु गर्ने योजना बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप