बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

देउवाको गर्दनमा लगाइएका टाँका चार दिनपछि काटिने, कहिले हुन्छन् डिस्चार्ज ?

सोमबार, ०६ असोज २०८२, १७ : ०८
सोमबार, ०६ असोज २०८२

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमा लागेको चोटका कारण लगाइएको टाँका चार दिनपछि काटिने भएको छ।
  • भदौ २४ गते बुढानीलकण्ठमा भएको आन्दोलनमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो, जसमा देउवालाई गर्दनमा चोट लागेको थियो।
  • देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै कार्यसम्पादन समितिले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ, तर दसैँ अघि बैठक नहुने सम्भावना छ।

काठमाडौँ । चोटका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमा लगाइएको १२ टाँका चार दिनपछि काटिने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले भदौ २४ गते बूढानीलकण्ठस्थित निजी निवासमा आगजनी र तोडफोड गर्दा देउवा दम्पतीलाई बाहिर निकालेर कुटपिट गरेका थिए ।

कुटपिटबाट गर्दनमा गम्भीर चोट लागेका देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । टाँका आजको चार दिनपछि काट्न मिल्ने उपचारमा संलग्न डाक्टरहरूले बताएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

‘डाक्टरहरूले चोटमा लगाइएका टाँका ४ दिनपछि मात्रै काट्न मिल्छ भन्नुभएको छ,’ स्वकीय सचिव भानुले सोमबार रातोपाटीसँग भने, ‘त्यसपछि घाउ हेरेर बल्ल कहिले डिस्चार्ज गर्ने भन्ने निश्चित हुन्छ ।’

आन्दोलनकारीले देउवामाथि कुटपिट गर्दा सँगै रहेकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि पनि कुटपिट गरेका थिए । कुटपिट हुँदाको समयसम्म तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेकी डा. राणाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । उनको पनि मुहार र शरीरमा चोट लागेकाले डिस्चार्जको निर्क्यौल भइसकेको छैन ।

गत शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नेताहरूलाई देउवाको स्वास्थ्यावस्थाबारे ब्रिफिङ गर्दा गर्दनमा गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको र केही समय अझै अस्पतालमा राख्नुपर्ने भएको बताएका थिए ।

कार्यसम्पादन समिति बैठकले देउवा निको भएर अस्पतालबाट डिस्चार्ज भएपछि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । यसैबिच पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दसैँ अघि केन्द्रीय कार्यसमिति बैठक बस्ने सम्भावना कम रहेको बताएका छन् । ‘कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । मिति कहिले भन्ने टुङ्गिएको छैन । दसैँअघि बैठक बस्ने सम्भावना छैन । दसैँ पछि बैठक आह्वान हुन्छ,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप