बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युक्रेनबारे ट्रम्पको पछिल्लो बयानमा के भन्छन् जेलेन्स्की ?

बुधबार, ०८ असोज २०८२, १० : ४४
बुधबार, ०८ असोज २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पको अडानमा परिवर्तनपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रतिक्रिया दिएका छन्।
  • जेलेन्स्कीले अमेरिका युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन इच्छुक रहेको बताए, तर ठोस जानकारी नभएको स्वीकार गरे।
  • ट्रम्पको पोस्टलाई जेलेन्स्कीले युद्ध अन्त्यसम्म अमेरिकाको साथ रहने सकारात्मक संकेतको रूपमा लिए।

किभ । रूस–युक्रेन मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानमा परिवर्तन पछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रतिक्रिया दिएका छन् । ट्रम्पको दृष्टिकोणमा ठुलो परिवर्तन आएको कुराको जेलेन्स्कीले प्रशंसा गरेका छन् । अब युद्ध समाप्त भएपछि अमेरिका युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न इच्छुक देखिएको संयुक्त राष्ट्र सङ्घमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने ।

यी ग्यारेन्टीहरू कस्तो देखिनेछन् भनेर सोध्दा उनले भने, ‘म झूट बोल्न चाहन्न, हामीसँग कुनै ठोस जानकारी छैन ।’ यद्यपि, युक्रेनले थप हतियार, वायु रक्षा र ड्रोन प्राप्त गर्ने सम्भावना भने जेलेन्स्कीले उल्लेख गरे । युक्रेनको अवस्थाबारे ट्रुथ सोसलमा ट्रम्पको पोस्ट देखेर आफू छक्क परेको फक्स न्यूजसँगको कुराकानीमा जेलेन्स्कीले बताए । यसलाई उनले युद्धको अन्त्यसम्म ट्रम्प र अमेरिका युक्रेनको साथमा उभिने सकारात्मक संकेत मानेका छन् ।

सामाजिक सञ्जालको एउटा पोस्टमा ट्रम्पले युरोप र नेटोको समर्थन र रुसको अर्थतन्त्रमा बढ्दो दबाबले युक्रेनले आफ्नो मौलिक सिमाना फिर्ता प्राप्त गर्न सक्छ भनेर लेखेका थिए । यो पोस्टमा ट्रम्पले रुसलाई कागजको बाघ समेत भनेका थिए । जेलेन्स्कीले यही पोस्टलाई संकेत गरेर माथिका कुरा भनेका हुन् । ‘मलाई विश्वास छ कि पुटिनले राष्ट्रपति ट्रम्पलाई धेरै पटक झूट बोलेको तथ्यले पनि फरक पारेको छ’ जेलेन्स्कीले भने ।  

यसअघि मंगलबार संयुक्त राष्ट्र सङ्घमा आफ्नो भाषण पछि ट्रम्पले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने रुसी विमानहरूलाई नाटो देशहरूले गोली हान्नुपर्ने भनेका थिए । हालै, नाटोमा सदस्य देशका हवाई क्षेत्रमा रुसी लडाकु विमान र ड्रोनहरू देखिएका धेरै घटनाहरू भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप