रास्वपा पुनर्गठनको प्रस्ताव : अर्ली महाधिवेशन वा विस्तारित बैठक
सारांश
- रास्वपामा राजनीतिक, सांगठानिक र वैचारिक पुनर्गठनको आवाज उठेको छ।
- नेताहरूले अर्ली महाधिवेशन वा विस्तारित बैठक बोलाउनुपर्ने प्रस्ताव राखेका छन्।
- पार्टी पुनर्गठन र वैकल्पिक शक्तिलाई एकीकृत गर्ने प्रस्ताव पनि राखिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विकसित राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राजनीतिक, सांगठानिक र वैचारिक पुनर्गठनको आवाज उठेको छ । साथै सो पार्टीमा अर्ली महाधिवेशन वा विस्तारित बैठक बोलाउनुपर्ने प्रस्ताव पनि नेताहरूले गरेका छन् ।
मंगलबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरू सन्तोष परियार, पुकार बम, गणेश कार्की लगायतले पार्टी पुनर्गठन अनिवार्य भएको भन्दै यस्तो प्रस्ताव राखेका हुन् ।
मंगलबारको बैठकमा नेता परियारले पार्टीमा रूपान्तरण आवश्यक रहेकाले दुईवटा विकल्प अगाडि सारेको स्रोतको भनाइ छ । ‘पहिलो मङ्सिरमा अर्ली महाधिवेशन र दोस्रो, महाधिवेशन नगर्ने भए विस्तारित बैठक आयोजना गर्नुपर्छ’, परियारले बैठकमा राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसो गर्दा फागुन २१ मा प्रतिनिधि सभा निर्वाचनमा जान पनि हामीलाई सहज हुन्छ ।’
यसअघि रास्वपाले २०८२ फागुन ७, ८ र ९ गतेका लागि पहिलो महाधिवेशनको मिति तोकेको थियो । परियारले बैठकमा आफूले मङ्सिरमा महाधिवेशन वा विस्तारित बैठक भन्ने विकल्पसहितका दुई प्रस्ताव गरेको स्वीकार गरे ।
‘विस्तारित बैठकले पार्टीको सचिवालय, केन्द्रीय समितिदेखि जिम्मेवारीमा भएका साथीहरूको कार्य विभाजन हेरफेर पनि गर्न सकिन्छ’, उनले भने, ‘त्यसले फागुनमा निर्वाचन भयो भने त्यो पनि गर्न सक्छ ।’
रास्वपालाई पुनर्गठन गर्ने र छरिएर रहेका वैकल्पिक शक्तिलाई पनि एकीकृत गर्नुपर्ने परियारको प्रस्ताव थियो । ‘छरिएर रहेका अन्य वैकल्पिक शक्तिलाई एकीकृत गर्ने जिम्मेवारी पनि रास्वपाको हो’, परियारको भनाइ छ ।
बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले नागरिक सरकारका नाममा संविधानभन्दा बाहिर गएर बनेको हालको सरकार, भदौ २३ र २४ को आन्दोलन, जेनजी आन्दोलनका मागलगायतका कारण मुलुक नयाँ ढङ्गमा अघि बढेको भन्दै सोही अनुसार पार्टीले रणनीति बनाउनुपर्ने धारणा राखेका छन् । रास्वपाको बैठकमा बाँकी सदस्यहरूले धारणा राखेपछि आज सकिने प्रवक्ता मनिष झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण