शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

माओवादीको केन्द्रीय समिति बैठक : धितालको नेतृत्वमा ९ बुँदे फरक मत

शुक्रबार, १० असोज २०८२, २० : ४४
शुक्रबार, १० असोज २०८२

सारांश

  • माओवादी केन्द्रको बैठकमा सात जना केन्द्रीय सदस्यले अध्यक्ष प्रचण्डसहितका नेताहरूका प्रस्तावमा फरक मत राखे।
  • फरक मत राख्ने सदस्यहरूले नेतृत्व परिवर्तन गरी विशेष महाधिवेशन गर्न र पार्टीलाई शुद्धीकरण गर्न आग्रह गरे।
  • विभिन्न बुँदामा विश्व कम्युनिष्ट आन्दोलन र पार्टीभित्रका समस्याहरूलाई औंल्याउँदै नेतृत्वको कार्यशैलीको आलोचना गरियो।

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सात जना केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका प्रस्तावहरू भन्दा फरक ९ बुँदे फरक मतहरू राखेका छन् । 

केन्द्रीय सदस्य मनऋषि धितालको नेतृत्वमा माओवादीका पूर्व विद्यार्थी नेता देवेन्द्र पराजुली,सन्तोष बिष्ट, बिमल अधिकारी, प्रतिभा गौतम, पदम जोशी र रामप्रसाद न्यौपाने लगायतले उक्त फरक मत केन्द्रीय समितिमा राखेका हुन् ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक शुक्रबार साँझ प्रचण्डको अध्यक्षतामा सकिएको छ ।  

यस्तो छ फरक मत 

१. विश्व कम्युनिष्ट आन्दोलनमा मार्क्स, लेनिन, माओ र नेपाली क्रान्तिमा पुष्पलाल तथा कमरेड प्रचण्डको योगदानको उच्च मूल्याङ्कन गर्दछौँ !

२. यो उचाईंलाई कायम राख्न  विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनसहित समग्र विश्व राजनीतिमा देखिएको यो विषम परिस्थितिमा कमरेड प्रचण्डसहित पदाधिकारीको टिमले विश्राम लिएर कम्युनिष्ट आन्दोलनको गठन, पुनर्गठन र शुद्धीकरणको बाटो खोल्न अनुरोध गर्दछौँ ।

३. विशेष महाधिवेशन आगामी मङ्सिरमा नै गरेर सिङ्गो पार्टी पङ्क्ति चुनावमा होमिनुपर्छ । त्यो गर्दा नयाँ ऊर्जासहित चुनावमा परिणाम आउँछ । अब योभन्दा बढी फोहोर मैला सफा गर्ने भन्दै तपाईँहरू पदमा टाँसिनु भयो  भने आन्दोलन झन् सङ्क्रमित हुने र पार्टी झन् दीर्घरोगी हुने पक्का छ । 

४. जेनजी विद्रोहका बेला यदि हामीसँग लेनिनवादी बोल्शेभिक पार्टी थियो र लेनिनजस्तो जनप्रिय नेता हामीसँग सुरक्षित थियो भने त्यो अक्टोबर क्रान्तिको जस्तो परिणाममा  जान्थ्यो  र बल प्रयोग सहित समाजवादी रूपान्तरणको भोलि प्रतीक्षा गरिएको चरणमा अहिले नै देश प्रवेश गरिसकेका अवस्था हुने थियौँ । तर हाम्रो पार्टीले बोल्शेभिक स्पिरिट कायम नराखिएकोले नेतृत्वको भागाभाग भयो, कार्यकर्तामा अन्यौलता रह्यो र त्यो अवसर गुम्यो।  

५. चरम पदलोलुपता, भ्रष्टाचार, नातावाद, कृपावादमा यो नेतृत्वको टिम  चुर्लुम्मै डुबेकोले केही हदसम्म जेनजी विद्रोहको कारक पनि यही टिम बन्यो र अक्टोबर क्रान्तिको जस्तै ठुलो अवसर गुमायो । अब त्यो अवसर यो नेतृत्वलाई नआउने भएकोले सिधै पार्टी प्रशासनिक जिम्मेवारी छोडेर नैतिक/वैचारिक अभिभावकत्व गरेर इतिहासमा अझै सम्मानित बन्नुहोस् भन्ने आग्रह गर्दछौँ । 

६. अझैँ इतिहासमा गरेको योगदानको उचाईं कायम राख्ने आँट र साहस छ र तपाईँ सर्वहारा वर्गीय स्पिरिटको नेतृत्व हुनुहुन्छ भने २०६३ यता राज्य सत्तामा गएका नेता, कार्यकर्ताको सम्पत्ति छानबिन गर्न आजै एक उच्च स्तरीय छानबिन समिति घोषणा गर्नुहोस् र नागरिक परीक्षणमा जान साहस गर्नुहोस् । 

७. इतिहासको तीतो यथार्थ, पार्टीको जेलनीति लागू गरौँ । जनताले सेनाको हिरासतमा रहेका नेताहरूले हिरासतको एक हप्ता के कसरी बिताए, के कस्ता सम्झौता , को को सँग के कसरी गरे, त्यो पारदर्शी रूपमा आएको छैन । त्यसैले पनि तपाईँहरू निलम्बनमा रहेर पार्टीको जेलनीति लागू गर्नुहोस् । 

८. जेनजी विद्रोहबाट ध्वस्त भएका हाम्रा पार्टी संरचनामध्ये केही मुख्य संरचनाहरू संरक्षित गरौँ र भावी पुस्तालाई कम्युनिष्ट पार्टी बिग्रँदा  के हालत हुन्छ भन्ने कुरा देखाउन पनि एक सङ्ग्रहालय बनाऔँ । सुकुम्बासी बस्तीमा पालमुनि  कार्यालय खोलेर पार्टी निर्माण , गठन पुनर्गठन गरौँ ।

९. विश्वास गर्नुहोस् र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका सच्चा व्याख्याता मात्रै होइन, कार्यान्वयनकर्ता बन्नुहोस् र आफ्नो टिमसहित विश्राम लिनुहोस् । यो हलमा तपाईँहरूको अगाडि ऊर्जा सहित उपस्थित अग्रदस्ताले तपाईँहरूको जीवनकालमै तपाईँलाई नै गौरवको अर्को उचाइमा पुर्‍याउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप