सोमबार बिहानसम्मै उच्च सतर्कता अपनाउनुपर्ने
सारांश
- मन्त्री घिसिङले देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरे।
- उनले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी गर्न निर्देशन दिए।
- मौसम विभागका अनुसार यो वर्षा प्रणाली बंगालको खाडीबाट नेपाल प्रवेश गरेको हो र सोमबारसम्म रहनेछ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले देशका विभिन्न भागमा आइतबार मध्यान्हसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार राति ७/८ बजेबाट आइतबार मध्यान्ह १२/१ बजेसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यसै सन्दर्भमा मन्त्री घिसिङले वर्षासँगै आउन सक्ने बाढी, पहिरो, डुबान र सम्भावित जोखिमप्रति सावधानी अपनाउन र यात्रा गर्दा विशेष सतर्कता राख्न अनुरोध गरेका हुन्।
शनिबार मन्त्रालयमा आयोजित समन्वय बैठकमा मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभाग, जलस्रोत तथा सिँचाइ विभाग र जल तथा मौसम विज्ञान विभागका महानिर्देशकहरूसँग छलफल गरी आवश्यक तयारी अवस्था बलियो बनाउन निर्देशन दिएका छन् ।
उनले सबै कर्मचारी र प्राविधिक टोलीलाई तयारी अवस्थामा रहन र आवश्यक उपकरण तथा संरचना सुरक्षित राख्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। वर्षाले सडक, सिँचाइ र जलविद्युत् आयोजनामा क्षति पुर्याउने सम्भावना भएकाले गेट सञ्चालनमा विशेष ध्यान दिन र नदी–खोला किनारका उपकरण सुरक्षित स्थानमा सार्न उहाँको निर्देशन छ।
साथै, मन्त्री घिसिङले सुरक्षा निकायहरूसँग नजिकको समन्वय गरी विपद्सम्बन्धी सूचना एकीकृत ढंगले र समयमै सार्वजनिक गर्न पनि आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार हालको वर्षा प्रणाली बंगालको खाडीबाट भारतको उडिसा र झारखण्ड हुँदै नेपाल प्रवेश गरेको हो। उनले यो प्रणाली सोमबार बिहानतिर पूर्वतर्फबाट बाहिरिने जानकारी दिए ।
जोशीले भने, “यस वर्षको प्रणाली पोहोरकोजस्तै ढाँचाको भएकाले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सबै पक्ष तयारी अवस्थामा रहन आवश्यक छ। सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउनु अत्यावश्यक छ।”
यसबीच, सडक विभागका महानिर्देशक विजय जैसी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले पनि बाढी, पहिरो र डुबानका सम्भावित जोखिम कम गर्न आवश्यक पूर्वतयारी गरिएको बताएका छन्।
सरकारले नागरिकहरूलाई वर्षासँग सम्बन्धित सूचनामा ध्यान दिन, अनावश्यक यात्रा नगर्न र नदी–खोला आसपासका क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण