बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सचिवालय बैठक

प्रचण्डको ब्रिफिङ : माधव र विप्लवसँग पार्टी एकताका लागि सकारात्मक पहल भइरहेको छ

सोमबार, २० असोज २०८२, १४ : ४४
सोमबार, २० असोज २०८२

सारांश

  • प्रचण्डले विप्लव, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीसँग एकताको लागि पहल गरिरहेका छन्।
  • नेपाल समाजवादी पार्टी एकताका लागि तयार रहेको र अन्य दलहरूसँग मोर्चाबन्दीबारे छलफल भइरहेको छ।
  • माओवादीको केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो।

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट, नेकपा (एकीकृत समाजवादी) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि पहल भइरहेको ब्रिफिङ गरेका छन् । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा प्रचण्डले पार्टी एकता र ध्रुवीकरणको विषयमा ब्रिफिङ गरेका हुन् । 

यद्यपि उनले यादव नेतृत्वको नेसपा मात्र पार्टी एकताका लागि तयारी अवस्थामा रहेको जानकारी गराएका छन् । यस्तै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग मोर्चाबन्दी गर्ने विषयमा छलफल भइरहेको जानकारी गाएको सचिवालय सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

‘बैठकमा पार्टी एकता र ध्रुवीकरणको विषयमा सबै वामपन्थी दल र माओवादी घटकसँग कुरा भइरहेको जानकारी गराउनुभयो । तर फइनल भएको छैन भन्नुभयो । विप्लवजीको पार्टी, माधवजीको पार्टी, महिन्द्र रायजीको पार्टी एकता गर्ने र अशोक राईजी लगायत दलहरूसँग मोर्चावन्दी र ध्रुवीकरण गर्ने विषयमा कुराकानी भइरहेको जानकारी गराउनुभएको छ । अहिलेसम्म नेसपा मात्र एकताका लागि तयार भएको छ’, रातोपाटीसँग उनले भने ।

असोज ९ र १० गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा आबद्ध भएका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको छ ।

सो पार्टीले असोज २५ गते केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । एकताबारे छलफल गर्न एकीकृत समाजवादीले असोजको अन्तिम हप्ता केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादी महाधिवेशन आयोजक समितिको सचिवालय बैठक दुई दिनपछि बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप