शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

३६ घण्टापछि इलाम बजारमा बल्यो बत्ती, पहिरो प्रभावित क्षेत्रमा कसरी हुँदैछ काम ?

सोमबार, २० असोज २०८२, १६ : ५१
सोमबार, २० असोज २०८२

सारांश

  • इलाम जिल्लामा बाढीपहिरोका कारण अवरुद्ध भएको विद्युत् सेवा ३६ घण्टापछि पुनः सुचारु भएको छ।
  • बाढीले इलामका अधिकांश क्षेत्रमा क्षति पुर्‍याएको थियो, जसमा प्रसारण लाइन र स्थानीय वितरण सञ्जालमा ठूलो असर परेको थियो।
  • ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन्, जसमध्ये इलामका १५ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ।

काठमाडौँ । बाढी र पहिरोले इलाम जिल्लामा अवरुद्ध भएको विद्युत् सेवा ३६ घण्टापछि सुचारु भएको छ ।

नेपाल विद्युत् प्राधिकरण, इलाम वितरण केन्द्रका प्रमुख बिजुली प्रसाद यादवले निरन्तरको प्रयासपछि ३६ घण्टामै इलाम बजारमा बिजुली बाल्न सफल भएको बताए ।

क्षतिग्रस्त लाइन मर्मत गरी ३६ घण्टामा बजार क्षेत्रमा सोमबार दिउँसो २ बजेदेखि विद्युत् आपूर्ति नियमित भएको उनको भनाइ छ । वितरण केन्द्रले दोलाबारीस्थित पुरानो सर्किटमार्फत वैकल्पिक व्यवस्था मिलाएको उनले बताए ।

वितरण केन्द्र प्रमुख यादवका अनुसार काबेली करिडोर प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । इलाम जिल्लामा बिहीबार राति ११ बजेदेखि विद्युत् अवरुद्ध भएको थियो ।

ग्रामीण क्षेत्रमा ११ हजार भोल्टका लाइनहरूमा भएको व्यापक क्षति र ठाउँ–ठाउँमा पोल तथा ट्रान्सफर्मर ढलेका कारण पूर्ण रूपमा विद्युत् आपूर्ति गर्न अझै समय लाग्नेछ ।

प्राधिकरणले क्षति मर्मतका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको छ र चरणबद्ध रूपमा काम अघि बढाउने बताएको छ । इलाम वितरण केन्द्रले अब जिल्लाभित्रै वितरण प्रणालीलाई व्यवस्थित गर्दै जाने जनाएको छ ।

वितरण केन्द्र प्रमुख यादवका अनुसार बाढीले प्रमुख प्रसारण लाइन र स्थानीय वितरण सञ्जालमा ठुलो क्षति पुर्‍याएपछि इलामका अधिकांश क्षेत्र अन्धकारमय बनेका थिए । बाढीले काबेली करिडोरको १३२ केभी प्रसारण लाइनको टावर ढालिदिएको थियो भने काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि प्रभावित भएको थियो ।

यसबाहेक, ११ हजार भोल्टका धेरै पोल ढलेका छन् र ट्रान्सफर्मरहरू पनि क्षतिग्रस्त भएका छन् । जसले गर्दा पूरै जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।

बाढीले झापाको पाडाजुुंगीबाट इलामतर्फ ल्याइएको काबेली कोरिडोरका दुुई वटा विद्युत् टावरमा बाढीले क्षति पुुगेपछि इलाममा विद्युत् सेवा अवरुद्ध भएको थियो । १३२ केभी प्रसारण लाइन जोडिएको ३४ तथा ३५ नम्बरको टावरबाट तार झरेको र पाँचथरको थापाटारबाट फिदिम आउने १३२ केभी प्रसारण लाइनमा पनि फल्ट देखिएकाले विद्युत् अवरुद्ध भएको थियो ।

झापाबाट इलाम आउने मुख्य लाइनमै समस्या भएपछि अहिले पुरानो प्रसारण लाइन मर्मत गरी बजार क्षेत्रमा विद्युत् सुचारु गरिएको हो ।

  • इलाममा मात्रै १६ आयोजनामा क्षति

दुई दिनसम्मको भारी वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले दिएको जानकारी अनुसार सोमबार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन् ।

यो वर्ष समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत आयोजनाहरूमा निकै कममात्र भौतिक क्षति भएको पनि इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।

बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत् आयोजनाहरू पनि सबैभन्दा धेरै प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । जसमा ४.५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत् आयोजना इलाम जिल्लाका छन् ।

बाँकी दुई आयोजनामध्ये कोशी प्रदेशकै पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत् आयोजना प्रभावित भएका छन् । हाल लिखु बाहेक सबै आयोजनाको उत्पादन बन्द छ । लिखु ४ को भने १ घण्टाभन्दा केही बढी समयमात्र उत्पादन बन्द भएको थियो ।

  • निर्माणाधीन आयोजनाको धेरै क्षति पहुँचमार्गमा

निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ । मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत् आयोजनाले बनाएको १२ किलोमिटर पहुँचसडकको धेरै ठाउँमा पहिरो गएको प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए ।

निर्माणाधीन अवस्थामा रहेका आयोजनामध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवर्द्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत् आयोजना १० दिनभित्र व्यावसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पुर्‍याउँदा यसको विद्युत् उत्पादन मिति पर सरेको छ ।

पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरणहरू नै बगाएको छ ।

सिन्धुपाल्चोकमा रहेका ४ जलविद्युत् आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ । जसमा ३६.५१ मेगावाटको ब्रह्मायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रह्मायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत् आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ ।

रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला, भोजपुरमा रहेको १५.५ मेगावाटको इर्खुवा खोला बी, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, म्याग्दीमा रहेको २२.५ मेगावाटको माथिल्लो ठुलो खोला, लमजुङमा रहेको ६.८२ मेगावाटको हिडी खोला, रामेछापमा रहेको ४८.८ मेगावाटको खिम्ती २ र धादिङमा रहेको ४.५ मेगावाटको गसाली खोला जलविद्युत् आयोजनाको पहुँचमार्ग लगायतका विभिन्न संरचनामा क्षति पुगेका कारण यी आयोजनाको विद्युत् उत्पादन मिति पर सरेको छ ।

सञ्चालनमा रहेका तथा निर्माणाधीन अवस्थाका आयोजनाहरूसम्म पुग्ने पहुँचमार्गहरू अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण आउन भने अझै केही समय लाग्न सक्ने इप्पानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप