बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इंग्ल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई ४ विकेटले हरायो

मङ्गलबार, २१ असोज २०८२, २२ : २३
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • इंग्ल्यान्डले महिला एकदिवसीय विश्वकपमा बंगलादेशलाई ४ विकेटले पराजित गरेको छ।
  • हेदर नाइटको अर्धशतकले इङ्लिस टोलीलाई जित दिलायो, जहाँ बंगलादेशले १७८ रन मात्र बनायो।
  • इंग्ल्यान्ड अंक तालिकामा शीर्ष स्थानमा पुग्यो भने बंगलादेशले पहिलो हार बेहोर्यो।

गुवाहाटी । महिला एकदिवसीय विश्वकपको आठौँ खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ४ विकेटले हराएको छ। गुवाहाटीको बरसापारा स्टेडियममा मंगलबार भएको खेलमा पूर्वकप्तान हेदर नाइटले शानदार अर्धशतक बनाएर इङ्लिस टोलीलाई जित दिलाइन्।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.४ ओभरमा सबै विकेट गुमाएर मात्र १७८ रन बनायो। सामान्य लक्ष्य पछ्याएको इंग्ल्यान्डको अवस्था एक समय नाजुक बनेको थियो । 

टोलीले १०३ रनमै ६ विकेट गुमाइसकेको थियो। तर, हेदर नाइटले उत्कृष्ट पारी खेलेर टोलीलाई ४७ औँ ओभरमा जित दिलाइन्।

प्रतियोगितामा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो। यसअघि उसले दक्षिण अफ्रिकालाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। 

यो जितसँगै इंग्ल्यान्ड अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ। उता, आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले हराएको बंगलादेशले पहिलो हार बेहोरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशको सुरुवात राम्रो हुन सकेन। ओपनर रुबिया हैदर ४ रन बनाएर लरेन बेलको बलमा आउट भइन्। कप्तान निगर सुल्तानाले शून्य रनमा लिन्सी स्मिथको शिकार भइन्। त्यसपछि शर्मीन अख्तर र सोभना मोस्तरीले पारी सम्हालेका थिए। शर्मीन ५२ बलमा ३० रन बनाएर आउट भइन्।

बंगलादेशका लागि सोभनाले सर्वाधिक ६० रन बनाइन्, जसका लागि उनले १०८ बलको सामना गरिन् र ८ चौका प्रहार गरिन्। तल्लो क्रममा राबेया खानले मात्र २७ बलमा ६ चौका र १ छक्काको मद्दतले ४३ रनको पारी खेलिन्।

इंग्ल्यान्डका बलरहरूमध्ये सोफी एकलस्टनले ३ विकेट लिइन्। यस्तै, चार्ली डीन, एलिस क्याप्सी र लिन्सी स्मिथले २-२ विकेट लिए भने लरेन बेलको नाममा १ विकेट रह्यो।

१ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको सुरुवात पनि कमजोर रह्यो। टोलीले २९ रनमै २ विकेट गुमाइसकेको थियो। एमी जोन्स १ र ट्यामी ब्युमन्ट १३ रनमा आउट भए। 

त्यसपछि, कप्तान नाटली स्काइभर-ब्रन्टले पूर्व कप्तान हेदर नाइटसँग मिलेर पारीलाई अगाडि बढाइन्। ब्रन्ट ४१ बलमा ३२ रन बनाएर पेभिलियन फर्किइन्। 

त्यसपछि सोफिया डङ्कली खाता नखोली र एम्मा ल्याम्ब १ रन बनाएर आउट भइन्। अलीस क्याप्सीले २० रन बनाएर टोलीको स्कोर १०० रन पार गराइन् । तर टोली १०३ रनमा ६ विकेट गुमाएर संकटमा फसेको थियो।

सातौं नम्बरमा ब्याटिङ गर्न आएकी चार्ली डीनले हेदर नाइटसँग मिलेर टोलीको पारी सम्हालिन्। यी दुईबिच ७९ रनको अविजित साझेदारी भयो। हेदर नाइटले ७९ रन बनाएर नटआउट रहिन् भने चार्ली डीन २७ रनमा नटआउट रहिन्। 

बंगलादेशका तर्फबाट फहीमा खातुनले सर्वाधिक ३ विकेट लिइन्, जबकि मरुफा अख्तरले २ र सञ्जिदा अख्तरले १ विकेट हात पारे।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप