ट्रम्पले पाउलान् नोबेल शान्ति पुरस्कार ?
सारांश
- यस वर्षको नोबेल शान्ति पुरस्कार घोषणा हुँदैछ, जसमा ट्रम्पले लामो समयदेखि दाबी गर्दै आएका छन्।
- ट्रम्पले युद्ध अन्त्यमा भूमिका खेलेको दाबी गरे पनि भारतले अस्वीकार गरेको छ, र पाकिस्तानले भने समर्थन गरेको छ।
- विभिन्न विवादास्पद व्यक्तिहरूलाई दिइएको नोबेल शान्ति पुरस्कारका उदाहरणहरू र महात्मा गान्धीलाई पुरस्कार नदिइएको बारे चर्चा गरिएको छ।
काठमाडौँ । १० अक्टोबरका दिन यस वर्षको नोबेल शान्ति पुरस्कार घोषणा हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि यो पुरस्कार प्राप्त गर्ने आकाङ्क्षा प्रकट गर्दै आइरहेका छन् ।
ट्रम्पले नोबेल शान्ति पुरस्कारका लागि आफ्नो दाबी मजबुत बनाउने क्रममा कैयौँ युद्ध अन्त्य गर्न आफ्नो भूमिका रहेको जिकिर गर्दै आएका छन् ।
यस वर्षको सुरुवातमै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि आफूले प्रस्ताव गरेको बताएका थिए । पाकिस्तानले पनि ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार रहेको बताउँदै आएको छ ।
पाकिस्तानले भारत र पाकिस्तानबिचको युद्ध अन्त्य गराउन अमेरिकी राष्ट्रपति ट्रम्पले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएको छ । यद्यपि भारतले भने दुई देशबिचको युद्ध अन्त्य गराउन ट्रम्पको भूमिका रहेको भन्ने विषयलाई सार्वजनिक रूपमै अस्वीकार गर्दै आएको छ । युद्धविरामका लागि कुनै तेस्रो मुलुकको भूमिका नरहेको भारतको दाबी छ ।
पाकिस्तानले ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि प्रस्ताव गरेलगत्तै इरानमा अमेरिकाले हमला गरेको थियो । यसपछि पाकिस्तानको मनसाय र अमेरिकामाथि प्रश्न उठेको थियो ।
नोबेल शान्ति पुरस्कार स्वीडिश वैज्ञानिक, उद्योगपति र परोपकारी अल्फ्रेल्ड नोबेलका नाममा राखिएका ६ वटा पुरस्कारमध्ये एक हो । यो पुरस्कार विजेताको नाम नर्वेको संसदले चयन गरेको पाँच सदस्यीय कमिटीले तय गर्दछ । ट्रम्पले यो पुरस्कार प्राप्त गरेको खण्डमा धेरैले उनलाई एक विवादास्पद विजेता मान्नेछन् ।
नोबेल शान्ति पुरस्कारमाथि राजनीतिको छाया पनि पर्ने गरेको छ । त्यसैले अन्य ५ विधाका नोबेल पुरस्कारको तुलनामा नोबेल शान्ति पुरस्कार निकै विवादित हुने गरेको छ ।
यहाँ त्यस्ता केही विवादित प्रसङ्गलाई उल्लेख गरिएको छ । साथै यो पुरस्कारको हकदार रहेर पनि विजेता घोषित हुन नसकेका केही प्रसङ्ग पनि यसमा समेटिएको छ ।
बाराक ओबामा
अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामालाई सन् २००९ मा नोबेल शान्ति पुरस्कार दिइयो । उनलाई यो पुरस्कार प्रदान गरिएकोमा धेरै मानिस अचम्ममा परेका थिए । स्वयं ओबामा पनि पुरस्कार पाएकोमा अचम्मित भएका थिए ।

ओबामाले आफ्नो आत्मकथामै यसबारे चर्चा गरेका छन् । ओबामाका अनुसार आफूले नोबेल शान्ति पुरस्कार पाएको खबर पाएपछि उनको मनमा प्रश्न उठेको थियो– ‘आखिर मलाई नै किन ?’
त्यतिवेला उनले पद सम्हालेको केवल ९ महिना भएको थियो । आलोचकहरूले उनलाई नोबेल पुरस्कार दिने निर्णयप्रति टिप्पणी गर्दै ‘समयभन्दा अगाडि नै दिइएको’ बताएका थिए ।
वास्तवमा नोबेल शान्ति पुरस्कारका लागि मनोनयनको अन्तिम मिति नै ओबामाले शपथ लिएको १२ औँ दिनमा समाप्त भइसकेको थियो ।
सन् २०१५ मा नोबेल संस्थानका पूर्वनिर्देशक गेयर लुंडेस्टाडले बीबीसीलाई भनेका थिए, ‘पुरस्कार दिने कमिटीलाई पछि आफ्नो निर्णयमा पछुतो भएको थियो ।’
ओबामाको दुवै कार्यकालका क्रममा अमेरिकी सेना अफगानिस्तान, इराक र सिरियामा सक्रिय युद्धमा सहभागी थियो ।
यासिर अराफात
प्यालेस्टिनी नेता यासिर अराफातलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनलाई यो सम्मान तत्कालीन इजरायली प्रधानमन्त्री इत्ज्याक रोबिन र तत्कालीन विदेशमन्त्री शिमोन पेरेसका साथ संयुक्त रूपमा प्रदान गरिएको थियो ।

उनलाई यो सम्मान ओस्लो शान्ति सम्झौतका कारण दिइएको थियो, जसले सन् १९९० को दशकमा इजरायल र प्यालेस्टाइन संघर्ष समाधान हुने आशा जगाएको थियो ।
तर, अराफातलाई यो सम्मान दिने निर्णय विवादास्पद रह्यो । किनकि उनी आफैँ त्यसअघि सशस्त्र गतिविधिमा संलग्न थिए । यस निर्णयको इजरायल र अन्तर्राष्ट्रिय रूपमा ठुलो आलोचना भएको थियो ।
यहाँसम्म कि नोबेल कमिटीभित्र पनि यो फैसलालाई लिएर मतभेद थियो । समितिका एक सदस्य तथा नर्वेका राजनेता कारे क्रिस्टियानसनले यस फैसलाको विरोधमा राजीनामा दिएका थिए ।
हेनरी किसिन्जर
१९७३ मा तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
यो निर्णय अत्यन्तै विवादास्पद भयो । उनी अमेरिकी विदेश नीतिको कैयौँ विवादित घटनासँग जोडिएका थिए । कम्बोडियामा बम विस्फोट र दक्षिण अमेरिकामा हिंसात्मक सैन्य तानाशाहीलाई समर्थन गर्नेजस्ता विवादित निर्णयमा उनको भूमिका रहेको भन्दै कैयौँले उनलाई नोबेल शान्ति पुरस्कार दिइएकोमा प्रश्न गरेका थिए ।

भियतनाम युद्धमा युद्धविरामको मध्यस्थता गर्ने भूमिकाका लागि किसिन्जरलाई भियतनामी नेता ले डुक थोका साथ संयुक्त रूपमा पुरस्कार प्रदान गरिएको थियो ।
यद्यपि, यो निर्णयको कडा विरोध भएको थियो । यो निर्णयप्रति असहमति जनाउँदै नोबेल समितिका दुई सदस्यले राजीनामा दिएका थिए । न्यूयोर्क टाइम्सले त पुरस्कारसम्बन्धी समाचारमै व्यंग्य गर्दै ‘नोबेल युद्ध पुरस्कार’ भनेर लेखेको थियो ।
अबी अहमद
सन् २०१९ मा इथियोपियाका प्रधानमन्त्री अबी अहमदलाई नोबेल शान्ति पुरस्कार दिइयो । छिमेकी देश इरिट्रियासँग लामो समयदेखि चल्दै आएको सीमा विवाद सुल्झाउन प्रयास गरेको भन्दै उनलाई यो पुरस्कार दिइएको थियो ।

तर उनलाई यो पुरस्कार दिनु कति ठिक थियो भनेर एक वर्षपछि नै प्रश्न उठ्न थाल्यो । उनले उत्तरी क्षेत्र तिगरेमा सैन्य बल तैनाथ गर्ने निर्णय गरेपछि यस प्रकारको प्रश्न उठेको थियो ।
सैन्य बल तैनाथ गरेसँगै त्यहाँ गृहयुद्ध सुरु भयो भने लाखौँ मानिस भोजन, औषधि लगायत अत्यावश्यक सुविधाबाट वञ्चित भए । यो संघर्षमा हजारौँ मानिसको मृत्यु भएको थियो ।
आङ सान सू ची
म्यानमारकी नेतृ आङ सान सू चीलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
म्यानमारमा सैन्य शासन विरुद्धको अहिंसात्मक संघर्षका लागि उनलाई यो पुरस्कार प्रदान गरिएको थियो । तर २० वर्षभन्दा बढी समयपछि उनले आफ्नो देशमा मुस्लिम रोहिंग्या समुदाय विरुद्ध भएको नरसंहार र गम्भीर मानवअधिकार उल्लङ्घनबारे बोल्न असफल भएकोमा कडा आलोचना सामना गर्नुपर्यो ।

संयुक्त राष्ट्र संघले सो घटनालाई ‘नरसंहार’ भनेको थियो । परिस्थिति यति गम्भीर भयो कि धेरैले उनको नोबेल पुरस्कार रद्द गर्न आह्वान गरे । यद्यपि, नोबेल पुरस्कार फिर्ता लिने वा रद्द गर्ने नियम छैन ।
वंगारी मथाई
केन्याको दिवंगत अधिकारकर्मी वंगारी मथाईलाई सन् २००४ मा नोबेल पुरस्कार प्रदान गरियो । यो पुरस्कार पाउने उनी पहिलो अफ्रिकी महिला थिइन् ।
उनी जीवविज्ञानसँग सम्बन्धित थिइन् । ‘ग्रीन बेल्ट मुभमेन्ट’ सुरु गरेबापत उनलाई यो पुरस्कार दिइएको थियो जस अन्तर्गत पर्यावरण संरक्षण र लाखौँ बिरुवा रोप्ने काम पर्दथ्यो ।

तर उनको यो उपलब्धि त्यतिबेला विवादित भयो, जब उनले एचआईभी÷एड्सबारे दिएको पुरानो एउटा बयान बाहिरियो । उनले भनेकी थिइन्, ‘एचआईभी भाइरसलाई कृत्रिम रूपमा एक जैविक हतियारकै स्वरुपमा तयार गरिएको छ, जसको उद्देश्य कालो वर्णका मानिस विनाश गर्नु हो ।’ यद्यपि उनको यस्तो दाबीमा कुनै वैज्ञानिक प्रमाण थिएन ।
महात्मा गान्धीले पाएनन् पुरस्कार
नोबेल शान्ति पुरस्कारमा सबैभन्दा ठुलो गल्ती महात्मा गान्धीका सवालमा भएको देखिन्छ । २०औँ शताब्दीमा अहिंसा र शान्तिवादका प्रतीक बनेका गान्धी नोबेल शान्ति पुरस्कारका लागि ५ पटकसम्म मनोनयनमा परे तर उनले यो पुरस्कार पाउन सकेनन् ।

सन् २००६ मा नर्वेका इतिहासकार गेयर लुंडेस्टाड (नोबेल शान्ति पुरस्कार समितिका तत्कालीन अध्यक्ष)ले गान्धीको उपलब्धिलाई मान्यता नदिनु नोबेल इतिहासकै सबैभन्दा ठुलो त्रुटि रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण