बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पितृकार्यकै वेला छोरा विपिन अस्ताएको खबर सुनेपछि...

मङ्गलबार, २८ असोज २०८२, १६ : २४
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणबाट मुक्त हुने आशामा रहेका परिवारलाई उनको मृत्युको खबरले स्तब्ध बनायो।
  • विपिनको परिवार र इजरायलस्थित नेपाली दूतावासबीच छलफल भए पनि उनको मृत्युको खबरले गाउँमा सन्नाटा छायो।
  • विपिनका बुबा श्राद्धमा व्यस्त रहेको बेला उनको मृत्युको खबर सुनेपछि परिवारले आधिकारिक पुष्टि नभएसम्म शव स्वीकार्न मानेको छैन।

कञ्चनपुर । महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपिन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो ।

गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपिनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो । 

सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा विपिनबारे मिश्रित समाचारहरू आइरहेका वेला विपिनका बुबा महानन्द भने भीमदत्त नगरपालिका–१ स्थित दाजुको घरमा पितृकार्य (श्राद्ध)मा व्यस्त थिए । 

तीन दाजु/भाइमा महानन्द कान्छा हुन् । “उहाँ कान्छाबुबाको श्राद्धका लागि पितृकार्यमा जुटेकै बेला विपिन अस्ताएको खबर सुनेपछि सन्नाटा छायो”, जोशी परिवारका एक सदस्यले भने, “कान्छाबुबाको श्राद्धकै दिन दुई वर्षदेखि पर्खिरहेको छोरा सधैँका लागि नआउने खबरले परिवार स्तब्ध भएको छ ।” 

सोमबार बिहान विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग भिडियो ‘कन्फेरेन्स’मा विपिन नरहेको विषयमा छलफल भए पनि विपिनका दाजु किशोर जोशीले भाइ फर्किन सक्ने आशा जीवितै रहेको बताइरहेका थिए । तर विपिन जीवित नरहेको खबरले परिवार मात्रै नभई सिङ्गो गाउँ स्तब्ध छ ।

भीमदत्त नगरपालिका–३ का वडा सदस्य मीना ठगुन्नाले विपिनका विषयमा उनका परिवारलाई आधिकारिक जानकारी प्राप्त नभएको जानकारी दिए । 

“विपिन जिवित नरहेको विषय सार्वजनिक हुँदा हमासले शव इजरायललाई दिने प्रक्रिया अघि बढाएको भनिए पनि उनको परिवार शवको पुष्टि नहुँदासम्म आधिकारिक मान्न तयार छैन”, वडा सदस्य ठगुन्नाले भने, “हिजोदेखिको विपिनको खबरले सबैतिर सन्नाटा छाएको छ ।” 

उनले विपिनका परिवारजन एक–दुई दिनभित्र काठमाडौँ जाने तयारी रहेको जानकारी दिए । विपिनका आमा पद्मा र बहिनी पुष्पा रिहाइका लागि दबाब दिन अमेरिका पुगेका थिए । उनीहरू अझै स्वदेश फर्किसकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप