एआई सुविधा मात्रै कि चुनौती पनि ?
विश्व २१ औं शताब्दीमा सूचना प्रविधिको तीव्र विकासले ठुलो रूपान्तरण ल्याएको छ । यसै प्रविधिको चमत्कारी स्वरूपका रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) विश्वभर चर्चामा छ । मानिसको सोच, अध्ययन, अनुसन्धानदेखि व्यवसाय र स्वास्थ्यसम्म यसको प्रभाव फैलिइसकेको छ ।
एआईको प्रयोगले धेरै कुरामा सकारात्मक परिवर्तन ल्याएको छ भने अनेकौं नयाँ चुनौती पनि थपिदिएको छ ।
शिक्षा र अनुसन्धानमा एआई
शिक्षा क्षेत्रमा एआईको उपयोग तीव्र गतिमा बढेको छ । विद्यार्थीहरूले जटिल प्रश्नहरूको उत्तर सजिलै पाउन थालेका छन् । किताब पल्टाउने वा लामो समय लगाएर अध्ययन गर्ने झन्झट घटेको छ । शिक्षकहरूले पनि अध्यापनलाई सहज बनाउन र विद्यार्थीसँग अन्तरक्रिया बढाउन एआईलाई सहयोगी माध्यमका रूपमा प्रयोग गर्न थालेका छन् ।
यसले शिक्षामा नवीनता र सरलता ल्याएको छ । तर यो सहजतासँगै एउटा चुनौती भने अभ्यास गर्ने बानीको कमी हो । विद्यार्थीहरू मौलिक सोच र सिर्जनशीलताभन्दा सजिलो उत्तरमा भर पर्न थालेका छन्, जसले दीर्घकालमा उनीहरूको प्रतिभा खुम्चिने खतरा बढाउँछ ।
स्वास्थ्य र व्यवसायमा एआई
स्वास्थ्य क्षेत्रमा एआईले रोग पहिचान र उपचारमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । प्रारम्भिक चरणमै रोगको निदान गर्न, जटिल रिपोर्ट विश्लेषण गर्न र उपचारका विकल्प सुझाव दिन एआई प्रयोग भइरहेको छ । यसले डाक्टरहरूको काम सजिलो बनाएको छ र उपचारको गति बढाएको छ ।
त्यस्तै व्यवसाय क्षेत्रमा बजार विश्लेषण, ग्राहक व्यवस्थापन, जोखिम मूल्याङ्कन आदिमा एआईको प्रयोगले उद्यमीलाई प्रतिस्पर्धामा अगाडि बढ्न मद्दत गरेको छ ।
सामाजिक प्रभाव र भ्रामक सूचना
एआई सुविधा मात्र नभई समाजका लागि चिन्ताजनक चुनौती पनि बनिरहेको छ । नक्कली आवाज, नक्कली फोटो वा भिडियो बनाउन सजिलो भएकाले समाजमा भ्रम फैलाउने प्रवृत्ति बढेको छ । कतिपय सामग्री वास्तविकभन्दा बढी विश्वसनीय देखिने भएकाले मानिसहरू सजिलै भ्रममा पर्न सक्छन् । यसले सामाजिक सम्बन्धमा अविश्वास बढाउने र गलत जानकारीलाई तीव्र गतिमा फैलाउने खतरा पैदा गरेको छ ।
रोजगारीमा असर
एआईको अर्को ठुलो प्रभाव रोजगारी क्षेत्रमा देखिँदैछ । पुनरावृत्ति हुने काम जस्तै ग्राहक सेवा, लेखाजोखा वा सामान्य डेटा व्यवस्थापनमा एआईले मानिसलाई प्रतिस्थापन गर्न थालेको छ । भविष्यमा यसले बेरोजगारी बढाउने मात्र होइन, सीपयुक्त र सीपविहीनबिचको खाडल अझ बढाउने सम्भावना छ । यसरी आर्थिक असमानता चुलिन सक्ने खतरा विद्यमान छ ।
निष्कर्ष
यसरी हेर्दा एआईलाई सुविधा र चुनौती मात्रै भन्न सकिन्न । यो अवसर पनि हो, जोखिम पनि । यसको सदुपयोगले शिक्षा, स्वास्थ्य, व्यवसाय र दैनिकीलाई सहज, छिटो र प्रभावकारी बनाउन सक्छ । तर नियमन र सचेतनाको कमी भएमा यसले समाजलाई भ्रामक सूचना, बेरोजगारी र नैतिक संकटतर्फ धकेल्न सक्छ ।
त्यसैले एआईको प्रयोगमा सावधानी, जिम्मेवारी र नीति–नियमको प्रभावकारी कार्यान्वयन अनिवार्य देखिन्छ । भविष्य सकारात्मक हुन्छ वा नकारात्मक, त्यो आज हामीले यसलाई कसरी प्रयोग गर्छौं भन्ने कुरामा निर्भर रहनेछ ।
(भट्ट कम्प्युटर विज्ञान तथा सूचना प्रविधि अध्ययनरत् छन् ।)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण