‘नेतृत्वभन्दा पनि नेताहरूमा नैतिकताको खडेरी देखिरहेको छु’
सारांश
- सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकार एक महिना पुग्यो, तर सरकार गठन असंवैधानिक भएको भन्दै मुद्दा परेका छन्।
- विद्रोह र राजनीतिक दलहरूबीचको समन्वयको अभावले संक्रमणकाल लम्बिन सक्ने खतरा देखिएको छ।
- विश्लेषकका अनुसार, नैतिक र राजनीतिक आदर्शमा देखिएको भ्रष्टाचार नै मुख्य समस्या हो।
जेनजी विद्रोहको बलमा बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको एक महिना पुगेको छ । तर, संविधानको धारा ७६ प्रयोग नगरी सरकार गठन र संसद् विघटन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा थुप्रै मुद्दा परेका छन् ।
विद्रोहपछि विस्थापित भएका राजनीतिक दलहरू र जेनजी समूह दुवै पक्षलाई मिलाएर निकास खोज्ने समन्वयकारी नेतृत्वको अभाव देखिँदा सङ्क्रमणकालीन अवस्था लम्बिने खतरा देखिएको छ ।
घोषित मितिमा चुनाव हुने वा नहुने सुनिश्चित छैन । जेनजीको बलिदान र उनीहरूले उठाएका मागहरूलाई कसरी सम्बोधन गर्ने भन्नेमा सरकार नै अलमलिएको देखिन्छ । यसै सन्दर्भमा विश्लेषक दीपक ज्ञवालीसँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् ।
- जेनजी विद्रोहपछिको तरल राजनीतिक अवस्थामा देशमा सही नेतृत्वको अभाव देखिएको हो ?
जेनजी विद्रोहपछि नेतृत्वकाे खडेरी होइन, जेनजी विद्रोह नै त्यो खडेरीले जन्माएको हो । पहिलो कुरा त्यसमा ध्यान दिऔँ । त्यो खडेरी कहाँबाट आयो भन्ने हो भने विगत ३५ वर्षदेखि अहिलेका जुन असफल नेतृत्व छ, यिनीहरू त्यही टुप्पामै बसेका छन् । प्रचण्ड ३७ वर्षदेखि आफ्नो पार्टीको मठाधीश भएका छन् । देउवा गृहमन्त्री भएको ३३ वर्ष भयो । माधव नेपाल उपप्रधानमन्त्री भएको ३१ वर्ष भयो । खगप्रसाद ओली गृहमन्त्री भएको ३१ वर्ष, त्यसपछि कति पटक प्रधानमन्त्री भए यिनीहरू ? नेपालमा ठुलो परिवर्तन भयो तर केही पनि भएको छैन ।
मिखाइल गोर्वाचोभले पुरानो प्रणालीले काम गर्दैन भन्ने गरेका थिए, साेभियत रुसमा । त्यो बेला उनले प्रयोग गर्ने ‘जास्ताेई’ शब्द हो, रसियन भाषामा यसलाई नबगेको कुहिएको पानी भनिन्छ । त्यो भनेको ‘स्ट्यागनेन्ट वाटर’ अर्थात् गन्हाउने पानी हो । स्ट्यागनेन्ट भनेको कहीँ नबग्ने, आहालमा कुहिएको पानी हो ।
नेपालको राजनीति ३५ वर्षदेखि तिनकै हातमा कुहिएर बसेको छ । पहिले ३–४ वर्ष त के होला भन्ने मान्छेमा आशा थियो । हामी पनि बहुदल चाहिन्छ भनेर सडकमै गएका मान्छे हौँ । तर ३–४ वर्षमै म अब यिनीहरूबाट केही हुँदैन भन्ने कुरामा विश्वस्त थिएँ । त्यसपछिका हरेक चुनावमा मैले आजसम्म स्वतन्त्र उम्मेदवारबाहेक कुनै पार्टीलाई मतदान गरेको छैन । यो भ्रष्टाचार र नैतिकताको खडेरी हो । मैले पैसाको भ्रष्टाचारलाई सामान्य मान्छु, त्यो ठुलो कुरा होइन, त्यो नैतिक खडेरीकाे अवश्यम्भावी परिणाम हो । साँच्चैको भ्रष्टाचार भनेको नैतिक र राजनैतिक आदर्शमा यिनीहरूले गरेका हुन् । बिपीको समाजवादको कुरा गर्ने, बिपी, किसुनजीको फोटो राख्ने । त्यही किसुनजी र पीएल सिंहले २०६३ सालमा आफ्नै पार्टीले मारेको संसद्लाई ब्युँताएकोमा विरोध गरेर त्यहाँ गएर शपथ नलिएको सम्झिनुहुन्छ ? जनताले दिएको ५ वर्ष म्याद गुज्रिएको संसद्लाई बिउँताउने र चुनावै नलडेका माओवादीलाई त्यहाँ ल्याउनु भनेको राजनीतिक भ्रष्टाचार हो, जुन कुरा किसुनजी र पिएललाई रुपमा पचेन र नैतिक अडान कायम राखे । मार्क्सवादी, लेनिनवादी, माओवादी भन्नेहरूमा ती दार्शनिकहरुको आदर्शको एउटा अणु भेट्टाउनुभयो भने मलाई खबर गर्नुहोला । म फूलमाला लिएर आउँछु, स्वागत गर्न । त्यसयता यिनीहरू देश बनाउन आएकै होइन रहेछन् भन्ने मेरो लागि त २०५२–५३ मै प्रमाणित थियो । तर अहिले आएर जेनजीले समेत बुझ्यो ।
मुख्य दुःखको कुरा आफूलाई नागरिक अगुवा भन्नेले २०६२–६३ देखि बुझ्न सकेका छैनन् । अहिले पनि उही शेरबहादुर, उही ओली, उही प्रचण्ड नै संसद्मा आउनुपर्छ भन्ने धारणा राख्छन् । यो झन् ठुलो भ्रष्टाचार हो, बौद्धिक भ्रष्टाचार । त्यसैले समस्या यहाँ हो ।
मिखाइल गोर्वाचोभले पुरानो प्रणालीले काम गर्दैन भन्ने गरेका थिए, साेभियत रुसमा । त्यो बेला उनले प्रयोग गर्ने ‘जास्ताेई’ शब्द हो, रसियन भाषामा यसलाई नबगेको कुहिएको पानी भनिन्छ । त्यो भनेको ‘स्ट्यागनेन्ट वाटर’ अर्थात् गन्हाउने पानी हो । स्ट्यागनेन्ट भनेको कहीँ नबग्ने, आहालमा कुहिएको पानी हो ।
जेनजीका युवाहरूमा राजनीतिक सुझबुझ थिएन । हामी त तीन–चार वटा राजनीतिक उथलपुथल हेरिसकेका मान्छे भयौँ । म त २००७ सालको पुस्ताको हुँ, तर यिनीहरूको लागि यो पहिलो थियो । तर पहिलो गाँसमा ढुङ्गा भयो । पहिलोमै यिनले विश्वासघात बेहोर्नुपर्यो । हामीले त बेहोर्नुपरेन, किनभने २०४७ सालमा के–के न हुन्छ भन्ने हाम्रो विश्वास थियो । दुई–चार वर्ष विश्वासअनुसार काम पनि भयो । तर यिनीहरूलाई भोलिपल्टैदेखि विश्वासघात भइदियो । जेनजीहरूले देशलाई भ्रष्टाचारमुक्त गर्नुपर्छ, सबै भ्रष्टाचारीलाई हामीले छोड्दैनौँ भन्दै विद्रोह गरे । तर पुनः भ्रष्टाचारीहरूलाई फेरि संसद्मा फर्काउने षड्यन्त्रमा लागिसकेका छन् ।
- भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देशको राजनीतिमा नयाँ अध्याय सुरु हुन्छ भन्ने विश्वास थियो, तर सडकमा दिनदिनै तमासा देखिँदै छ, हैन ?
त्यो त्राहिमाम् हुनु जरुरी छ, किनभने जुन अन्तरिम व्यवस्था सुशीला कार्कीको ल्याइयो, त्यसैले कुनैपनि अन्तरनिहित राजनीतिक समस्या सुल्झाएन । मेरो अनुमानमा अर्को उपद्रो हुँदै छ । त्यो झन् भयावह हुन्छ, किनभने मैले देखेको दुई किसिमको समस्या छ । पहिलो समस्या कहाँबाट आउँछ भने जेनजीले राजनीतिक दलहरूले छलछाम गर्दा रहेछन्, यिनलाई विश्वास गर्नु हुँदैन भनी फेरि उठ्छन् । उठ्न त पर्छ, उपाय छैन । उही भ्रष्ट प्रणाली ल्याउनलाई यिनले त्यत्रो बलिदान गरेको होइन । यिनको जुन आक्रोश छ, त्यो झन् बढेको छ । यिनीमाथि विश्वासघात भयो भन्ने व्यापक रूपमा फैलिएको छ । दोस्रो, यी ठुला पार्टीहरू, कांग्रेस, एमाले, माओवादीमा तल्लो तहका कार्यकर्ताहरू सन्तुष्ट देखिँदैनन् । मकहाँ यिनीहरू गफ गर्न पनि आउँछन् । उनीहरूलाई नेतृत्वबाट विश्वासघात भएको महसुस भएको छ ।
एक जना त्यस्तै कार्यकर्ताले मसँग ३ घण्टा कुरा गरे । जाने बेलामा आँखामा आँसु टिलपिल थियो ती कांग्रेसका कार्यकर्ताकाे । ‘हामीले यस्ताहरूका लागि टोलटोलमा पोस्टर टाँस्दै हिँडेका थियौँ, आँसुबाहेक केही दिएनन्’ भने । त्यो विश्वासघातको पीडा थियो । अब वामपन्थीमा पनि म त्यस्तै देख्छु । वाममा अलि आक्रोश बढी हुन्छ, आँसुको सट्टामा । मुख रातो हुन्छ । यी फटाहाहरुले त पछि देशै छोडेर जान्छन् भनी गुनासो गर्छन् उनीहरू ।
भनेपछि पार्टीभित्र गहिरिएर बसेका असन्तुष्टहरू छठपछि बाहिर आउँदै छन् । अहिले जुन चुनावको कुरा यो सुशीला कार्की सरकारले भनिरहेको छ; पहिलो, यो व्यवस्था नै चलेको छैन, यो संविधान नै चलेको छैन । चलेको भए यस्ता फटाहाहरुलाई पाखा लगाउन त्यत्रा युवा मर्नु पर्दैनथ्यो ।
हामीले प्रजातन्त्र, बहुदल आदि कुराहरू किन मानेका थियौँ भने यी पार्टीहरू जनतामा भिजेका हुन्छन्, जनताको भावना बोकेका हुन्छन्, तिनीहरूले त्यो भावनाअनुसार काम गर्छन् भनेर विश्वास गरिएकाले हो । तर कस्ता पार्टीहरू रहेछन् ? कांग्रेसलाई के भन्ने ? राजनीति गरेर जहानियाँ राणा शासनको पक्षमा लागे । एमालेको त कुरा नै भएन । जेनजी विद्रोहकाे एक दिनअघि उसले गोदावरीमा विधान अधिवेशन सकेको होइन ? सोही अधिवेशनले ओली नै निर्विकल्प, महामानव घोषित गरेको थियो । उनलाई उमेर हद पनि नलाग्ने, पदावधिको बन्धन पनि नलाग्ने गरी विधान पारित गरेको होइन ? त्यो ३६ घण्टा पनि टिकेन । एमालेले इतिहाससामु के मुख देखाउने ?
कांग्रेसका कृष्ण सिटौलालाई ‘मन्चुरियन क्यान्डिडेट’ भनेर मैले भनिसकेँ । ती फेरि सलबलाउन थालेका छन् । यिनीहरूमा प्रभुभक्ति अत्यधिक हुँदो रहेछ । म त झोले पनि भन्दिनँ यिनीहरूलाई । माथि एउटा बिर्तावाल, बाँकी सबै रैती रहेछन् । पार्टीमा मैले कार्यकर्ता खासै देखेको छैन । तर यो सबै कुरामा उनीहरूमा जुन विश्वासघात भयो भन्ने जुन भावना विकसित भएको छ, तिनीहरूले आफ्नो पढाइ बिगारे, पेसा बिगारे, परिवार बिगारे होलान् । पार्टीमा लागेर उनीमाथि भएको विश्वासघातको पीडा कस्तो होला अहिले ?
- जेनजी विद्रोहपछि अहिले देशको नेतृत्व लिन सक्ने कोही देखिएन नि ?
एउटा राष्ट्रवाद, नैतिकता आदि धरातलमा उभिएको अभिभावक भनेको राजा मात्रै अहिले देखिन्छन् । मन पर्ला नपर्ला, राजा कसरी आउनुहुन्छ त ? राजा भनेको कुनै पार्टी होइन, राजाको तर्फबाट पार्टी संगठन हुँदैन । अस्ति राजाले ठिक काम गरेछन् । सैनिकले पुर्याएर नारायणहिटीमा राख्ने तयारी गरेका रहेछन् । तर राजाले मानेनन् । यसरी जान सकिँदैन, सबैले मानेपछि मात्रै म जान सक्छु भनेर भन्नुभयो रे । सर्वस्वीकार्य हुनुपर्छ नि, उहाँको कुरा पनि ठिकै हो । राजाले एकदम ‘कू’ गरे, राजा तानाशाह हुन् भन्ने यी नागरिक अगुवाहरूले २०६२/०६३ मा झुटो बोलेका थिए भन्ने प्रमाणित भयाे । उनीहरूको मुखभरि बुझो लाग्यो कि लागेन ? फेरि राजा त्यस्तो भएको भए यो देशमा बसिरहन्थे ?
२०६२/६३ मा १२ बुँदे गर्दा जुन छलछाम भयो र बाबुरामको भाषामा विदेशीलाई चाबी बुझाएका थिए, बुझाएकै हुन् । कृष्णप्रसाद भट्टराईको भाषा जस्ताको तस्तै लिने हो भने त्यतिबेला संघीयता, धर्मनिरपेक्ष र गणतन्त्र आयातित एजेन्डा भनेका थिए, कार्यसूचीमा थिएन । चोर बाटोबाट छिराइएका होइन र यिनले ? यिनका विदेशका मालिकहरूको आदेशअनुसार दिएका हुन् । त्यो पापको घडा फोरिरहेको छ अहिले । मुख्य कुरा म नैतिकताको खडेरी त्यही देखिरहेको छु । अहिले विश्वासको संकट छ । अहिलेका टुप्पाेमा बसेका नेताहरू ओली, प्रचण्ड, शेरबहादुर हुन् । यिनले नै कुर्सीको खेल चलाए, चलाउँछन् ।
त्यसकारण मैले नेतृत्वको भयानक खडेरी देखिरहेको छु । यसको सजिलो उपाय छैन । अहिले पनि राजनीतिक अपरिपक्वता जेनजीमा देखियो । किनभने पहिलो पटक यिनी यसरी राजनीतिमा होमिएका हुन् । राजनीति बुझ्दै नबुझेकाहरू हुन् । पहिलो पटकमा पहिलो गाँसमा ढुङ्गा भनेको जस्तै पहिलो प्रयासमै थप्पड खाएका छन् यिनीहरूले । अब बल्ल अलिकति बुद्धि आउला । यस्तो धोका हुँदो रहेछ राजनीति भन्ने कुरा बुझ्लान् ।
तर सबैभन्दा मैले देखेको राजनैतिक अपरिपक्वता हाम्रो नेपाली सेना हो । एउटा चोखो संस्था नेपालमा त्यो मात्रै बाँकी छ । प्रहरी दोषपूर्ण छ, न्यायालय दोषपूर्ण छ, प्रशासन झन् दोषपूर्ण छ । झोले भरिएका छन् त्यहाँ सबैमा । तर सेना चोखो छ । तर सेनाले पनि पहिलो पटक चुक खाएको हो, अपरिपक्वता देख्छु । किनभने पाकिस्तान, श्रीलंका, बंगलादेशकाे जस्तो यिनीहरू राजनीतिक सेना नै होइन । सबैभन्दा पहिले संविधान निलम्बन गरेर माथिल्लो सदन र प्रदेश सभा विघटन गरेर अन्तरिम व्यवस्था लागू गर्नुपर्थ्यो । त्यो केही पनि गरेनन् । उही पुरानो संसद् पुनर्स्थापना गर्ने, उही संविधान कायम छ भनेपछि समस्या समाधान हुँदैन ।
फागुन २१ गते चुनाव हुँदै छ तर बहुमत सरकार बन्नै नसक्ने संविधान छ । भनेपछि उही यो ‘म्युजिकल चेयर’ सरकार अनि भागबन्डाको भ्रष्ट राजनीति सिवाय के गर्छन् ? पहिलो त चुनाव नै हुँदैन । भयो भने हिंसात्मक हुन्छ । तेस्रो, चुनाव जबरजस्ती गर्यो भने त्यसले कुनै पनि समस्या हल गर्दैन । भोलिपल्टदेखि नै फेरि अर्को अस्थिरता र विरोध र हिंसा भड्किन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण