बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नौ प्रश्न

म आफ्नो पहिचानका लागि संघर्ष गरिरहेको छु : विजय हितान

शनिबार, ०१ कात्तिक २०८२, १२ : ३०
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • बेलायती गोर्खा सेनाबाट अवकाश प्राप्त विजय हितानको साहित्य यात्रा र नयाँ कृतिबारे रातोपाटीमा अन्तर्वार्ता प्रकाशित छ।
  • हितानको नयाँ कविता सङ्ग्रह 'मलाई आर्यघाटमा लगेर नजलाउनु' मा पर्यावरण र जलवायु परिवर्तनका विषय समेटिएका छन्।
  • अन्तर्वार्तामा हितानले साहित्य सिर्जनाका अनुभव, विदेशमा नेपाली साहित्यको अवस्था, र जीवनका सङ्घर्षबारे कुरा गरेका छन्।

बेलायती गोर्खा सेनाबाट अवकाश प्राप्त विजय हितान लामो समयदेखि विदेशमै रहेर साहित्यमा साधनारत छन् । बाह्रखरी कथा लेखन प्रतियोगिता २०८० मा हितानको ‘चेपाङ चमेरा र चिउरी’ कथा तृतीय भएको थियो ।

हितानको कविता सङ्ग्रह ‘बिछोड अघिको रात’ (२०६७), पर्या कथा सङ्ग्रह थकित पृथ्वी (२०७०), उपन्यास लाहुरेको रेलिमाई (२०८०) समेत गरी ११ वटा कृति प्रकाशित छन् । यसबाहेक प्रथम नेपाली पर्या निबन्ध सङ्ग्रह (२०८२) लगायत उनका केही सम्पादित कृति पनि प्रकाशित छन् । यसैबर्ष ‘मलाई आर्यघाटमा लगेर नजलाउनु’ कविता सङ्ग्रहका साथ उनी फेरि पाठकसामु आएका छन् । उनै हितानलाई यसपटक हामीले रातोपाटीको ‘नौ प्रश्न’ शृङ्खलामा निम्त्याएका छौँ ।

(१) साहित्य सृजनामा सबैले केही न केही लेख्न खोजी रहेकै हुन्छन् तर उनीहरूले त्यसलाई साहित्यिक बान्कीसाथ पस्कन सक्दैनन् । तपाईंलाई के कुराले लेख्न प्रेरित गर्छ र किन लेख्नु हुन्छ ? 

लेखन वा साहित्य मेरो रुचिको विषय हो । आरम्भिक दिनहरूमा मैले आत्मसन्तुष्टिकै लागि लेखे । लेख्दै जाँदा जिम्मेवारी बोध वा बाध्यता महसुस भयो । समाजलाई नयाँ विचार, धारणा दिएर आफ्नो परिवार, समाज, देश अनि विश्वलाई थोरै भए पनि परिवर्तन गर्न सकिन्छ कि भन्ने उद्देश्यले लेखनतर्फ डोरिन थालेँ । 

त्यसो त लेख्नका लागि प्रेरणा दिने विषयहरू धेरै छन् । साहित्यमा लागेको लामो समय भयो । कुनै रचना पत्रपत्रिकामा छापिएपछि, सामाजिक सञ्जालबाट पाठकको प्रतिक्रिया आउन थाल्छ । धेरैजसो त सकारात्मक प्रतिक्रियाहरू आउँछन् । त्यसले लेख्न प्रेरणा दिन्छ । कहिलेकाहीँ समालोचकहरूले एकदमै आलोचनात्मक प्रतिक्रिया दिनु हुन्छ । त्यसले लेखनमा सुधार गर्न सहयोग पुर्‍याउँछ । लेखनमा त्यसले पनि उत्तिकै प्रेरणा मिल्छ । 

bijay hitan (2)bijay hitan (4)

(२) अन्तिम पटक कुन कृति पढ्नु भयो र कस्तो लाग्यो ? हाम्रा पाठकहरूलाई बताइदिनु न । 

पछिल्लो पटक मैले धेरै कृति पढे । तर यतिबेला उद्धृत गर्न लायकको महेश विक्रम शाहको कथा सङ्ग्रह ‘ज्याक्सन हाइट’ हो । त्यो कृतिले मलाई किन छोयो ? अनि अरू पाठकहरूले त्यो किन पढ्नु पर्छ ? यसको पहिलो जवाफ हो– यो कृति डायस्पोरिक साहित्य हो । अर्थात् विदेशमा रहेका नेपालीहरूबारे लेखिएको कथा । म पनि लामो समयदेखि देश बाहिर बसिरहेको छु । त्यसैले पनि म त्यो कृतिप्रति तानिएको हुन सक्छ । 

ज्याक्सन हाइट न्युयोर्कमा रहेको एउटा ठाउँको नाम । त्यहाँ नेपाली, भारतीय, बाङ्गलादेशी, पाकिस्तानीहरू बस्छन् । ज्याक्सन हाइटमा गइसकेपछि एसियामै छु भने जस्तो महसुस हुन्छ । यस सङ्ग्रहमा नेपाली र विदेशीहरूको सम्बन्धबारेमा लेखिएका कथाहरू छन् । विदेशीहरूको संस्कार संस्कृतिलाई नेपाली नजर र भाषामा लेखिएका कथा छन् । हामीले पढ्ने धेरैजसो कृति नेपालकै परिवेशका हुन्छन् । हाम्रा अधिकांश कथा नेपालको सामाजिक, धार्मिक, प्राकृतिक थितिका आधारमा छन् । त्यसबाहेकका वेद–पुराणमा आधारित छन् । 

तर ‘ज्याक्सन हाइट’को विशेषता चाहिँ यसमा रहेका प्रत्येक कथा फरक–फरक पृष्ठभूमिका छन् । प्रत्येक ठाउँको प्रत्यक्ष भ्रमण गरिसकेपछि त्यहाँको स्थानीयता, त्यहाँको आंचलिकता, त्यहाँको संस्कार, संस्कृति अनुभव गरिसकेपछि त्यहीँको परिवेशमा, त्यहीँको पात्र सृजना गरेर लेखिएको छ । यसमा एउटा–एउटा कथा पेरिस, बेलायत र हइटीको छ । 

bijay hitan (5)

विदेशमा नेपालीहरूले पाएको पीडा अनि दुःखलाई समेट्दै लेखिएका कथाको भाषा एकदमै सरल छ । पात्रहरू कम्ती राखिएका छन् । अनि यसमा सृजना गरिएको घटना र परिवेशले सुरुदेखि नै पाठकलाई बाँधेर राख्छ । उत्सुकता जगाइरहन्छ । सबै कथाको अन्त्य एकदमै आश्चर्यपूर्ण तरिकाका छन् । 

हइटीको एउटा कथामा बारमा केटी खोज्न आएको ग्राहकले ‘अश्वेत केटी’ नै चाहियो भनेर जिद्दी गरेपछि एउटा एजेन्टले आफ्नै श्रीमती ल्याइदिएको कथा छ । यो कथा सत्य घटनामा आधारित हो/होइन थाहा छैन । तर त्यो सबै पढ्दा वास्तविक जस्तै लाग्छ । कथाहरू दर्दनाक छन् तर पढ्नका लागि औधी रुचिकर छन् । मलाई कथामा दर्शन हाबी भएको मन पर्दैन । गञ्जागोल धेरै पात्र पनि रुचाउँदिन । पाठक कन्फ्युज हुन्छन् । ज्याक्सन हाइटमा ठिक्क दुई–तीनजना पात्र छन् । 

(३) पछिल्लो समय नेपालको साहित्यिक बजार र बहस कस्तो पाउनु भएको छ ? 

नेपालमा मेरो अनुभव त्यति लामो छैन । म प्रायः विदेशमै बस्छु । तर नेपालमा साहित्यिक गतिविधि चाहिँ धेरै नै भएको देख्छु । बर्सेनि साहित्यका सयौँ पुस्तकहरू प्रकाशन भइरहेका छन् । गजल, कविता, मुक्तक, कथा, नियात्रादेखि लघु कथासम्मका किताब आइरहेकै छन् । पछिल्लो समय ‘पर्या’ छुट्टै विधा भएर आएको छ । नियात्राका कृति पनि निकै धेरै प्रकाशित भइरहेका छन् । 

सङ्ख्याका हिसाबले बजारमा धेरै पुस्तक आइरहेकै छन् । तर त्यसको गुणस्तर हेर्ने हो भने प्रकाशितमध्ये २०–३० वटा वा मुस्किलले ४०–५० वटा मात्रै पढ्न लायक पनि छन् भने यसलाई सफलता नै मान्नुपर्छ । पछिल्लो समय नामै मात्रका लागि पनि साहित्यिक कृति प्रकाशन गर्नेहरू पनि छन् । मान्छेलाई नामको मोह जो छ । त्यसो त यो प्रवृत्ति अहिलेको मात्रै होइन, पहिले पनि थियो । 

पुस्तक प्रकाशन पनि एकखाले व्यापार न हो । व्यापारमा जसले विज्ञापन गर्छ, जसले बोल्छ, लेख्छ, छपाउँछ उसैको बिक्ने न हो । अहिले त सामाजिक सञ्जालको युग छ । दुई चार जनाले ‘राम्रो छ’, ‘उत्कृष्ट छ’ भनेपछि त्यो कृति पढौँ न भन्ने जिज्ञासा लाग्नु स्वाभाविक हो । अनि हामीले किताब किन्छौँ । पढ्दा सुनेको जस्तो नहुन पनि सक्छ । 

bijay hitan (7)

(४) नेपालको साहित्यिक माहौलबारे हामी धेरथोर जानकारै छौँ । विदेशमा नेपाली साहित्यको माहौल कस्तो छ ? नेपाली साहित्यलाई बचाउन त्यहाँ गरिएका वा गर्नुपर्ने सङ्घर्षहरू कस्ता छन् ? 

म बेलायतमा बस्छु । बेलायतको नेपाली साहित्यिक गतिविधिबारे भन्दा यहाँ संस्थागत रूपमा ९–१० वटा साहित्यिक संस्थाहरू नै छन् । यीमध्ये ५–६ वटा एकदमै सक्रिय छन् । एउटा हो– विश्व नेपाली साहित्य महासंघ । यसमा म पनि आबद्ध छु । बेलायतमा यसका तीनवटा शाखा छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को बेलायत च्याप्टर पनि छ । 

सबैभन्दा पुरानो संस्था चाहिँ साहित्य विकास परिषद् हो । गजललाई प्रमोट गर्ने स–साना शाखाहरू छन् । निबन्ध अनि मुक्तकलाई प्रमोट गर्ने शाखाहरू छन् । तीन–चारवटा साहित्यिक संस्थाहरू सम्बद्ध पोर्टलहरू पनि छन् । लक्ष्मी जयन्ती, भानु जयन्ती आदिको अवसरमा वा साहित्यिक संस्थाको स्थापना दिवसहरूमा कार्यक्रमहरू हुन्छन् । दसैँ–तिहारमा साहित्यिक गतिविधि हुन्छन् । 

एनआरएनएको आफ्नै भाषा साहित्य विभाग छ । यसले विदेश र नेपालमै पनि साहित्यिक कार्यक्रम गर्दै आएको छ । जापान, कोरिया, मध्यपूर्वसहित विश्वभर जहाँ–जहाँ नेपालीको बसोबास छ त्यहाँ नेपाली साहित्यको गतिविधि भइरहेकै छन् । नेपाली साहित्यमा बजारमा बर्सेनि झन्डै दुई हजार पुस्तक प्रकाशन हुन्छन् भन्ने सुनेको छु । यीमध्ये एक तिहाइ पुस्तक विदेशमा रहेका नेपालीका हुन्छन् भन्नेमा म ढुक्क छु ।

(५) तपाईंले लामो समयदेखि पर्या साहित्यमा कलम चलाइरहनु भएको छ । पर्या साहित्य लेखनमा तपाईंलाई सबैभन्दा चुनौतीपूर्ण के लाग्छ ? 

पर्यावरण भन्ने बित्तिकै वातावरण पर्‍यो । यसमा प्रकृति, हावा, जल, जमिन, पञ्चतत्त्व पर्छन् । म परे विज्ञानको विद्यार्थी । वातावरण विज्ञानसँग सम्बन्धित छ । आरम्भिक दिनहरूमा प्रकृतिको सुन्दरताबारे धेरै लेखियो । हुन त यो पनि वातावरण साहित्य नै हो । तर यो एउटा मात्रै पाटो भयो । अहिले प्रकृतिको, जसरी दोहन भइराखेको छ, त्यसले भावी पुस्तालाई धेरै सङ्कटतर्फ धकेलिरहेको छ । 

उब्जनी हुने जमिन सकिँदै गएको छ र संसारभरको प्रदूषण चरममा छ । चराहरूले आफ्नो गुँड बनाउन झारपात–झिँझा मात्रै होइन तार नै बोकेर ल्याउन थालेका छन् । यो समस्या हामीले नै उत्पन्न गरिदिएका हौँ । साधारण आँखाले पनि पर्या साहित्य लेख्न सकिन्छ । तर समग्रतामा पर्यावरण विज्ञानको क्षेत्र भएकाले यसमा कलम चलाउन अलिकत मेहनत गर्नुपर्ने देखिन्छ । 

त्यो चुनौती मैले भोगेर आएँ । हाम्रो आँखाले देखिरहेको कुरालाई विज्ञानका दृष्टिले हेर्ने र सामान्य मानिसले बुझ्न सक्ने गरी ल्याउनु पर्छ । जलवायु परिवर्तनका कारण हाम्रो हिमाल तीव्र गतिमा पग्ली राखेको छ । यो त पूरै विज्ञानको विषय हो । के कारणले यस्तो भइरहेको छ ? वायुमण्डलमा कस्ता ग्याँस उत्सर्जन भइरहेका छन् अनि त्यसले हाम्रो हावालाई कसरी तराइरहेको छ भनेर आफ्नो लेखनीबाट भन्नुपर्ने हुन्छ । 

bijay hitan (6)

(६) आजीवन लेखिरहँदा कतिपय साहित्यकारलाई जीवनको उत्तरार्द्धमा यतिका वर्ष मैले बेकार लेखेर खेर फालेछु भन्नेहरू पनि भेटिन्छन् । उनीहरूको अनुभूति, उपलब्धि वा परिवेशले त्यसो भन्न बाध्य पारेको होला । तपाईंले साहित्य साधनामा ३५–४० वर्ष बिताइसक्नु भयो । यतिखेर तपाईंलाई मैले– लेखेर अहिलेसम्म के–कति कमाउनु भयो वा गुमाउनु भयो भनेर सोधेँ भने के जवाफ दिनु हुन्छ ? 

अहिलेसम्म खासै केही गुमाएको छैन । मेरो लेखनलाई, विशेष गरेर परिवारमा त्यति उत्साहपूर्वक हेरिएन । अहिले पनि हेरिँदैन । मैले लेख्छु, लेख्दाखेरि समय खर्च हुन्छ । आफूले लेखेको कुरामा घरपरिवारले राम्रो–नराम्रो केही प्रतिक्रिया दिउन् भन्ने त सबैलाई लागि रहेकै हुन्छ । खोइ ! के लेख्छ, लेख्छ भन्ने महसुस गरे भने त दुरुत्साहन भयौँ नि । कहिले काहीँ उनीहरूको माया गुमाए कि जस्तो लाग्छ । 

तर, मैले साहित्यबाट धेरै कमाएको छु । एउटा कवि, कथाकार, उपन्यासकार भएर मैले नाम कमाएँ । पाठक कमाएँ । झन्डै एक दर्जन कृति निकाल्दा धेरै पाठकको माया पाएँ । त्यो सबै मेरो कमाई हो । कहिलेकसो साहित्यलाई राजनीतिसँग तुलना गर्छु । राजनीति गरेको भए म के हुन्थेँ ? कहाँ हुन्थेँ ? मेरा के कस्ता सम्बन्ध हुन्थे भन्ने पनि सोच्छु । तर जब साहित्यमा लागेर गोविन्दराज भट्टराई, डाक्टर अशोक, नेत्र एटम, तुलसी दिवस, अभि सुवेदीसँगको सानिध्यता सम्झन्छु, मलाई गर्व महसुस हुन्छ । 

(७) अब चाहिँ कुरा तपाईंको पछिल्लो कृतितर्फ मोडौँ । ‘मलाई आर्यघाटमा लगेर नजलाउनु’ भन्ने कविता सङ्ग्रह पाठकले किन पढ्नुपर्छ ? र, यसमा कस्ता कविता समावेश छन् ? 

यो मुख्यतः पर्या कविताहरूको सङ्ग्रह हो । यसमा अधिकांश विषय वातावरणसँग सम्बन्धित छन् । जलवायु परिवर्तन, विश्वव्यापी तापमान वृद्ध, जैविक विविधतामा भइरहेका ह्रास, हावा, जमिन र माटो प्रदूषण, वन्यजन्तु चोरी सिकारी यस्तै विषयलाई यसमा समेटेको छु । यसमा कवित्व कति छ भन्ने पाठककै जिम्मामा छोडेको छु । सङ्ग्रह अलिकति पृथक् छ । नौलो स्वाद भएकाले पाठकले पढ्नु पर्छ भन्ने लाग्छ । 

हुन त हिन्दु धर्ममा मरेपछि मानिसलाई जलाइन्छ । यो हाम्रो संस्कार हो । संस्कारलाई म हृदयदेखि नमन गर्छु । संस्कारलाई हामीले जीवित राख्नुपर्छ । तर हाम्रा कतिपय धर्म संस्कारले चाहिँ पर्यावरणलाई नै असर पारिरहेको छ । पर्यावरणलाई असर पार्ने ती संस्कार रोकिनुपर्छ भन्ने मेरो धारणा हो । आर्यघाटमा लगेर जलाउँदा त्यहाँबाट कार्बन उत्सर्जन हुन्छ । त्यसले हावालाई दूषित बनाउँछ । जलिसकेपछिको खरानी, अवशेषलाई बागमतीमै बगाइन्छ । यसले नदिलाई प्रदूषित बनाउँछ । त्यही भएर म मरे भने मलाई बागमतीमा नजलाउनु । जमिनमा लगेर गाड्नु । जमिनमा गाड्दा शरीर डिकम्पोज हुन्छ, माटोले मल पाउँछ भन्ने भाव समेटिएका छन् कविता सङ्ग्रहमा । 

bijay hitan (1)

(८) अहिलेसम्म तपाईंले पढ्नुभएको कृतिमध्ये आफूलाई एकदमै झकझकाएको कृति कुन हो ?

त्यो समालोचनाको कृति हो । डाक्टर गोविन्दराज भट्टराईको– ‘उत्तर आधुनिक विमर्श’ । यो पुस्तकभित्र धेरै अध्यायहरू छन् । एउटा अध्याय चाहिँ ‘इको क्रिटिसिज्म’ भन्ने छ । यो कृति मैले सन् २०१३ मा पढेको हुँ । मलाई पर्या साहित्य लेखनका लागि झक–झकाउने कृति नै यही हो । म बेलायतमा बसेर उतै वातावरणसम्बन्धी काम गरिरहेको थिए । म आफैँ इकोलोजीको विद्यार्थी । उत्तर आधुनिक विमर्शमा इको क्रिटिसिजम पढ्दाखेरि मलाई अंग्रेजी पढेका, पढाइरहेका प्राध्यापकमा त इकोलोजीको यति धेरै ज्ञान, यति धेरै चिन्ता कसरी छ भनेर मैले आफैँलाई प्रश्न गरेँ । 

(९) आधा जसो जिन्दगी पार गरिसक्नुभयो । जीवनको अधिकांश समय विदेशमा बिताउनु भयो । अहिले पनि प्रायः उतै बस्नु हुन्छ । यो क्षणमा, यतिखेर तपाईंलाई मैले जिन्दगीको बारेमा सोधेँ भने जिन्दगी के रहेछ भन्नुहुन्छ ? 

साँच्चै भन्नु पर्दा जिन्दगी सङ्घर्ष हो । मैले सानोदेखि सङ्घर्ष गरेँ । विदेशमा पनि संघर्षका अनेक चरणहरू पार गर्दै म यो अवस्थामा आइपुगेको छु  । हुन त हरेक ठाउँमा सङ्घर्ष हुन्छ । एउटा रुख बिरुवा झारपातले पनि बाँच्नका लागि सङ्घर्ष गर्नुपर्छ । अस्तित्व जोगाउनकै लागि पनि सङ्घर्ष गर्नुपर्दो रहेछ । ‘म’ हुनका लागि मैले नोकरीतिर एउटा सङ्घर्ष गरिरहेको छु, आफ्नो छुट्टै पहिचानका लागि साहित्यमा सङ्घर्ष गरिरहेको छु । 

आर्थिक उपार्जनका लागि छुट्टै सङ्घर्ष छँदैछ । अरू त अरू घरपरिवारमा आमाको माया पाउन, आफ्नो परिवारले मलाई मानुन् भन्न पनि म सङ्घर्ष गरिरहेकै छु । म जहाँ–जहाँ जान्छु त्यहाँ मेरो अस्तित्वका लागि म काम गर्छु । ‘म’ को हो त भन्दाखेरि त एउटा जवाफ होस्– यो विजय हितान हो भनेर । जिन्दगी सङ्घर्ष हो र मान्छेले आफ्नो अस्तित्व जोगाउन सङ्घर्ष गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप