विषाक्त धुवाँले नयाँ दिल्लीलाई घेर्यो, प्रदूषण चरम स्तरमा
सारांश
- नयाँ दिल्लीमा वायु प्रदूषणको स्तर खतरनाक रूपमा बढेको छ, जुन विश्व स्वास्थ्य संगठनको सिफारिसभन्दा १६ गुणा बढी हो।
- जाडो मौसम सुरु भएसँगै, बाली जलाउने, कारखानाको धुवाँ र सवारी साधनको उत्सर्जनका कारण दिल्लीमा प्रदूषण बढ्दै गएको छ, जसमा दीपावलीको आतशबाजीले थप योगदान पुर्याएको छ।
- दिल्ली सरकारले वायु प्रदूषण कम गर्न क्लाउड सिडिङको परीक्षण गर्ने तयारी गरेको छ भने स्वास्थ्य विशेषज्ञहरूले यसलाई दीर्घकालीन स्वास्थ्य जोखिमको रूपमा औंल्याएका छन्।
नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्ली सोमबार बिहानदेखि बाक्लो र विषाक्त धुवाँको चपेटामा परेको छ । वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सिफारिस गरेको दैनिक अधिकतम सीमा भन्दा १६ गुणा बढी पुगेको सरकारी तथ्याङ्कले जनाएको छ ।
करिब तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको दिल्ली र यसको विशाल महानगरीय क्षेत्र हरेक वर्षजस्तै यस पटक पनि विश्वका सबैभन्दा प्रदूषित राजधानीहरू मध्ये एक बनेको छ । जाडो मौसम सुरु हुनासाथ यहाँको आकाश बाक्लो धुवाँले ढाकिने परम्परा झैँ बन्दै आएको छ ।
चिसो हावाले प्रदूषक तत्वहरूलाई जमिनको नजिक समात्ने भएकाले बाली जलाउने, कारखानाबाट निस्कने धुँवा र सवारी साधनका उत्सर्जन मिसिएर घातक धुवाँको तह तयार भएको बताइन्छ । यसमा यस वर्षको दीपावली पर्वका अवसरमा भएको आतशबाजीले थप प्रदूषण वृद्धि गरेको जनाइएको छ ।
यसअघि सर्वोच्च अदालतले यस वर्षको दीपावलीका लागि कम प्रदूषण गर्ने ‘हरित पटाका’ मात्र प्रयोग गर्न अनुमति दिँदै पूर्ण प्रतिबन्ध हटाएको थियो । ती हरित पटाका कम कण उत्सर्जन गर्ने उद्देश्यले तयार गरिएका हुन् । तथापि विगतका वर्षहरूमा जस्तै यसपटक पनि धेरैले प्रतिबन्धको बेवास्ता गरेको रिपोर्टहरू आएका छन् ।
वायु प्रदूषण मापन संस्था आइक्युएयरका अनुसार सोमबार बिहान दिल्लीका केही भागमा क्यान्सर पैदा गर्ने सूक्ष्म कण र मानव रगत प्रवाहसम्म प्रवेश गर्न सक्ने एः २.५ स्तर २४८ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो ।
भारतको वायु गुणस्तर व्यवस्थापन आयोगले आगामी दिनहरूमा हावाको गुणस्तर अझ बिग्रने चेतावनी दिएको छ । आयोगले डिजेल जेनेरेटरको प्रयोग घटाउन र निरन्तर बिजुली आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ । साथै, प्रदूषण नियन्त्रणका लागि विभिन्न आपत्कालीन उपायहरू कार्यान्वयनमा ल्याएको पनि जनाएको छ ।
यसैबिच दिल्ली सरकारले यस महिनाभित्रै पहिलो पटक विमानमार्फत ‘क्लाउड सिडिङ’ परीक्षण गर्ने तयारी गरेको छ । यस विधिमा बादलमा नुन वा अन्य रसायनहरू फायर गरी कृत्रिम वर्षा गराइन्छ, जसले हावामा रहेका प्रदूषक कणहरूलाई तान्ने र सफा गर्ने अपेक्षा गरिन्छ ।
दिल्लीका वातावरणमन्त्री मञ्जिन्दर सिंह सिरसाले पत्रकारहरूलाई भने, ‘हामीले क्लाउड सिडिङका लागि आवश्यक सबै तयारी पूरा गरिसकेका छौँ । उडान परीक्षण र पाइलट प्रशिक्षण सम्पन्न भइसकेको छ, यसै महिनाभित्र प्रयोग सुरु हुनेछ ।’
स्वास्थ्य विशेषज्ञहरूका अनुसार वायु प्रदूषण दिल्लीका बासिन्दाहरूका लागि दीर्घकालीन स्वास्थ्य जोखिम बन्दै गएको छ । द ल्यान्सेट प्लानेटरी हेल्थमा सन् २०२३ मा प्रकाशित एक अध्ययनअनुसार सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण करिब ३८ लाख मानिसले ज्यान गुमाएका थिए ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले समेत चेतावनी दिँदै प्रदूषित हावाले बालबालिकालाई तीव्र श्वासप्रश्वास सङ्क्रमणको उच्च जोखिममा पारिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण