बालुवाटारमा शंकरलाई ओमप्रकाशको जबाफ– म पनि कुनै बेलाको एमाले हुँ !
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा २० दलका नेताहरूसँग निर्वाचनबारे छलफल गरिन्।
- छलफलमा गृहमन्त्री र एमाले महासचिवबीच सवालजवाफ रोचक रह्यो, जसमा एकले अर्कालाई आरोप लगाए।
- बैठकमा निर्वाचनको शान्ति सुरक्षा र सरकारको भूमिकाबारे दलका नेताहरूले चासो व्यक्त गरे।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार साँझ बालुवाटारमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २० दलका नेताहरूसँग निर्वाचनबारे छलफल गरिन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूसँग कार्कीले छलफल गरेकी हुन् ।
छलफलका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र एमाले महासचिव शंकर पोखरेलबिचको सवालजबाफ भने रोचक थियो । बैठकमा सहभागी एक नेताका अनुसार पहिला बोलेका गृहमन्त्री अर्यालले एमालेले आफूमाथि बढी ‘टार्गेट’ गरेको आरोप लगाए । ‘एमालेहरूले ममाथि बढी टार्गेट गरेका छन्, म पोलिटिकल भिक्टिम भएको छुँ,’ अर्यालको धारणा उद्धृत गर्दै ती नेताले भने ।
अर्यालको सो भनाइपछि एमाले महासचिव पोखरेलले ‘तपाईंले पनि पदीय जिम्मेवारी सम्हालेर पदअनुरुपको क्रियाकलाप गर्नुभएको छैन’ भन्ने जबाफ फर्काएका थिए । ‘तपाईं पनि गृहमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ तर पदीय जिम्मेवारी अनुरुपको काम गरिरहनुभएको छैन,’ पोखरेलले भनेका थिए ।
महासचिव पोखरेलले कसैलाई ‘पकडिहाल्ने’, ‘समातिहाल्ने’ भन्नेजस्ता गृहमन्त्रीका अभिव्यक्ति ‘अति भएको’ बताए ।
त्यसपछि गृहमन्त्री अर्यालले आफू पनि पहिलाको एमाले भएकाले एमालेले कसो गर्थ्यो र अहिले के गरिरहेको छ भन्ने राम्रोसँग जानकारी रहेको बताए । ‘म पनि २०४७ पछिको एमाले हुँ । एमालेले के गर्थ्यो र अहिले के गरिरहेको छ, त्यसबारे राम्रो जानकारी राख्छु,’ अर्यालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताहरूले भने ।
गृहमन्त्री अर्यालले एमालेको स्कुलिङ अहिलेको जस्तो तर्साउने, थर्काउने र गुण्डागर्दी गर्ने नभएको पनि महासचिव पोखरेललाई स्मरण गराएका थिए ।
अर्यालले सरकारलाई नै दलहरूबाट सुरक्षा चुनौती रहेको बताएका थिए । ‘किमा’ बनाउने, अचार बनाउने जस्ता अभिव्यक्ति जिम्मेवार दलका नेताहरूबाटै आउने गरेको अर्यालको भनाइ थियो । भक्तपुरबाट दुर्गा प्रसाईं र महेश बस्नेतबाट सुरक्षा चुनौती थप्ने काम गरेको अर्यालको गुनासो थियो ।
‘सुरक्षा चुनौती सरकारबाट होइन । राजनीतिक दलहरूबाट सरकारलाई पनि छ । भक्तपुरबाट दुर्गा प्रसाईं र महेश बस्नेतका कारण सुरक्षा चुनौती थपिएको छ,’ अर्यालले भनेका थिए ।
छलफलमा प्रधानमन्त्री कार्की पहिलाको तुलनामा धेरै नरम देखिएकी थिइन् भने आफूलाई ‘प्रेसर फिल’ भएको बताएकी थिइन् । कार्की जसरी पनि निर्वाचन गराउनुपर्छ भन्नेमा दृढ रहेको आफूहरूले पाएको नेताहरू बताउँछन् ।
कार्कीले छलफलमा ‘चुनाव लड्ने ‘स्टेकहोल्डर’ भनेका राजनीतिक दलहरू नै रहेको बताएकी थिइन् । ‘चुनावमा सहभागी हुने/नहुने राजनीतिक पक्षको कुरा भयो । सरकार निर्वाचन गर्नेमा दृढ छ । त्यही अनुसारका काम गर्छ,’ बैठकमा उनको भनाइ उद्धृत गर्दै एक नेताले रातोपाटीलाई बताए ।
बैठकमा केही राजनीतिक दलले निर्वाचन समयमै गर्नुपर्ने बताएका थिए । केही दलका नेताले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका थिए । एमालेले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने धारणा बैठकमा राखेको थियो ।
छलफलमा सहभागी सबै नेताहरूको चासो र चिन्ता निर्वाचनसँग जोडिने प्रमुख फाउन्डेसन शान्ति सुरक्षामा थियो । सरकारले शान्ति सुरक्षा दिन नसकेको र जेनजी आन्दोलनका क्रममा व्यक्तिगत र सार्वजनिक घर वा व्यापारिक भवन जलाउनेलाई अहिलेसम्म कारबाहीको दायरामा ल्याउन नसकेको बताएका थिए ।
छलफलमा कांग्रेस र एमालेका नेताहरूले गृहमन्त्री अर्यालले ‘थुनेकालाई छाड्नुपर्छ’ भनेर अभिव्यक्ति दिएर गम्भीर गल्ती गरेको भन्दै आलोचना गरेका थिए । अपराधीलाई कारबाही गर्ने सुरक्षा निकायको नियमित प्रक्रियालाई गृहमन्त्रीले भत्काएको आरोप कांग्रेस–एमालेको थियो ।
दलका नेताहरूले लुटिएका हतियार र भागेका कैदी नै निर्वाचन सुरक्षामा मुख्य चुनौती रहेको बताउँदै यो काम पहिला सरकारले गर्नुपर्ने बताएका थिए । आफूहरूलाई निर्वाचन भयो भने तिनै हतियार र अपराधी प्रयोग हुन सक्छन् भन्ने चिन्ता रहेको उनीहरूले बताएका थिए । त्यसविपरीत गृहमन्त्रीले उल्टै दलहरूतिर बल फाल्ने काम भएको भन्दै आपत्ति जनाएका थिए ।
बैठकमा एमाले महासचिव शंकर पोखरेलले भनेका थिए, ‘गृहमन्त्रीका क्रियाकलाप हाँस्यास्पद छन् । गृहमन्त्रीबाट प्रोभोगेटेट गर्ने काम भयो । जिम्मेवारीमा रहेको मानिसले त्यस्तो गर्न मिल्छ ? गृहमन्त्रीको अभिव्यक्ति जिम्मेवारपूर्ण भएन ।’
नेताहरूले एकातिर सुरक्षा हुन नसकेको बताउने अर्कातिर सुरक्षाकर्मी फिर्ता बोलाउने भन्दै गृहमन्त्रीको क्रियाकलापमा आपत्ति जनाएका थिए ।
गृहमन्त्रीले भने सुशासन कायम गर्ने र शान्ति सुरक्षा कायम गर्ने सरकारको काम भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण