तिहारको रौनकमा किसानलाई धान भित्र्याउने चटारो
सारांश
- भक्तपुरका किसानहरू तिहारको रौनकका बाबजुद धान भित्र्याउन व्यस्त छन्, असिना पानीको डरले उनीहरूलाई सताएको छ।
- कतिपय किसानले हरियो धान नै सस्तोमा बेच्न बाध्य भएका छन्, किनभने चिउरा मिल सञ्चालकहरूले खेतमै धान खरिद गरिरहेका छन्।
- जिल्लाका ताथली, सुडाल, चित्तपोल लगायतका क्षेत्रका किसान धान काट्ने र भित्र्याउने काममा व्यस्त छन्, ज्यामी पाउन मुस्किल भएको छ।
भक्तपुर । नेपाली हिन्दुहरूको दोस्रो महान् चाड तिहारको रौनक देशभर छाएको छ । भक्तपुरका किसानलाई भने यतिखेर पाकेको धान भित्र्याउन भ्याइ नभ्याइ भएको छ । असिना, पानी पर्ला र पाकेको धान झार्ला भन्ने चिन्तामा परेका यहाँका किसान तिहारको रौनकमा पनि वर्ष दिनको कमाइ धान भित्र्याउन व्यस्त छन् ।
हरेक दिन खेत खेतमा धान काट्ने र भित्र्याउने किसानको उल्लेख्य उपस्थिति देखिन्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका किसान सानुभाइ गिरीले पाकेको धान काटेर हतारमा भित्र्याउन थालेको बताए ।
उनले भने, ‘दश तिहारको रौनकले छोपेको छ, तर हामी किसानलाई असिना पानीको डर भयो, त्यसैले पाकेको धान भित्र्याउन थालेका हौँ, यहाँका धेरै किसानले तिहारको रौनकलाई छाडेर धान भित्र्याउन थालेका छन् ।’
बिहीबार भाइटिकाको दिन मात्रै खाली बस्ने भन्दै गिरीले अन्य दिन धान काट्ने, चुट्ने र भित्र्याउने काममा व्यस्तता बढेको बताए । सबै काम सक्ने अझै दुई साता लाग्ने उनको भनाइ छ ।
चिउरा मिल सञ्चालकहरूले चिउराका लागि खेत खेतमा पुगेर धान किन्ने भएकाले कतिपय कृषकले राम्रोसँग बोटमा नपाकेको हरियो धानसमेत काटेर सस्तोमा बिक्री गर्न थालेका छन् ।
चाँगुनारायण–७ बागेश्वरीकी प्रमिला कार्कीले चिउरा मिल सञ्चालकले ताइचिन धान प्रतिकिलो रु ८० का दरले खेतमै उठाउन आएपछि धान काट्ने बित्तिकै खेतबाटै बिक्री गर्न थालेको बताइन् ।
सूर्यविनायक नगरपालिका–९ चित्तपोलकी सुभद्रा बस्नेतले तिहारको व्यस्ततासँगै धान भित्र्याउने काम थपिएको बताउँदै यहे वर्ष दिनभरिको किसानको कमाइ भएको बताइन् ।
जिल्लाको धानखेती हुने ताथली, सुडाल, चित्तपोल, नङ्खेल, कटुन्जे, गुण्डु, सिपाडोल, छालिङ्ग, वागेश्वरी, नगरकोट, दुवाकोट, झौखेललगायत क्षेत्रका किसानको यतिखेर धान काट्ने र भित्र्याउने काममा व्यस्तता बढेको हो ।
सूर्यविनायक–७ गुण्डुका किसान रविन्द्र बस्नेतले भने, ‘असिना पानीको डरले कतिपय किसानले हरियो धान काट्न थालेका छन्, तिहार भनेर कुर्ने समय छैन, आकाशमा बादल मडारिए पनि किसान आत्तिन्छन् त्यसैले तिहार नभनी भक्तपुरका सबै किसान धान काट्न व्यस्त छन् । सबै आफ्नै धान काट्न थालेकाले ज्यामी पाइँदैन, पर्म पनि छैन, ज्यामी नहुँदा धेरै किसानलाई समस्या परेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण