बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माओवादीसँग एकताको पक्षमा छैनन् झलनाथ खनाल

शुक्रबार, ०७ कात्तिक २०८२, १७ : ४६
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँगको एकताको हल्लाको खण्डन गरेका छन्।
  • खनालले पार्टी पुनर्गठन र सुदृढीकरणमा जोड दिँदै समाजवादको यात्रामा अघि बढ्नुपर्ने बताएका छन्।
  • पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन्, जसमा असहमतिबारे छलफल हुनेछ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग अघि बढाएको एकताको छलफलप्रति विमति जनाएका छन् । सञ्चारमाध्यममा खनालसमेत सहमत भएको भन्दै आएका समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ ।

खनालका प्रेस सहयोगी मिलन उपाध्यायले बताएअनुसार खनाल माओवादीसँग एकता होइन, पार्टी पुनर्गठनकै पक्षमा छन् ।  ‘मैले कमरेड झलनाथ खनालसँग प्रत्यक्ष फोन सम्पर्क गरेको थिएँ’, उपाध्यायले भनेका छन्, ‘नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नै पुनर्गठन र सुदृढीकरण गरेर समाजवादको यात्रामा अगाडि बढाउनुपर्छ भन्ने विश्वासमा उहाँ अडिग रहनुभएको छ ।’

खनाल यतिबेला पत्नी रविलक्ष्मी चित्रकारको उपचारका क्रममा भारतको दिल्लीमा छन् । खनालले दिल्लीमै रहेको बखत असोज २६ मा पनि आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले विज्ञप्ति नै जारी गरी अन्यसँग एकताभन्दा पार्टीलाई  पुनर्गठन र सुदृढीकरण गर्नुपर्ने धारणा राखेका थिए ।

तर, शुक्रबार एकाएक एकताको विषय टुङ्गिएको र खनाल पनि सहमत भएको विषय बाहिरिएपछि उनले सचिवालयमार्फत खण्डन गरेका हुन् । यसैबिच,पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । कात्तिक १२ मा बोलाइएको बैठकमा असहमतिहरूबारे छलफल हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप