बार्सिलोनामा पेपसँग किन मिलेन ज्लाटानको तालमेल ?
सारांश
- पेप ग्वार्डिओला र ज्लाटन इब्राहिमोभिचबीचको सम्बन्ध बार्सिलोनाको समयमा विवादित रह्यो।
- इब्राहिमोभिचले ग्वार्डिओलाको प्रशिक्षण शैली र मेस्सीको भूमिकामा असन्तुष्टि व्यक्त गरे।
- दुवै फुटबल हस्तीले फरक-फरक क्लबमा सफलता हासिल गरे पनि सम्बन्धमा सुधार आएन।
पेप ग्वार्डिओला र ज्लाटान इब्राहिमोभिच दुवै फुटबलका महान् हस्ती हुन्।
पेप ग्वार्डिओला विश्वका महान् प्रशिक्षकहरूमध्ये एक बनेका छन्, जसले म्यानचेस्टर सिटी र बार्सिलोनामा सबै प्रमुख उपाधि जितेर उत्कृष्ट टोली निर्माण गरेका छन्।
तुलनात्मक रूपमा, इब्राहिमोभिच एक ‘माभरिक’ (स्वतन्त्र र सनकी) र अत्यधिक आत्मविश्वासी खेलाडी हुन्, जसले आफ्नो क्षमतामा पूर्ण विश्वास राख्छन्। उनले ८२७ क्लब खेलमा उनले ४९६ गोल र २०४ असिस्ट प्रदान गरेका छन्। स्वीडेनका ‘आइकन’ उनी फुटबल मैदानमा पाइला टेक्नेमध्ये एक उत्कृष्ट स्ट्राइकर मानिन्छन्।
त्यसैले, बार्सिलोनामा यी दुईबिच चर्को विवाद हुनु कुनै अचम्मको कुरा थिएन, जसले फुटबल इतिहासमा एउटा प्रतिष्ठित झगडाको रूप लियो।

- उत्कृष्टतामा सुधार
सन् २००८–०९ सिजनमा बार्सिलोनाले खेलकुद इतिहासमा अमरता हासिल गरेको थियो। ग्वार्डिओलाको टोलीले ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जितेर ट्रेबल (तीन मुख्य उपाधि) हात पारेको थियो।
ट्रेबल जित्ने सिजनपछि टोलीलाई अझ सुधार कसरी गर्ने ? यो प्रश्न ग्वार्डिओलाका लागि मात्र थिएन, सामुएल इटोका लागि पनि थियो, जसले क्याम्प नोउमा तीनै ट्रफी जितेपछि नयाँ चुनौती खोज्ने निर्णय गरे।
खुलेर बोल्ने स्वीडिस खेलाडी इब्राहिमोभिच सन् २००९ मा क्याम्प नोउ पुगेका थिए, तर चाँडै नै स्पष्ट भयो कि उनी र क्याटालान प्रशिक्षकबिच अनुकूल सम्बन्ध सम्भव छैन।
जोसे मोरिन्होले उनलाई इन्टर मिलान आउन मनाए, र इटालियन क्लबले बार्सालाई इब्राहिमोभिच दियो। यो सम्झौता अन्तर्गत बार्साले इब्राहिमोभिचका लागि ४६ मिलियन युरो, इटो र लोनमा एलेक्जेन्डर हलेब पनि इन्टरलाई दियो।
इब्राहिमोभिच इन्टरमा ३५ खेलमा २५ गोल र सात असिस्टसहित उत्कृष्ट सिजन बिताएर आएका थिए। फलतः उनी क्याटालोनियामा पूर्ण रूपमा फिट हुने अपेक्षा गरिएको थियो। उनले ग्वार्डिओलाको सावधानीपूर्वक बनाइएको प्रणालीमा गोल गर्न र सिर्जना गर्न सक्ने बहुआयामिक खतरा प्रस्तुत गर्न सक्थे। उनले बार्साका लागि गोल त गरे, तर उनको र ग्वार्डिओलाको सम्बन्ध छिट्टै बिग्रियो...
‘फरारीलाई फियाटझैँ चलाइयो’
इब्राहिमोभिच जब बार्सिलोना आइपुगे, टोलीले सन् २००९–१० मा ला लिगा त जित्यो, तर कोपा डेल रेमा सेभियासँग र च्याम्पियन्स लिगमा मोरिन्होको इन्टरसँग पराजित भएर निराशा भोग्यो।

इब्राहिमोभिच आफ्नो स्तर अनुसार कम खेलिरहेका थिए; ला लिगामा उनी पाँच पटक म्याच-डे स्क्वाडबाट बाहिर थिए र दुई पटक बेन्चमा बसे। उनले यसलाई चुपचाप स्वीकार गरेनन्।
स्वीडिस स्टारले पछि आफ्नो किताबमा दाबी गरे कि उनलाई ‘फरारीलाई फियाटझैँ चलाइएको’ थियो, किनकि उनलाई २३ लिग खेलमा मात्र सुरुवात दिइयो, र उनको पुरानो क्लब, इन्टरविरुद्ध दुवै लेगमा प्रतिस्थापन गरिएको थियो।
स्ट्राइकर सम्झन्छन्, ‘ग्वार्डिओलाले मलाई घुरेर हेरिरहेका थिए र मैले आफूलाई सम्हाल्न सकिनँ। मैले सोचेँ, ‘यो मेरो शत्रु, आफ्नो खुइलिएको तालु टाउको कन्याउँदै छ!’
उनले सिजनभर ३४ गोलमा योगदान दिए पनि, टोली उनलाई केन्द्रबिन्दु बनाएर खेल्दा पहिलेझैँ प्रभावकारी देखिएन। ग्वार्डिओलाको ‘टिकी–टाका’ शैलीलाई बलियो स्ट्राइकरको सट्टा फुर्तिलोपन र द्रुत आदानप्रदान गर्ने खेलाडी चाहिएको थियो। लियोनल मेस्सी र पेड्रोमा त्यो विश्वास थियो, इब्राहिमोभिचमा थिएन।
- आफ्नो भावना नलुकाएका इब्राहिमोभिच
इब्राहिमोभिच अहिले आफ्नो बार्सिलोना सिजनलाई आफ्नो ‘सबैभन्दा खराब सम्झना’ भन्छन्। युरोपेली बहिर्गमनपछि यो विवाद उत्कर्षमा पुग्यो।
क्याम्प नोउमा इन्टर मिलान ३–१ को अग्रतासहित आएको थियो। यद्यपि, दोस्रो लेगमा थियागो मोट्टालाई चाँडै नै रातो कार्ड देखाइएपछि मोरिन्होले रक्षात्मक रणनीति -‘पार्क द बस’ अपनाए।

इन्टरले गोलतर्फ एउटा पनि प्रहार गर्न सकेन र केवल २४ प्रतिशत बल नियन्त्रण राख्यो, तैपनि उनीहरूले असम्भवलाई सम्भव तुल्याए; उनीहरू १–० ले मात्र हारे र फाइनलमा आफ्नो स्थान सुरक्षित गरे।
त्यसपछि, इब्राहिमोभिच र उनका प्रशिक्षकबिच चर्को भनाभन भयो। स्ट्राइकर सम्झन्छन्, ‘ग्वार्डिओलाले मलाई घुरेर हेरिरहेका थिए र मैले आफूलाई सम्हाल्न सकिनँ। मैले सोचेँ, ‘यो मेरो शत्रु, आफ्नो खुइलिएको तालु टाउको कन्याउँदै छ !’
मैले उनलाई चिच्याएँ, ‘तँसँग हिम्मत छैन ! र त्योभन्दा पनि नराम्रा शब्दहरू बोलेँ।’
मैले थपेँ - तँ मोरिन्होको कारणले डराइरहेको छस्। तँ नर्कमा जा ! म पूर्ण रूपमा पागल भएको थिएँ। मैले प्रशिक्षण सामग्रीले भरिएको बक्स कोठाभरि फालिदिएँ, त्यो भुइँमा बज्रियो तर पेपले केही भनेनन्, केवल सामानहरू बक्समा राखे। म हिंसात्मक छैन, तर यदि त्यो बेला म ग्वार्डिओला भएको भए, म डराउने थिएँ।’
- निरन्तर चुनौती
इब्राहिमोभिचले आफ्नो पुस्तकमा लेखेका छन् कि उनका टोलीका साथीहरूले ग्वार्डिओलालाई ‘आँखा चिम्लेर’ पछ्याउँथे। उनले थपे, ‘म कोठामा प्रवेश गर्थेँ; उनी बाहिर निस्कन्थे। उनले सबैलाई ‘नमस्ते’ भन्थे, तर मलाई बेवास्ता गर्थे। मैले अनुकूल हुन धेरै प्रयास गरेँ—बार्साका खेलाडीहरू स्कूलका केटाहरूजस्तै प्रशिक्षकलाई पछ्याउँथे, जबकि म ‘किन?’ भनेर प्रश्न गर्न अभ्यस्त थिएँ। म ती मानिसहरूलाई मन पराउँछु जसले रातो बत्तीमा पनि गाडी हाँक्छन्, न कि कडा नियमहरू पछ्याउनेहरूलाई।’

‘तर यसपछि मैले अनुकूलन हुने प्रयास गर्न छोडिदिएँ। उदाहरणका लागि, बार्सिलोनामा खेलाडीहरूलाई स्पोर्टस् कार लिएर प्रशिक्षणमा आउन प्रतिबन्ध थियो। मैले यसलाई हास्यास्पद मानेँ—मैले कस्तो कार चलाउँछु भन्ने कुरा क्लबको सरोकारको विषय थिएन—त्यसैले अप्रिलमा, अल्मेरियासँगको खेलअघि, मैले आफ्नो फरारी एन्जो चलाएर प्रशिक्षणमा लगेँ र यसले ठूलो हंगामा मच्चायो।’
ग्वार्डिओलाले भने कि उनी इब्राहिमोभिचसँग सधैँ व्यक्तिगत रूपमा मात्र कुरा गर्थे, र किताबमा उनलाई प्रस्तुत गरिएको तरिकाबाट उनी निराश थिए। त्यस समयमा ग्वार्डिओलाले भनेका थिए, ‘यदि इब्रा र मैले छ महिनामा दुई पटक मात्र कुरा गरेका छौँ भने, यसको कारण छ । तर मैले यस बारेमा कुरा नगर्नु नै क्लबको लागि राम्रो हुन्छ।’
- नयाँ गन्तव्य
इब्राहिमोभिचलाई रणनीतिक परिवर्तनका कारण बार्सिलोनाबाट अलग राखिएको थियो, यद्यपि उनले सधैँ आफ्नो बहिर्गमनको दोष ग्वार्डिओलालाई दिँदै आएका छन्। प्रशिक्षकले मेस्सीलाई केन्द्रीय स्ट्राइकरको भूमिकामा सार्ने निर्णय गरे, जसले गर्दा इब्राहिमोभिचले आफ्नो शब्दमा, ‘बलिदान’ दिनुपर्यो।
उनका अनुसार मेस्सीले नै यो परिवर्तनको माग गरेका थिए, किनभने उनी विङ्गमा खेल्न चाहँदैनथे। मेस्सीले यो परिवर्तनको पुरस्कार पनि दिए; २००९–१० मा मेस्सीले सबै प्रतियोगिताहरूमा ५३ खेलमा ४७ गोल गरे।

त्यसैले, सिजनको अन्त्यमा बार्सिलोना इब्राहिमोभिचलाई एसी मिलानमा लोनमा पठाउन तयार हुनु कुनै अचम्मको कुरा थिएन।
पेपले भने प्रशंसाका शब्दहरू खर्च गरे। सन् २०१० मा उनले भने, ‘ज्लाटानलाई प्रशिक्षण दिन पाउनु खुसीको कुरा थियो। मैले उनीबाट धेरै कुरा सिकेँ। उनले आठदेखि १० वर्षसम्म उच्च स्तरमा खेलेका छन्, जबकि मैले दुई वर्ष मात्र प्रशिक्षण दिएको छु।’
उनले थपे, ‘इब्राहिमोभिच हाम्रा लागि धेरै महत्त्वपूर्ण खेलाडी थिए। उनले हामीलाई धेरै मद्दत गरे र उनको पहिलो छ महिना उत्कृष्ट थियो। हामीले जितेको लिग उपाधिको केही अंश उनको पनि हो। यदि म उनीसँग भेट्छु भने, म उनलाई अभिवादन गर्नेछु, म फेरि भन्छु कि मलाई उनीसँग कुनै समस्या छैन।’
- ‘उनको समस्या के थियो, मलाई थाहा छैन’
ग्वार्डिओला स्पेनमा थप दुई सिजन रहे, ला लिगा र च्याम्पियन्स लिग जिते। मेस्सी, जाभी र इनिएस्टाको त्रिकोणीय जोडीले बार्सालाई खेलकुद इतिहासमा अमरताको दिशामा डोर्यायो। ग्वार्डिओलाले त्यसपछि बायर्न म्युनिखमा बुन्डेस लिगा तीन पटक जिते र म्यानचेस्टर सिटीमा पनि उत्कृष्ट टोली बनाएर लगातार चार पटक प्रिमियर लिग जितेका छन्।
.jpg_2FWxvI2YAY.webp)
इब्राहिमोभिच पनि व्यस्त रहे—एसी मिलानसँग दुई पटक सिरि ए, पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँग चार पटक लिग १, र म्यानचेस्टर युनाइटेडसँग युरोपा लिग जिते।
उनले एलए ग्यालेक्सीका लागि पनि खेले, यद्यपि उनी अहिले भन्छन् कि ‘एमएलएसमा गोल गर्नु पानी पिउनु जत्तिकै सजिलो छ ।’
उनीहरूको झगडाबारे बोल्दा ग्वार्डिओला मेलमिलापपूर्ण देखिन्छन्, उनले इब्राहिमोभिच उत्कृष्ट खेलाडी थिए तर आफ्नो खेल शैलीको दृष्टिकोणसँग नमिल्ने बताएका छन्।
तर ज्लाटान? उनका लागि सन् २०१७ को एक अन्तर्वार्ताको अन्तिम शब्दहरू नै काफी छन्,
‘समस्या मसँग होइन, उनीसँग थियो, र उनले यसलाई कहिल्यै स्वीकार गरेनन्। उनको मसँग के समस्या थियो, मलाई थाहा छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण