बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अर्थ

नेपालको वैदेशिक व्यापार : निर्यातमा करिब ९० प्रतिशतको उछाल, १०४ मुलुकसँगको व्यापार घाटामा

आइतबार, ०९ कात्तिक २०८२, १८ : ००
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • चालु आर्थिक वर्षको तीन महिनामा निर्यातमा ८९.६४ प्रतिशतले वृद्धि भएको छ, जबकि आयात पनि १९ प्रतिशतले बढेको छ।
  • देशको समग्र व्यापार २६.०४ प्रतिशतले बढेको छ, तर व्यापार घाटा करिब चार खर्ब पुगेको छ र १०४ मुलुकसँग व्यापार घाटा रहेको छ।
  • पेट्रोलियम पदार्थ, पाम तेल, फलाम, र सवारी साधनहरू जस्ता वस्तुहरूको आयात बढेको छ, र घिउजन्य वस्तुको निर्यात सबैभन्दा धेरै भएको छ।

काठमाडौँ । चालु आर्थिक वर्ष (२०८२/०८३) को तीन महिना (साउन–असोज) निर्यातमा उछाल आएको छ । भन्सार विभागका अनुसार यो तीन महिना अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८९.६४ प्रतिशतले निर्यात बढेको हो ।

आयात पनि १९ प्रतिशतले बढेको विभागले जनाएको छ । आयात र निर्यात दुवै बढ्दा देशको समग्र व्यापार २६.०४ प्रतिशतले बढेको छ । 

विभागका अनुमसार चालु वर्षको पहिलो तीन महिनामा ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको कुल व्यापार भएको छ । यसमध्ये ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको आयात हुँदा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । 

अघिल्लो वर्षको यसै अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यसमध्ये ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात र ३८ अर्ब ३७ करोड रुपैयाँको निर्यात भएको थियो । 

  • राजस्व बढ्यो 

आयातको हिस्सा बढेसँगै भन्सार विन्दुमा सङ्कलन हुने राजस्व पनि बढेको छ । चालु वर्षको असोज मसान्तसम्ममा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको आयात भएको छ । यसबाट १ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात हुँदा १ खर्ब १२ अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । 

यसअनुसार अघिल्लो वर्षको तुलनामा ८ अर्ब ६५ करोड रुपैयाँ बढी भन्सार विन्दुबाट राजस्व सङ्कलन भएको छ । 

  • कुन वस्तु कति आयात गरियो ? 

कुल आयातमध्ये ६६ अर्ब ८७ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ, जसमा पेट्रोल, डिजेल, मटितेल छन् । दोस्रोमा ४० अर्ब २७ करोड रुपैयाँ बराबरको पाम तथा प्रशोधित तेल आयात भएको छ ।

यस्तै ३९ अर्ब ७२ करोड रुपैयाँको फलाम, ३२ अर्ब ७ करोड रुपैयाँको बोइलर मेसिन, ३४ अर्ब १३ करोड रुपैयाँको इलेक्ट्रिकल मेसिन, २९ अर्ब ३३ करोड रुपैयाँ बराबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

यस्तै २१ अर्ब ३५ करोड रुपैयाँको रासायनिक मल, १७ अर्ब ३ करोड रुपैयाँको प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु आयात भएको उल्लेख छ ।

  • यी हुन् सबैभन्दा बढी निर्यात हुने वस्तु 

सबैभन्दा धेरै निर्यात हुने वस्तुमा खाने तेल घिउजन्य वस्तु छ । यस्तो वस्तु ३५ अर्ब ३५ करोड रुपैयाँको निर्यात भएको विभागले जनाएको छ । यस्तै ३ अर्ब ८ करोड रुपैयाँ बराबरको चिया, कफी र मसलाजन्य वस्तु निर्यात भएको छ ।

४ अर्ब ७४ रुपैयाँ बराबरको तयारी कपडा, ३ अर्ब ३७ करोड रुपैयाँको धागो, २ अर्ब ८३ करोड रुपैयाँको गलैँचा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

  • १०४ वटा मुलुकसँग व्यापार घाटा 

विभागको तथ्याङ्कअनुसार निर्यातको हिस्सा भारी मात्रामा बढे पनि देशको व्यापार घाटा करिब चार खर्ब पुगेको छ । 

अघिल्लो वर्ष ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ व्यापार घाटा रहेकोमा चालु वर्ष १२.१८ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर व्यापार घाटा पुगेको विभागले जनाएको छ । 

नेपालको कुल व्यापार भएका १३२ मुलुकमध्ये १०४ वटा मुलुकसँग व्यापार घाटा भएको छ । यसमध्ये पहिलोमा भारत, दोस्रोमा चीन र तेस्रोमा अर्जेन्टिनासँग व्यापार घाटा भएको हो । भारतबाट २ खर्ब ५८ अर्ब ८७ करोड रुपैयाँको आयात हुँदा ५९ अर्ब १२ करोड रुपैयाँको भारततर्फ निर्यात भएको छ । करिब २ खर्ब रुपैयाँ बराबर भारतसँग व्यापार घाटा छ । 

यसैगरी चीनबाट १ खर्ब ४ अर्ब ८९ करोड रुपैयाँको आयात हुँदा नेपालबाट १८ करोड ६४ लाख रुपैयाँ बराबर निर्यात भएको छ । यसअनुसार चीनसँग नेपालको व्यापार घाटा १ खर्ब ४ अर्ब ७० करोड रुपैयाँ बराबर छ । 

अर्जेन्टिनासँग २७ अर्ब ८९ करोड रुपैयाँ बराबर व्यापार घाटा छ । अर्जेन्टिनाबाट २७ अर्ब ८९ करोड रुपैयाँ बराबरको आयात हुँदा ५ लाख ८८ हजार रुपैयाँको निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

यस्तै युएई, इन्डोनेशिया, ब्राजिल, थाइल्याण्ड, कतार, क्यानडा अष्टे«लिया जापानलगायत १०४ वटा मुलुकसँग नेपालको व्यापार घाटा छ । 

व्यापार नाफा हुने २८ मुलुकमध्ये अफगानिस्तान, डेनमार्क, रसिया, क्रमशः पहिलो, दोस्रो र तेस्रोमा छन् । अफगानिस्तानबाट २ लाख ३० हजार रुपैयाँको आयात हुँदा २८ करोड ४६ लाख ३१ हजार रुपैयाँको निर्यात भएको थियो । अफगानिस्तानसँगको व्यापारमा २८ करोड ४६ लाख रुपैयाँ नाफा भएको छ । यस्तै डेनमार्कसँग ८ करोड ८२ लाख ६१ हजार रुपैयाँ नाफा छ । रसियासँग ६ करोड ६६ लाख ९३ हजार रुपैयाँले व्यापार नाफामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप