बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धान भित्र्याउने बेला वर्षाले समस्या

मङ्गलबार, ११ कात्तिक २०८२, २२ : ३५
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • पाल्पाका किसानहरू वर्षाले धानबाली बिगारेपछि चिन्तित बनेका छन्, किनभने धान भित्र्याउने बेलामा पानी परेको थियो।
  • तिहारपछि काटेर खेतमै राखिएको धान पानीले भिजाएपछि किसानहरूले ठूलो क्षति व्यहोरेका छन्, जसले गर्दा उनीहरूको वर्षभरीको जोहो गर्ने सपना चकनाचुर भएको छ।
  • कृषि ज्ञान केन्द्रले क्षतिको विवरण सङ्कलन गरिरहेको छ, तर मौसम विभागले बिहीबारसम्म पानी पर्ने पूर्वानुमान गरेको छ, जसले थप क्षति पुर्‍याउन सक्ने सम्भावना रहेको छ।

पाल्पा । घर भित्र्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेपछि यहाँका किसान चिन्तित बनेका छन् । मानो रोपी फलाएको मुरी भित्र्याउने बेला काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि समस्या भएको छ । 

यहाँका विभिन्न फाँटमा पाकेका धान किसानले तिहार पर्व मनाएपछि काटेर खेतमै राखेका थिए, तर भित्र्याउन नपाउँदै पानी पर्‍यो । दिउँसो काटेको बाली राति परेको पानीले बर्बाद बनाएको माडीफाँटका किसान विक्रम कुमालले सुनाए ।

खहरेकी तारा रायमाझीले पनि खेतमा थुप्रो बनाएर राखिएको धान वर्षाका कारण भित्र्याउन नपाएको बताए । “बुधबार धान स्याहार्ने योजना बनाएको थिए । मंगलबार बिहानदेखि परेको पानीले भिजेको छ । तीन दिनपछि मात्रै  पानी आएको भए पनि धान भित्र्याइसक्थेँ”, उनले भने ।

यस्तै, अर्गेलीका भीम खनालको घर आँगनमा थुपारेको धान पनि भिजेर समस्या भएको छ । “सोमबार अलिकति धान स्याहारेका थियौँ, बाँकी मङ्गलबारलाई राखेका थियौँ, पानी आइहाल्यो”,उनले भने, “पानी परेकाले धान स्याहार्न  नसकिएको हो, आज आँगन भिजेको छ ।” 

पोखराथोककी मीना कुमालले अधियाँ गरेको जमिनमा मजदुर लगाएर रोपाइँ गर्नुभएको थियो, तर भित्र्याउने बेला पानीले क्षति पुर्‍याएपछि उनी चिन्तित छन्। “धान स्याहारेर वर्षभरिको जोहो गर्ने र बचेको धान बेचेर केटाकेटीको पढाइलगायत अन्य काममा खर्च गर्छु भन्ने सोच बनाएकी थिएँ, बेमौसमी वर्षाले सबै सपना चकनाचुर पारिदियो”, कुमालले भने, “दुःख गरेर फसल उब्जाए पनि स्याहार्न पाइँदैन, आफ्नो जग्गा छैन । ठेक्कामा लिएर काम गरे पनि प्रकृतिले ठग्छ । काटेर खेतमा राखेको धान खेतमै पानीले भिजायो ।”

बाली भित्र्याउने बेला पानीले क्षति पुर्‍याएपछि यहाँका अधिकांश किसान चिन्तित बनेका छन् । कतिपय किसानले तिहारअघि र कतिपयले पछि पाल्पाको रामपुर, माडी, झडेवा, कचल, पूर्वखोला, अर्गली, गेझालगायतका फाँटमा पाकेका धान भित्र्याँदै थिए । केहीले पानी पर्ने भन्दै हतारहतारमा धान काटे, तर आज बिहानैदेखि परेको वर्षाका कारण काटेको धानबालीमा क्षति पुग्यो । 

कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डेले जिल्लामा हालसम्म आठ प्रतिशत धान काटिसकिएको र वर्षा जारी रहेका कारण क्षतिको विवरण आइनसकेको बताउनुभयो । उनले जिल्लाका १० वटै पालिकाका कृषि इकाइमार्फत क्षति विवरण सङ्कलनका लागि आग्रह गरिएको बताए । 

केन्द्र प्रमुख पाण्डेले भनिन्, “स्थानीय तहले पहिलेदेखि नै पानी पर्ने सूचना गरेकाले ठुलो क्षति हुनबाट भने बचेको छ । के कति क्षति भयो भनेर जिल्लाका सबै पालिकाबाट विवरण सङ्कलन भएपछि विवरण सार्वजनिक गर्नेछौँ । ” 

बिहीबारसम्म पानी पर्ने मौसम विभागले जनाएकाले काटिसकिएको धानमा केही क्षति भने हुनसक्ने केन्द्रले जनाएको छ । 

जिल्लामा ३६ हजार ५३७ हेक्टरमा  धानखेती हुँदै आएकामा आठ हजार ६२० हेक्टरमा वर्षे धान, ७०५ हेक्टरमा चैते धान र २७ हजार २१२ हेक्टरमा अन्य खेती हुँदै आएको छ । यस वर्ष भने आठ हजार २१० हेक्टरमा मात्र वर्षे धान लगाइएको कृषि ज्ञानको तथ्याङ्क रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप