बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोहोरको समस्या

बञ्चरेडाँडाबासीलाई कुलमानले गराए ‘कुल’, बालेनले वास्ता गरेनन्

सोमबार, १७ कात्तिक २०८२, ११ : ००
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिबद्धता जनाए पनि बञ्चरेडाँडाका स्थानीयसँगको सम्झौता पालना नगरेको आरोप छ।
  • स्थानीयले फोहोर बोकेका गाडीलाई अवरोध गरेपछि सहरी विकास मन्त्रालयले बोलाएको बैठक निष्कर्षविहीन भयो।
  • मन्त्री कुलमान घिसिङले १५ दिनभित्र स्थानीयका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि फोहोर विसर्जन सुचारु भयो।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले २०७९ जेठ १४ गते शपथ ग्रहण गर्नुअघि नै सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल साइटको अवलोकन गरेका थिए । उनले त्यहाँका बासिन्दासँग छलफल गरी स्थानीय मुद्दा सम्बोधन गर्ने र परम्परागत विधिबाट फोहोर व्यवस्थापन नगर्ने आश्वासन दिएका थिए । 

बालेनले अव्यवस्थित फोहोरले सिसडोल क्षेत्रका हरेक घरमा क्यान्सर, छाला रोगका बिरामी भएको भन्दै अब यस्तो ‘पाप’ नगर्ने प्रतिबद्धता जनाएका थिए । पदबहाली गरेकै दिन कार्यपालिका बैठक राखेर मेयर, उपमेयरसहित वडाध्यक्षहरू राखेर दीर्घकालीन उपाय खोजी गर्न कार्यदल गठन गर्ने निर्णय पनि गराएका थिए । 

बालेनको प्रतिबद्धताको कारण बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका स्थानीय खुसी भएका पनि थिए । तर बालेन त्यसपछि फर्केर गएनन्, स्थानीयलाई समेत बेवास्ता गर्दै गए । अहिले बञ्चरेडाँडाका बासिन्दा सम्झौता पालना नभएको भन्दै आक्रोशित बनेका छन् । उनीहरूले फोहोर बोकेर गएका गाडीलाई अवरोध पुर्‍याएका छन् । 

  • १८ बुँदे सम्झौताको उल्लङ्घन र स्थानीयको आक्रोश

बालेन मेयरमा निर्वाचित हुँदा पनि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध भइरहेको थियो । त्यसपछि २०७९ साल जेठ २६ गते सहरी विकास मन्त्रालय र महानगरपालिकाले स्थानीयवासीका माग सम्बोधन गर्दै १८ बुँदे लिखित सम्झौता गरेका थिए । सम्बन्धित स्थानीय तह, सङ्घीय सरकार  र महानगरपालिकाबिच भएको १७५ औँ सम्झौता थियो । 

मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहितको हस्ताक्षरमा भएको यस सम्झौताका मुख्य बुँदाहरूमा फोहोरको दुर्गन्ध व्यवस्थापन एक महिनाभित्र, लिच्चडको वैज्ञानिक व्यवस्थापन दुई महिनाभित्र, फोहोर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने जस्ता आधारभूत वातावरणीय सुधारका विषय उल्लेख थिए । यद्यपि स्थानीयका अनुसार यीमध्ये कुनै पनि बुँदा कार्यान्वयन भएका छैनन् ।

फोहोर ढुवानीका लागि आवश्यक पूर्वाधार, बस्ती तथा बाटोको निर्माण र व्यवस्था तीन महिनाभित्र, पहिरो नियन्त्रण, सडक जग्गाको लगत कायम गर्ने लगायत सम्झौताका भौतिक काममा पनि महानगरले पर्याप्त ध्यान नदिएको स्थानीयको गुनासो छ । यस्तै, प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर सुधारका लागि सामाजिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम, शिक्षाको गुणस्तर वृद्धि, कृषि प्रवर्द्धन, हरियाली क्षेत्रको विकास गर्ने सम्झौता पनि कार्यान्वयनमा आउन सकेन । फोहोरलाई स्रोतमा वर्गीकरण गरी नकुहिने फोहोर मात्र ल्याउने भनिए पनि काठमाडौँ महानगरपालिकाले पूर्णरुपमा फोहोरको वर्गीकरण गर्न सकेको छैन ।

ककनी गाउँपालिका-३ का वडाध्यक्ष घननाथ बजगाईंले आक्रोश व्यक्त गर्छन्, ‘अहिले त लिच्चड मात्रै होइन, फोहोर नै सडकमा रहेको छ ।’

  • शुक्रबारको तनावपूर्ण बैठक र बालेनमाथि प्रश्न

फोहोर बोकेर गएका गाडी दुई दिनदेखि रोकिएपछि शुक्रबार सहरी विकास मन्त्रालयले बोलाएको छलफल सुरु हुने बित्तिकै तनावपूर्ण बनेको थियो । स्थानीय जनप्रतिनिधि र अगुवाहरूले सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाले समस्यालाई बेवास्ता गरेको भन्दै चर्को विरोध जनाए । ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले प्रधानमन्त्री कार्यालयले मुद्दा फिर्ता गर्ने निर्णय समेत कार्यान्वयन नभएको भन्दै अन्य कुरामा विश्वास गर्न नसक्ने बताएका थिए ।

स्थानीय प्रतिनिधि नीराजन सञ्जेलले बैठकमा सहरी विकास मन्त्रीलाई नै बञ्चरेडाँडाको भ्रमण गर्न आग्रह गर्दै आक्रोशपूर्ण भाषामा ‘अब हामी तपाईंहरूको कुरा सुन्ने अवस्थामा छैन । मेयर बालेन भागेर हिँडेका छन् । तपाईंहरूले खेलाँची नसम्झिनुहोस्,’ उनले चेतावनी दिएका थिए । ‘राज्यको गोली खाएर मर्न तयार रहेको’ समेत उनले बताएका थिए । 

स्थानीय युवाहरूले पनि मेयर बालेन शाहको अनुपस्थितिबारे प्रश्न गर्दै आफूहरू गोली खाएर मर्न तयार रहेको, तर फोहोरले रोग लागेर मर्न तयार नरहेको बताए । धुनीबेसी नगरपालिका-१ का वडाध्यक्ष नरोज तामाङले ‘मेयर बालेन शाह रातभर स्ट्याटस लेख्ने, तर दिनभर गायब हुने गरेको’ भन्दै आक्रोश पोखेका थिए ।   

मेयर बालेन स्थानीयसँग बोल्न समेत डराएको भन्दै लुकीलुकी हिँडेको बताएका थिए । उनले बञ्चरेडाँडामै वार्ता नभई फोहोर लैजाने चेष्टा गरेमा ‘जेनजी आन्दोलन भन्दा कडा हुन्छ’ भन्ने चेतावनी पनि दिएका थिए ।

छलफलमा काठमाडौँ महानगरपालिका वातावरण विभागकी प्रमुख सरिता राईले फोहोर वर्गीकरण, ट्रान्सफर सेन्टर स्थापना, दुर्गन्ध नियन्त्रणका लागि जीवांश छर्ने जस्ता कार्यहरू भइरहेको र चालु आर्थिक वर्षमा फोहोर व्यवस्थापनका लागि ४५ करोडभन्दा बढी बजेट रहेको जानकारी गराएकी थिइन् । यद्यपि, उनको भनाइलाई स्थानीय प्रतिनिधिहरूले अस्वीकार गर्दै बालेन खोज्दै चर्काचर्की गरेपछि बैठक निष्कर्षविहीन टुङ्गिएको थियो ।

  • कुलमानको ‘कुल’ हस्तक्षेप, बालेन बोलेनन् 

शुक्रबारको बैठक निष्कर्षविहीन भएपछि आइतबार नै सहरी विकास मन्त्री कुलमान घिसिङ स्वयम् बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गर्न पुगे । उनले स्थानीयका मागहरू १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ककनी गाउँपालिका-३ का वडाध्यक्ष घननाथ बजगाईंका अनुसार मन्त्री घिसिङले ‘स्थानीयको माग सम्बोधन १५ दिनभित्र भएन भने फोहोर फाल्न रोक्नुस्, तर अहिले नरोक्नुस्’ भनेपछि स्थानीयले फोहोर फाल्न दिएका हुन् ।

कुलमान घिसिङ सहित काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र वातावरण विभाग प्रमुख सरिता राईको टोली बञ्चरेडाँडामा पुगेर स्थानीयलाई आश्वस्त पारेपछि चार दिनदेखि अवरुद्ध फोहोर विसर्जन खुलेको छ ।  

बालेनले बेवास्ता गरेर हैरान भएका स्थानीयलाई कुलमान आफैँ गएर आश्वस्त पारेका थिए । जसकारण रोकिएको फोहोरको गाडी बञ्चरेडाँडा जान पाएको थियो । 

यसरी बालेन शाहको प्रतिबद्धता र त्यसपछिको उदासीनताका कारण बिग्रिएको अवस्थालाई सहरी विकास मन्त्री कुलमान घिसिङले व्यक्तिगत उपस्थितिका साथ १५ दिने अल्टिमेटम दिएर तत्कालका लागि ‘कुल’ पारेका छन्, तर बालेनको तर्फबाट भने ‘बाल’ नदिएको आरोप कायमै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप