माधव नेपाल नयाँ बाटो हिँडेपछि दोबाटोमै रामकुमारी
सारांश
- रामकुमारी झाँक्री नेकपा माओवादी केन्द्रसहितका कम्युनिस्ट पार्टीसँगको एकता प्रक्रियामा सामेल नहुने भएकी छिन्।
- एकीकृत समाजवादी तीन समूहमा विभाजित हुँदा अध्यक्ष माधव नेपाल माओवादीसँग एकताको लागि अघि बढेका छन् भने घनश्याम भुसाल पुनर्गठनको तयारीमा छन्।
- झाँक्रीले आफूलाई माधव नेपालले बीच बाटोमा छाडेको र आफू दोबाटोमा उभिएको बताइन्, र एमालेमा फर्किने संकेत गरिन्।
काठमाडौँ । २०७८ सालमा एमालेसँग माधव नेपालले विद्रोह गर्दै नेकपा (एकीकृत समाजवादी) गठन गर्दा नेता नेपाललाई काँध थाप्नेमध्येकी एक हुन्, नेतृ रामकुमारी झाँक्री । चार वर्षसम्म विभिन्न आरोप र आलोचना खेप्दै भएपनि उनै नेपाललाई काँध थापेकी झाँक्री हाल माधव नेपालले नेकपा माओवादी केन्द्रसहितका कम्युनिस्ट पार्टीसँग एकताको अन्तिम तयारी गर्दै गर्दा भने एकता प्रक्रियामा सामेल नहुने भएकी छन् ।
एकता प्रक्रियामा पनि सामेल नहुने, अर्को पार्टी पुनर्गठनमा पनि नलाग्ने र अनि पार्टी पनि नबनाउन नसक्ने भएपछि झाँक्री अहिले अलमल र दोधारमा अल्झिएकी छन् । एमालेको विद्यार्थी राजनीतिबाट उदाएकी उनी सांसद र मन्त्री भइसकेकी छन् ।
कुनैवेला एमाले र एकीकृत समाजवादीमा ‘पोस्टर गर्ल’का रूपमा परिचित झाँक्री २०७९ को निर्वाचनपछि भने खासै चर्चामा छैनन् ।
जनेजी विद्रोहपछि पार्टी एकताको निर्णयमा पुगेका माधव नेपालसहितका बहुमत केन्द्रीय सदस्यहरू तत्काल पार्टी एकताको पक्षमा उभिँदा झाँक्रीमात्र नभएर महासचिव घनश्याम भुसालसहितका अन्य केही नेताहरू पनि असन्तुष्ट भएर एकता प्रक्रियामा सामेल नहुने निष्कर्षमा पुगेका छन् ।
एकता प्रक्रियामा असन्तुष्ट भुसाल र सम्मानित नेता झलनाथ खनालसहितका नेताहरू पार्टी पुनर्गठनको पक्षमा उभिए पनि उनीहरुको प्रस्ट धारणा सार्वजनिक भैसकेको छैन । चार वर्षअघि क्रान्तिकारी पार्टी बनाउने उद्घोषसहित एमालेसँग विद्रोह गरेर गठन भएको एकीकृत समाजवादीका नेताहरू यतिवेला स्पष्ट रूपमा तीन समूहमा विभाजित देखिन्छन् ।
त्यसमध्ये अध्यक्ष माधवकुमार नेपाल समूह माओवादीलगायतका आठ पार्टीसँग एकताको लागि सहमतिपत्रमा हस्ताक्षर गरेर भोलि अर्थात कात्तिक १९ गते एकता घोषणा गर्दैछ । अर्को समूहका नेताहरू झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, विजय पौडेल र जीवनराम श्रेष्ठसहितका नेता पार्टी पुनर्गठनको तयारीमा छन् । उनीहरू पनि नेता नेपालले पार्टी एकता गर्ने दिन (कात्तिक १९) मै भविष्यमा गठन हुने पार्टीको घोषणापत्र तयार गर्न व्यस्त रहेका छन् । घोषणापत्रको मस्यौदा भुसाल आफैले तयार गरिरहेका छन् ।
‘भुसाल आफै घोषणापत्रको मस्यौदा तयार गर्न लाग्नुभएको छ’, भुसाल निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘बुधबार हामी आफ्नो धारणा प्रस्ट पार्छौँ ।’
एकीकृत समाजवादीको तेस्रो धार अर्थात रामकुमारी झाँक्रीको समूह माओवादीसहितका पार्टीमा हुन लागेको एकता प्रक्रियामा पनि सहभागी नहुने र घनश्याम भुसालले गर्ने पुनर्गठनमा पनि सहभागी नहुने पक्षमा छ । झाँक्रीको समूहमा धेरै नेता नभएपनि पूर्वमन्त्री किसान श्रेष्ठ, पूर्व सांसद अमरबहादुर थापा लगायत छन् । तर यो समूह के गर्ने कसो गर्ने भन्नेमा निर्णयमा पुग्न नसक्दा अन्योलमा रहेको देखिन्छ ।
‘माधव नेपालले हामीलाई बिच बाटोमा छाडेर जानुभयो, बिचल्ली बनाउनुभयो’, झाँक्री आफै भन्छिन्, ‘अहिले हामी दोबाटोमा उभिएका छौँ । दोबाटोमा उभिएको यात्रीले जता पनि जानसक्छ ।’
घनश्याम भुसाललाई पनि नेता मान्न झाँक्रीमा रुचि देखिँदैन । उनले आफू निकटस्थहरूसँग भन्ने गरेकी छन् ‘घनश्याम दाइ हाम्रो अभिभावक बन्नलाई न समयमा आउनुभयो, न समयमा निर्णय नै गर्नुभयो ।’ यो भनाइबाट उनी घनश्याम समूहमा नलाग्ने प्रस्ट सङ्केत बुझिन्छ ।
तीन समूहमा विभाजित एकीकृत समाजवादीका नेताहरूमध्ये तपाईँको यात्रा कता ? भनेर रातोपाटीले गरेको प्रश्नमा झाँक्रीको जवाफ छ, ‘अहिले छलफल र परामर्शमै छु, छौ । तत्काल के गर्ने भन्ने प्रश्नमा मेरो एउटै जवाफ छ, ‘एकता प्रक्रियामा सामेल नहुने ।’
एकता प्रक्रियामा सामेल नहुनेभएपछि झाँक्री समूहमा सामेल नेताहरूका लागि मूल त दुईवटा बाटा छन् । एउटा हो, आफैँ क्रान्तिकारी पार्टी बनाएर चलाउने । अर्को बाटो पुरानो पार्टी (एमाले)मा फर्कने । तर पुरानो घर फर्कौँ भन्नेमा पनि दुई धार छ । ‘त्यसमध्ये एउटा आजै फर्कौँ भन्ने छ भने अर्को केही समय हेरौँ भन्नेमा छ’, झाँक्री निकट स्रोतको भनाइ छ ।
तर राजनीतिमा व्यक्तिगत भन्दा पनि सामूहिक निर्णय आवश्यक हुने भएकाले सोही सिद्धान्त अनुसार निर्णयमा पुग्ने ती नेताको भनाइ छ । त्यसो त एकीकृत समाजवादीमा एकताको विपक्षमा उभिएका नेताहरूलाई लक्षित गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि आफूले बनाएको घरमा फर्कन आग्रह गरेका थिए । तर उनले सामूहिक नभएर व्यक्तिगत रूपमा आउनेलाई एमालेले स्वागत गर्ने सर्त समेत राखेका छन् । ओलीपछि महासचिव शङ्कर पोखरेलले पनि एमालेमा आउनेलाई नीति र नेतृत्वमा प्रश्न गर्न नपाइनेगरी आउनेलाई स्वागत गरिने बताएका छन् । सोमबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा पोखरेलले यस्तो सर्त राखेका हुन् । ‘आउनेलाई स्वागत छ तर नीति र नेतृत्वमा प्रश्न उठाउन पाइँदैन’, पोखरेलको भनाइ छ ।
‘हामी माओवादीलगायतका दलसँगको एकता प्रक्रियामा सहभागी नहुनेहरू सङ्गठित भएर एमालेमा फर्कने तयारीमा छौँ’, झाँक्रीले रातोपाटीसँगको अनौपचारिक संवादमा भनिन्, ‘समय कहिले भन्ने मात्र हो त्यो दिन ढिलो चाँडो अवश्य आउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण