बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नेपाली क्रिकेट

एकदिवसीय क्रिकेटमा किन खस्किँदै छ नेपालको प्रदर्शन ?

मङ्गलबार, १८ कात्तिक २०८२, १६ : ३६
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • आईसीसी विश्वकप लिग-२ मा नेपाली क्रिकेट टोलीको प्रदर्शन कमजोर बन्दै गएको छ, जसले ओडीआई मान्यता गुमाउने खतरा बढाएको छ।
  • नेपालले यूएईमा जारी सिरिजमा जित हासिल गर्न सकेको छैन, ब्याटिङमा सुधारको खाँचो रहेको छ ।
  • पूर्व प्रशिक्षक र प्रशिक्षकले टोलीको पुनरागमनको सम्भावना व्यक्त गर्दै ब्याटिङ, बलिङ र फिल्डिङमा सुधारको आवश्यकता औंल्याएका छन्।

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन पछिल्लो समय लगातार कमजोर बन्दै गएको छ । 

हाल नेपाली टोली यूएईमा लिग–२ अन्तर्गत आफ्नो पाँचौं त्रिदेशीय सिरिज खेलिरहेको छ । सिरिजका तीन खेलमा नेपालले हालसम्म जित हासिल गर्न सकेको छैन । 

नेपाल, अमेरिका र यूएई सम्मिलित यस सिरिजमा नेपाल दुई खेलमा अमेरिकासँग र एक खेलमा यूएईसँग पराजित भएको छ । नेपालले सिरिजको अन्तिम खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ । लिग–२ का अधिकांश खेलमा नेपालले कडा संघर्ष गरिरहेको छ । यसले गर्दा विश्वकप छनोटको सीधा मार्गमा पुग्न त टाढाको कुरा, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता गुमाउने खतरासमेत बढेको छ । 

यद्यपि लिगमा नेपालका धेरै खेलहरू बाँकी रहेकाले पुनरागमनको सम्भावना कायमै छ, तर अपेक्षा भने कमजोर बन्दै गएको छ । यसैबिच नेपाली टोलीका पूर्वप्रशिक्षक जगत टमटाले टोलीले छिट्टै पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाल पुलिस क्लबका प्रशिक्षक मञ्जित श्रेष्ठले भने, ‘यदि टोलीले ब्याटिङ पक्षमा सुधार गर्न सके आगामी दिनमा हुने लिग–२ मात्र होइन, अन्य एकदिवसीय खेलहरूमा पनि राम्रो प्रदर्शन गर्न सक्नेछ ।’

ब्याटिङको निरन्तर कमजोरी 

नेपाली क्रिकेट टोलीको ऐतिहासिक कमजोरी नै ब्याटिङ हो । लिग–२ का १८ खेल खेल्दा यो समस्या झनै प्रस्ट देखिएको छ । धेरै खेलहरूमा नेपाललाई २०० रन बनाउनसमेत हम्मे हम्मे पर्ने गरेको छ । ठुला लक्ष्य पछ्याउन नसक्ने र पहिले ब्याटिङ गर्दा पर्याप्त स्कोर खडा गर्न नसक्दा जितका लागि बलिङ र फिल्डिङमा अत्यधिक दबाब पर्ने गरेको छ । 

rohit-batting

‘धेरैजसो खेलमा नेपालले पहिले ब्याटिङ गर्दा २०० रन बनाउन पनि मुस्किल हुने गरेको छ,’ प्रशिक्षक मञ्जित श्रेष्ठ भन्छन्, ‘यो कमजोरीलाई सम्बोधन गर्नुपर्छ । कम्तीमा जिम्मेवार ब्याटिङ गर्दै लामो समयसम्म क्रिजमा टिक्न आवश्यक छ ।’

ओपनिङ जोडीले राम्रो सुरुवात गर्दा मध्यक्रमका ब्याटरहरूले साझेदारी बनाउन नसक्ने र एकपछि अर्को गर्दै विकेट गुमाउने समस्या छ । यसविपरीत मध्यक्रम सम्हालिन नसक्दा सुरुवाती ब्याटरहरूले राम्रो प्रदर्शन नगरेको पनि देखिएको छ । यसले गर्दा टोली ठुलो इनिङ्समा परिणत हुन सकेको छैन । 

ब्याटरहरूमा ठुला सट खेल्ने धुनमा एक–दुई रन लिँदै स्ट्राइक रोटेट गर्न नसक्ने बानी पनि देखिन्छ । यसले रन स्कोर कम हुने र दबाब बढ्दै जाँदा विकेट गुमाउने क्रम बढ्ने गरेको छ । महत्त्वपूर्ण खेल वा दबाबपूर्ण अवस्थामा सही निर्णय लिन नसक्ने, खराब सट सेलेक्सन गर्ने र सजिलै विकेट फाल्ने प्रवृत्ति पनि नेपाली ब्याटरमा देखिएको छ । 

ब्याटिङ लाइनअपमा निरन्तर अस्थिरता

ब्याटिङ लाइन–अपमा निरन्तरको अस्थिरता नेपाली टोलीको अर्को प्रमुख कमजोरी हो । यद्यपि, पिचको कन्डिसन र खेलको अवस्था हेरेर पनि ब्याटिङ क्रममा परिवर्तन हुने गर्दछ । विगतका धेरै खेलहरूमा नेपालले सानो लक्ष्यसमेत पछ्याउन नसकेको उदाहरण छन् । टप–अर्डरका ब्याटरहरू कुशल भुर्तेल र आसिफ शेख कहिलेकाहीँ राम्रो इनिङ खेले पनि त्यसलाई निरन्तरता दिन सकेका छैनन् । 

मध्यक्रममा अनुभवी खेलाडीहरूको अभाव र नयाँ खेलाडीहरूमा आत्मविश्वासको कमीले टोलीको रन बनाउने क्षमता घटेको छ । विदेशी पिचहरूमा स्विङ र बाउन्ससँग जुझ्न नसक्नु पनि अर्को प्रमुख कारण हो । प्राविधिक कमजोरीका कारण धेरै ब्याटरहरूले छिट्टै विकेट गुमाउँछन्, जसले टोलीमा दबाब बढाउँछ । 

cricket-player

‘ओपनिङ जोडीबाहेक तेस्रो वा चौथो नम्बरमा आउने ब्याटरको प्रदर्शनमा निरन्तरता कमै देखिन्छ । यसले गर्दा मध्यक्रममा लामो समयसम्म साझेदारी बन्न सकेको छैन,’ श्रेष्ठले भने । 

अन्तर्राष्ट्रिय सिरिजको कमी र मानसिक दबाब

लिग–२ का खेलहरू चलिरहे पनि नेपालले एकदिवसीय ढाँचामा नियमित रूपमा खेल्ने धेरै अवसर पाएको छैन । अन्य देशका खेलाडीहरूले द्विपक्षीय शृङ्खला वा अन्य प्रतियोगितामा धेरै अन्तर्राष्ट्रिय खेलहरू खेल्ने अवसर पाउँदा नेपाली खेलाडीहरूका लागि लिग–२ नै मुख्य अनुभव प्राप्त गर्ने माध्यम बनेको छ । यसले गर्दा फरक परिस्थिति र फरक टोलीसँग कसरी खेल्ने भन्ने अनुभवको कमी देखिन्छ । 

नेपाली टोलीका पूर्वप्रशिक्षक जगत टमटाले फरक अवस्थामा दबाबपूर्ण खेल खेल्न खेलाडीहरू अभ्यस्त हुनुपर्ने बताए । यसका लागि ठुला देशहरूसँग एकदिवसीय सिरिजहरू आयोजना गर्दा राम्रो हुने उनको भनाइ छ । ‘कहिलेकाहीँ नेपाली क्रिकेट समर्थकहरूको अत्यधिक मायाले टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा हुन्छ,’ टमटा भन्छन्, ‘यस्तो उच्च अपेक्षाले खेलाडीहरूमा मानसिक दबाब सिर्जना गर्छ । अझ त्यसमाथि फरक कन्डिसन र पिचले पनि खेलाडीलाई दबाब झेल्न गाह्रो हुन्छ ।’ 

बलिङको भेरियसन र फिल्डिङमा कमजोरी

नेपालको बलिङ सधैँ राम्रो मानिन्छ, तर लिग–२ मा केही कमजोरीहरू पनि देखिएका छन् । सन्दीप लामिछाने, सोमपाल कामीजस्ता केही प्रमुख बलरहरूमा टोलीको अत्यधिक निर्भरता देखिन्छ । जब यी बलरहरूले प्रदर्शन गर्न सकेनन् वा टोलीमा उपलब्ध भएनन् भने अन्य बलरहरूलाई दबाब झेल्न गाह्रो हुन्छ । 

तीव्र गतिका बलरहरूमा गति भए पनि त्यसको भेरियसनमा कमी र डेथ ओभरमा रन रोक्न नसक्ने समस्या नेपाली टोलीमा छ । स्पिनरहरूमा पनि केही हदसम्म यही समस्या देखिन्छ, जहाँ पिचले साथ नदिँदा उनीहरू दबाबमा पर्ने गर्छन् । 

nepal-batting

प्रशिक्षक मञ्जित श्रेष्ठले टोलीमा सबै खेलाडीले आ–आफ्नो भूमिका पूर्ण रूपमा निर्वाह गर्दै एक खेलाडीमा मात्र भर नपर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले सन्दीप, सोमपाल र करणजस्ता प्रमुख बलरहरूलाई कम दबाबमा राख्न अन्य खेलाडीले पनि राम्रो साथ दिनुपर्नेमा जोड दिए । ‘टोलीमा प्रमुख बलरहरू त छँदै छन्,’ श्रेष्ठ थप्छन्, ‘उनीहरूलाई साथ दिन पार्ट–टाइम बलरहरूको पनि मुख्य भूमिका हुन्छ । उनीहरू खरो उत्रिनुपर्छ ।’

नेपालले खेल्ने महत्त्वपूर्ण खेलहरूमा टोलीको फिल्डिङ सामान्यतः कमजोर देखिन्छ, यद्यपि यो मुख्य समस्या भने होइन । महत्त्वपूर्ण मिसफिल्ड र क्याच छोड्ने समस्याले गर्दा अतिरिक्त रन दिने र टोलीमाथि अनावश्यक दबाब बढाउने गरेको छ । 
 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप