मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
राजनीति

ओली, प्रचण्ड र माधवविहीन ‘कम्युनिस्ट’ पार्टीको होमवर्क

मङ्गलबार, १८ कात्तिक २०८२, १९ : ००
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • नेपालका वाम पार्टीहरू धु्रवीकरण, पुनर्गठन र पुस्तान्तरणको प्रयासमा जुटेका छन्।
  • विभिन्न वाम दलहरूबीच पार्टी एकताको घोषणा र पुनर्गठनको गृहकार्य भइरहेको छ।
  • नयाँ वाम शक्ति निर्माणको प्रयासमा नेताहरू ओली, प्रचण्ड र नेपालको नेतृत्वको आलोचना गर्दैछन्।

काठमाडौँ । लामो समयदेखिको उकुसमुकुस, खटपट र संघर्षका बिच नेपालका वाम पार्टीहरू धु्रवीकरण, पुनर्गठन र पुस्तान्तरणको तीव्र प्रयासमा जुटेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा लगायतका ८ दलबिच पार्टी एकताको घोषणा हुनलाग्दा ती दलबाटै एकता प्रक्रियामा नगएकाहरू पनि अलग–अलग ढंगले पार्टी पुनर्गठनको गृहकार्यमा जुटेका हुन् ।

कुशासन तथा भ्रष्टाचारले मुलुक आक्रान्त बन्दै गएका बेला वाम धु्रवीकरणपछि बन्ने पार्टीले लिने नीति, कार्यक्रम र कार्यदिशाका आधारमा उनीहरूलाई जनताले कति साथ दिने हुन्, त्यो भने समयले बताउला । बेरोजगारी, असमान अवसर तथा संस्थागत भ्रष्टाचारमा जोडिएका पुराना पार्टी र तिनका नेताहरूको गैरजिम्मेवार प्रवृत्तिसँग असहमत नेता र समूहहरूले त्योभन्दा भिन्न उद्देश्य र कार्यक्रमका साथ पार्टी पुनर्गठन गर्ने दाबी गर्दै आएका छन् ।

भदौ २३ र २४ को जेनजी विद्रोह हुनुमा समेत तिनै पुराना दल र नेताहरूको कार्यशैली, आचार र व्यवहार प्रमुख कारक बनेको निष्कर्ष निकालेका नेताहरूले पुनर्गठित ‘वाम शक्ति’ले उनीहरूको समेत भावना समेट्ने भएकाले साथ पाइने विश्वास व्यक्त गरेका छन् ।

यो अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मंगलबार नै ‘प्रगतिशील अभियान’ घोषणा गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरूसँग एकता प्रक्रियामा असहमति जनाएका शर्माले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रगतिशील अभियान घोषणा गरेका हुन् ।

प्रगतिशील अभियान घोषणा कार्यक्रममा सहभागी नेता राम कार्कीले अहिले चलिरहेको किनबेच र खरिदविक्रीको राजनीतिलाई समाप्त पार्दै प्रतिस्पर्धाको राजनीतिको परिकल्पना गरिएको बताए ।

‘नेपालमा अब तीन वटा फोर्स सँगसँगै जान्छ’, कार्कीले भने, ‘एउटा राणा–राजा फर्काउनुपर्छ भन्ने र यही यथास्थितिमा रैदलो गरेर खाइरहेका छन्, तर हाम्रो भनेको यसलाई बिस्तारै प्रतिस्थापन गर्ने ।’

नयाँ पिँढीलाई हेरेर आफूहरू अगाडि बढ्न लागेको कार्कीको भनाइ छ । ‘अबको राजनीतिक प्रतिस्पर्धा युवा पिँढीको हो । त्यसमा गरिब, महिला, उत्पीडित, दलितको आवाज गुञ्जाउने छन्’, कार्कीको भनाइ छ ।

यता बुधबार दिउँसो माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा महासचिव चिरन पुनको समूह, नेकपा समाजवादी, ने.क.पा. माओवादी समाजवादी र ने.क.पा साम्यवादीबिच एकता घोषणा हुँदैछ । उनीहरूबिच एकता घोषणका लागि सहमति भइसकेको छ भने काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा सभाको आयोजना गरिसकेका छन् ।

बुधबार नै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले त्रिपुरेश्वरमा विशेष घोषणा कार्यक्रम राखेका छन् । शर्मा र भुसाल समूहले प्रकारान्तरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग समेत सहकार्य र पार्टी एकता गर्ने उनीहरूको भनाइ छ ।

‘सहकार्य गर्ने कुरामा विप्लवजी, घनश्यामजीलगायत थुप्रैसँग हुन्छ’, अभियानका नेता शर्माले भने, ‘हामीले प्रगतिशील अभियान भनेका छौँ । त्यहाँ सीमित र सानो घेरामा कैद गर्न चाहदैनौँ । लोकतन्त्रमा आधारित विधि मूल्यलाई स्विकार्दै समावेशीताको पक्षमा लाग्ने सबैलाई सहभागी र सहयात्री बनाउँछौँ ।’

शर्माले अभियानका क्रममा हतारमा पार्टी बनाएर केही समयपछि धारे हात लाउनतिर नलाग्ने दाबी गरे ।

शर्मा, भुसाल र चन्द वैकल्पिक वाम शक्ति निर्माणको प्रयासमा छन् । नेतात्रयले अहिले भइरहेका ठुला कम्युनिस्ट पार्टीका नेतृत्वकर्ता केपी शर्मा ओली, माधव नेपाल र प्रचण्डहरूले नै नेपालको वाम आन्दोलनलाई भ्रष्टीकरण गरेको भन्दै नेपालको वाम आन्दोलन पुनर्गठन र रुपान्तरण गर्न आवश्यक रहेको बताउने गरेका छन् ।

‘ओली, प्रचण्ड र नेपालविनाको वाम एकता आजको आवश्यकता हो’, घनश्याम भुसाल निकट एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य दामोदर अर्यालले भने, ‘जनार्दनको विद्रोहपछि यसका सकारात्मक संकेतहरू देखिएका छन् ।’ उनले प्रचण्ड–माधवको एकतालाई ‘अभियुक्त गठजोड’को संज्ञासमेत दिए ।

त्यसो त ओली, प्रचण्ड र नेपालहरू करिब चार दशकदेखि निरन्तर पार्टी सत्ता र सरकारको नेतृत्वमा पुग्दै आएका छन् । तर, उनीहरूले न त कम्युनिस्ट पार्टीको विचार, सिद्धान्त र देश विकास गर्ने ठोस अवधारणा नै बनाउन सकेका छन्, न बढ्दो बेरोजगारीको समाधान, मूल्य नियन्त्रण र सुशासनको अभ्यासमै ध्यान पुर्‍याउन सकेका छन् ।

बरु त्यस विपरीत पुँजीवादको पक्षपोषण गर्दै धनी र गरिबबिचको खाडल फराकिलो बनाउन उद्यत छन् । फलस्वरुप आम नागरिकको चाहना, भावना र हित विपरीत पार्टीगत र व्यक्तिगत स्वार्थलाई केन्द्रविन्दुमा राखेपछि पछिल्ला दिनमा उनीहरूप्रतिको आकर्षणमा क्रमशः ह्रास आएको तिनका सहयात्रीहरूले नै वाम पुनर्गठनको प्रयास गरेबाटै पुष्टि गरेको छ ।

‘ओली, प्रचण्ड, माधव लामो समय पार्टी सत्तामा बसे । किन बसेभन्दा आफ्ना दासहरूलाई केन्द्रीय सदस्य बनाएर बहुमत प्राप्त गर्ने र सरकारमा जानेबाहेक उनीहरूको अरु उद्देश्य देखिएन’, नेता अर्यालले भने, ‘यस प्रवृत्तिको विरुद्ध तीन वटै पार्टीमा विद्रोह गर्नुपर्ने आवश्यकता भयो ।’

  • भुसाल, शर्मा र चन्दले कस्तो पार्टी बनाउँछन् ?

अहिलेको आवश्यकता जनभावनाअनुसार चल्ने पार्टी र नेतृत्व हो । युवा, किसान, मजदुर, दलित, पिछडिएका तथा अवसरमा पछि परेकाहरूको समेत सहभागितामा बन्ने नयाँ पार्टीले पुराना पार्टी र तिनका नेताहरूले लिँदै आएको नीतिभन्दा अलग पहिचान बनाउन चुनौती भने अवश्य छ । पार्टी पुनर्गठनमा लागेका नेताहरूका अनुसार अब बन्ने पार्टी वा वाम शक्ति भ्रष्टाचार नगर्ने पार्टी बन्ने छ । पार्टीमा रहेको कुनै नेता वा कार्यकर्ताले गल्ती गर्ने वा दाग लाग्ने बित्तिकै उसको सदस्यता टुट्नेछ ।

‘कुनै मुद्दा लाग्यो वा समाजमा बदनाम भयो अथवा ऊमाथि प्रश्न उठ्यो भने तत्काल त्यस्तो व्यक्ति आउट हुन्छ’, नेता घनश्याम भुसालले तयार गर्दै गरेको प्रतिवद्धतापत्रमा समेटिएको छ । ‘जस्तो मलाई कुनै एउटा महिलाले केही आरोप लगाइन् भने म आउट हुनुपर्‍यो र पछि सफाइ पायो भनेमात्र फर्कन पाउँछु । भ्रष्टाचारको आरोप लाग्यो भने तत्काल बाहिर बस्ने, पछि सफाइ पायो भने फर्कन मिल्ने हुन्छ’, भ्रष्टाचार नगर्ने पार्टीका रुपमा पहिचान बनाउने मुख्य प्रयत्न हुने ती नेताको भनाइ छ ।

त्यस्तै मुलुकमा औद्योगिकीकरणको विकास र त्यही माध्यमबाट रोजगारी सिर्जना गर्ने उद्देश्य पुनर्गठित पार्टीको अर्को लक्ष्य र उद्देश्य हुनेछ । तेस्रो कुरा, पार्टीमा लागेका नेता र कार्यकताहरू आर्थिक पारदर्शिता अनिवार्य हुनेछ ।

‘यदि म पार्टीको पोलिटब्युरो सदस्य छु भने पार्टीमा देखाउनु पर्छ कि मैले चामल कहाँबाट खाँदैछु भन्ने कुरा’, अर्का एक नेताले भने, ‘शिक्षा र स्वास्थ्यको निजीकरणलाई दुरुत्साहन हुनुपर्छ । व्यवसायी र व्यापारीलाई पार्टीमा स्थान नै हुँदैन ।’

त्यस्तै कृषिमा आधारित जनताको लगानीको सुनिश्चितता, निजी अस्पताल र निजी शिक्षाको साटो सार्वजनिक अस्पताल र विद्यालयको सेवा र गुणस्तर सहज र भरपर्दो बनाउने उद्देश्य नवगठित पार्टीले बोक्ने ध्रुवीकरणमा सहभागी नेताहरूको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप