बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

बिहीबार, २० कात्तिक २०८२, ०० : २२
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • इलाममा अविरल वर्षाका कारण पाक्न लागेको धानबालीमा क्षति पुगेको छ, जसले किसानलाई चिन्तित बनाएको छ।
  • माङसेबुङ र फाकफोकथुम लगायतका क्षेत्रका किसानले धानबालीमा ५० प्रतिशतसम्म क्षति भएको गुनासो गरेका छन्।
  • जिल्लाको तल्लो क्षेत्रमा लगाइएको धानबालीमा कात्तिके वर्षाले क्षति पुर्‍याएको र उन्नत जातका धानखेतीमा समेत नोक्सानी भएको छ।

इलाम । इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानहरू चिन्तित भएका छन् । गत कात्तिक १३ देखि १५ सम्मको अविरल वर्षाले जिल्लाको दश वटै पालिकामा पाक्न लागेको धानबालीमा क्षति गरेपछि  किसानहरू चिन्तित भएका हुन् । 

पाक्न लागेको धानबालीमा वर्षाले क्षति गरेको माङसेबुङ गाउँपालिका–३ सिङलाबुका किसान मनिस सुनुवारले बताए । “मेरो १५ रोपनी क्षेत्रमा लगाएको धानबाली ढलेर सोतर भएको छ”, उनले भने,  “प्रमुख बालीको रुपमा लगाउँदै आएको धान ढलेर सोतर भएपछि समस्या पर्ने चिन्तामा छु ।”

निरन्तरको वर्षाले खेतमा पाक्न लागेको धानबाली सबै लडाएर अपूरणीय क्षति भएको अर्का किसान आइन्द्र योङहाङको दुखेसो छ । “धान भित्र्याउने बेला वर्षाले सबै जमिनमै मिलाइदिएको छ”, उनले भने, “बेला न कुबेला आएको वर्षाले किसानलाई मारमा पार्‍यो ।”

खेतमा ढलेर करिब ५० प्रतिशत धानबालीमा क्षति पुगेको उनको भनाइ छ । माङसेबुङका सयौँ किसानको धानबालीमा क्षति पुर्‍याएको छ । उता फाकफोकथुम गाउँपालिकामा पनि वर्षाले सयौँ किसानको धानबालीमा क्षति पुगेको किसानहरुको दुखेसो गरेका छ ।  फाकफोकथुम–७ का पञ्च योङहाङले पाक्नै लागेको धानबाली लगातारको वर्षाले सबै ध्वस्त बनाएको बताए । “निरन्तर परेको पानीले सबै खेतको धान पूरै भाँचिएर जमिनमा मिलाइदिएको छ”, उनले भने, “हिउँदमा समेत बर्खामा झैँ परेको पानीले किसानलाई बिजोग बनायो ।”

जिल्लाको तल्लो क्षेत्रका किसानले लगाएको धान पाक्न लागेको बेलामा कात्तिके वर्षाले व्यापक क्षति गरेपछि किसानहरू चिन्तित बनेका छन् । इलामको तल्लो क्षेत्रअर्थात् चुलाचुली गाउँपालिका, माई नगरपालिका तथा माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका र देउदेमाई, इलाम र सूर्योदय नगरपालिकाका तल्लो क्षेत्रमा धानखेती हुनेगरेको छ ।

यहाँको माई नगरपालिका र रोङ गाउँपालिका किसानले उन्नत जातको सावित्री र रञ्जित खेती गर्ने गर्छन् । अन्य क्षेत्रका किसानले रैथाने बेलकुटी, चिराखे, अटे, चुल्ठे, भँगेरे, टिमुरे, बयर्नी, रामतुलसी, रुदुवा, नानिया, चम्पासरी, तापमारालगायत जातका धानखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रविकिरण अधिकारीले बताए ।

इलामको माई र इलाम नगरपालिका सहित चुलाचुली गाउँपालिकामा सबैभन्दा धेरै धानखेती हुँदै आएको छ । इलाममा १४ हजार ८१५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप