बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग खेलाडी

यी हुन् काठमान्डु गोर्खाजले अनुबन्ध गरेका ६ विदेशी खेलाडी

शुक्रबार, २१ कात्तिक २०८२, १७ : ३६
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • काठमाडौं गोर्खाजले एनपीएल क्रिकेटको दोस्रो सिजनका लागि ६ जना विदेशी खेलाडी अनुबन्ध गरेको छ।
  • रिकार्डो भास्कोनेसेलोस, जेर्हाड इरसमस, मिलिन्द कुमार, बेन चार्ल्सवर्थ, जोहन सिम्पसन र सन्नी पटेललाई टिममा समावेश गरिएको छ।
  • सन्नी पटेल नेपाली क्रिकेटमा लोकप्रिय अलराउन्डर हुन्, उनले विभिन्न फ्रेन्चाइज लिग जितेका छन्।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि काठमान्डु गोर्खाजले आफ्ना सबै विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । योसँगै ६ जना नै विदेशी खेलाडी अनुबन्ध गर्ने काठमान्डु गोर्खाज पहिलो टोली बनेको छ ।

काठमान्डुले पहिलो विदेशी खेलाडीका रूपमा विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई भित्र्याएको थियो भने छैटौँ तथा अन्तिम खेलाडीका रूपमा सन्नी पटेललाई अनुबन्ध गरेको छ ।

यी हुन् काठमान्डु गोर्खाजले अनुबन्ध गरेका विदेशी खेलाडीहरू 

रिकार्डो भास्कोनेसेलोस

काठमान्डु गोर्खाजले पहिलो खेलाडीका रूपमा अनुबन्ध गरेका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका हुन् । उनले दक्षिण अफ्रिकाको यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । घरेलु क्रिकेटमा उनले बोल्यान्डबाट प्रथम श्रेणीमा डेब्यु गरेका थिए । हाल इङ्ल्यान्डमा घरेलु क्रिकेट खेल्दै आएका रिकार्डो नर्थम्टनसायरबाट काउन्टी क्रिकेटका साथै भाइटालिटी ब्लास्ट खेलिरहेका छन् । उनी यो टोलीका कप्तान पनि थिए । 

दुई महिनाअघि सम्पन्न भाइटालिटी ब्लास्टको २०२४ संस्करणमा रिकार्डोले १४२ भन्दा माथिको स्ट्राइक रेटमा १५ खेलमा ३४२ रन बनाएका थिए । समग्रमा उनले भाइटालिटी ब्लास्टमा कुल ६० खेलमा १२७ भन्दा माथिको स्ट्राइक रेटमा १४ सय ४६ रन बनाइसकेका छन् ।

जेर्हाड इरसमस

नामिबियाका कप्तान जेर्हाड इरसमस लगातार दोस्रो वर्ष काठमान्डु गोर्खाजबाट खेल्दैछन् । सन् २०१९ देखि नामिबियाको नेतृत्व गर्दै आएका इरसमसले सन् २०२३ र २०२४ का लागि आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कार जितेका थिए । सन् २०२३ को प्रदर्शनमा उनले कीर्तिपुरमा नेपालविरुद्धको विश्व क्रिकेट लिग २ को खेलमा २८ रन खर्चेर ५ विकेट लिएका थिए, जुन उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो । सोही वर्ष उनले चार अर्धशतक प्रहार गरेका थिए, जसमा वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा स्कटल्यान्डविरुद्धको खेलमा ३१ बलमा ५२ रनको योगदान थियो । इरसमसले वर्ष २०२४ मा टी–२० अन्तर्राष्ट्रियमा कुल १८ विकेट लिएका थिए ।

एनपीएलको पहिलो संस्करणमा काठमान्डु गोर्खाजको उपकप्तानको भूमिकामा रहँदा उनले ७ खेलमा १३७ भन्दा माथिको स्ट्राइक रेटमा ११० रन बनाउनुका साथै ११.९० को औसतमा ११ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मिलिन्द कुमार

काठमान्डु गोर्खाजले तेस्रो विदेशी खेलाडीका रूपमा अमेरिकाका ब्याटर मिलिन्द कुमारलाई अनुबन्ध गरेको छ । ३४ वर्षीय मिलिन्दले दुबईमा भएको नेपाल सहभागी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले सन् २०११ मा दिल्लीबाट रणजी ट्रफीमा डेब्यु गरेका थिए र पछि सिक्किम तथा त्रिपुराबाट पनि भारतको घरेलु क्रिकेट खेले । मिलिन्द दुई पटक इन्डियन प्रिमियर लिग (आईपीएल) टोलीमा समावेश भएका थिए । सन् २०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र २०१९ मा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले २० लाख बेस प्राइसमा उनलाई अनुबन्ध गरेको थियो, तर उनले आईपीएल खेल्न भने पाएनन् ।

सन् २०२१ मा माइनर लिग क्रिकेट हुँदै उनी अमेरिकी क्रिकेटमा स्थापित भए । पछिल्ला तीन सिजनदेखि उनले अमेरिकाको मेजर लिग क्रिकेटमा टेक्सास सुपर किंग्सबाट खेल्दै आएका छन् । नेदरल्यान्ड्सको द हेगमा क्यानडाविरुद्ध खेल्दै उनले अमेरिकाबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । सेप्टेम्बर २०२३ मा मिलिन्दले नामिबियाको विन्डहकमा नामिबियाविरुद्ध अविजित ७४ रन र यूएईविरुद्ध अविजित १५५ रन बनाएका थिए ।

बेन चार्ल्सवर्थ

एनपीएलका लागि काठमान्डु गोर्खाजले चौथो विदेशी खेलाडीका रूपमा बेन चार्ल्सवर्थलाई भित्र्याएको छ । २४ वर्षीय बायाँहाते ब्याट्सम्यान र दायाँहाते बलर यी अलराउन्डर ग्लोसेस्टरसायरबाट इङ्लिस काउन्टी क्रिकेट खेल्दै आएका छन् ।

चार्ल्सवर्थले १७ वर्षको उमेरमा ग्लोसेस्टरसायरबाट प्रथम श्रेणीको क्रिकेटमा डेब्यु गरेका थिए । त्यसयता उनी निरन्तर सोही टोलीबाट काउन्टीमा खेल्दै आएका छन् । उनले ५७ खेलमा ३१ भन्दा माथिको औसतमा २७५४ रन बनाएका छन्, जसमा ४ शतक र १५ अर्धशतक समावेश छन् । यसैक्रममा उनले ३० विकेट पनि लिएका छन् ।

चार्ल्सवर्थ २८ लिस्ट ‘ए’ खेलमा १ हजार रनको आँकडा छुने नजिक छन् । टी–२० मा उनले ४४ खेलमा ३ अर्धशतकसहित १४५ भन्दा माथिको स्ट्राइक रेटमा ७७६ रन बनाएका छन् । उनका सबै टी–२० खेल भाइटालिटी ब्लास्टका हुन् । इङ्ल्यान्डबाट यू–१९ मा प्रतिनिधित्व गरिसकेका चार्ल्सवर्थ गत सिजन यूएईको आईएल टी–२० मा एमआई इमिरेट्सको टोलीमा थिए ।

जोहन सिम्पसन

इङ्ल्याण्डको राष्ट्रिय टोलीबाट खेलिसकेका जोहन सिम्पसनलाई काठमान्डु गोर्खाजले पाँचौँ विदेशी खेलाडीका रूपमा भित्र्याएको छ । ३७ वर्षीय सिम्पसनले इंग्ल्यान्डबाट ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।  सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा उनले यी सबै ३ खेल खेलेका थिए । लर्ड्समा पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा सिम्पसनले १७ रन बनाउनुका साथै ५ क्याच लिएका थिए ।

सिम्पसनसँग इङ्ल्यान्डको घरेलु क्रिकेटमा ५४२ खेलमा १६ हजार ५ सयभन्दा बढी रन बनाएको अनुभव छ । २२९ प्रथम श्रेणीका खेलमा उनले १९ शतकसहित ११ हजार ३ सय ५१ रन बनाएका छन् । सेप्टेम्बरको अन्तिम सातामा उनले ससेक्सको कप्तानी गर्दै वोरसेस्टरसायरविरुद्ध प्रथम श्रेणीमा अविजित १२९ रन बनाएका थिए, जुन उनको पछिल्लो खेल थियो ।

त्यस्तै, उनले ११५ लिस्ट ‘ए’ खेलमा १२ अर्धशतकसहित २ हजारभन्दा बढी रन बनाएका छन् । टी–२० मा उनले १९५ खेलमा झन्डै १३० को स्ट्राइक रेटमा ३ हजारभन्दा माथि रन बनाएका छन् । ससेक्सअघि उनले मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलेका थिए । उनले द हन्ड्रेडमा लान्कशायर स्पिरिट र नर्दन सुपरचार्जर्सबाट खेल्दै आएका छन् । सन् २००९ देखि भाइटालिटी ब्लास्टमा सक्रिय छन् ।

सन्नी पटेल

नेपाली क्रिकेटमा निकै लोकप्रिय अलराउन्डर सन्नी पटेललाई काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि छैटौँ तथा अन्तिम खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

पटेल नेपालको फ्रेन्चाइज क्रिकेटमा लोकप्रिय नाम हुन् । उनले सन् २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेका थिए । डीपीएलमा उनी महेन्द्रनगर युनाइटेडविरुद्ध प्लेयर अफ द फाइनल बन्दै प्लेयर अफ द सिरिजमा चुनिएका थिए ।

भारतको गुजरातबाट रणजी ट्रफी खेलेका ३८ वर्षीय पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् । गत अक्टोबरमा उनले एटलान्टा फायरलाई माइनर लिग क्रिकेटको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए, जहाँ उनले १० खेलमा १६ विकेट लिएका थिए । च्याम्पियन एटलान्टा टोलीका प्रशिक्षक मोन्टी देसाई थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप