बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
उद्यम

बझाङको विकट गाउँमा १० किसिमका साबुन उत्पादन गर्दै महिला

शनिबार, २२ कात्तिक २०८२, २० : ००
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • बझाङको दुर्गम गाउँकी पुतलीदेवी थापाले साबुन बनाउने तालिम लिएपछि गाउँमै उद्योग सुरु गरिन्।
  • थापागाउँ साबुन उद्योगले स्थानीय कच्चा पदार्थ प्रयोग गरी विभिन्न प्रकारका जडीबुटी साबुन उत्पादन गर्छ।
  • उद्योगले आधुनिक मेसिन र बजार विस्तार गर्दै लाखौंको कारोबार गरेको छ, र अन्य महिलालाई पनि रोजगारी दिएको छ।

धनगढी । बझाङको थलारा गाउँपालिका–१ को विकट गाउँकी ४० वर्षीय पुतलीदेवी थापाको दैनिकी दुई वर्ष अघिसम्म घाँस–दाउरा, मेलापात र घरधन्दामा सीमित थियो । पाखो जमिनको थोरै उब्जनीले परिवार पाल्न धौ–धौ भएपछि उनका श्रीमान् भारतको बैंगलुरुमा पसिना बगाउन बाध्य थिए ।

करिब डेढ वर्षअघि पाएको एउटा तालिमले उनको जीवनको बाटोमात्र होइन, गाउँमै बसेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण स्थापित गरिदिएको छ । हाल पुतलीदेवी आफ्ना दुई सहकर्मी बिरमा थापा र पुनी थापासँग मिलेर ‘थापागाउँ साबुन उद्योग’की एक उद्यमीका रूपमा चिनिएकी छन् ।

यो यात्राको सुरुवात भएको थियो प्रगतिशील युवा समाजले थलारा गाउँपालिका–४ मनानधारामा आयोजना गरेको सातदिने तालिमबाट । सेती नदीपारिको दुर्गम गाउँका करिब २५ जना कृषक सहभागी उक्त तालिमको विषय थियो– स्थानीयस्तरमा पाइने कच्चा पदार्थबाट साबुन बनाउने ।

तालिममा सहभागी भएपछि पुतलीदेवीले पहिलो पटक थाहा पाइन्– गाउँघरको जङ्गल र बारीमा त्यसै खेर गइरहेका चिउरी, घिउकुमारी, सिस्नु, माटो र खरानीजस्ता वस्तुबाट नुहाउनेदेखि भाँडा माझ्नेसम्मका विभिन्न किसिमका साबुन बनाउन सकिन्छ ।

‘चिउरीको तेल र पिनाले हाडजोर्नी दुखेको निको पार्ने औषधीय साबुन बन्छ, घिउकुमारीले अनुहारको चायापोतो हटाउँछ भन्ने कुरा सुन्दा मलाई अचम्म लाग्यो,’ पुतलीदेवी सम्झिन्छिन्, ‘गाउँमा त्यसै खेर जाने वस्तुको यत्रो महत्त्व रहेछ भन्ने थाहा पाएपछि यो काम गर्नैपर्छ भन्ने लाग्यो ।’

तालिम सकियो, तर २५ जनामध्ये अधिकांशका लागि यो सात दिनको एउटा कार्यक्रममात्र बन्यो । ‘यस्तो झन्झट कसले गर्छ ? के नै होला र ?’ भन्दै अरू पन्छिए । तर, पुतली, बिरमा र पुनीले भने यसलाई अवसरको रूपमा लिए । उनीहरूले ‘थापागाउँ साबुन उद्योग’ दर्ता गरेर तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्ने अठोट गरे ।

सुरुवाती दिन निकै चुनौतीपूर्ण थिए । आधुनिक उपकरण थिएनन् । उनीहरू तीनै जना मिलेर गाउँ–गाउँ डुल्दै चिउरीको तेल किन्थे, भिरमा गएर खरीढुंगा खोज्थे र जङ्गलबाट सिस्नु काटेर ल्याउँथे । सबैभन्दा कठिन काम थियो– यी कच्चा पदार्थलाई मसिनो धुलो बनाउनु ।

मेसिन नहुँदा दिनभरि पालैपालो ओखलमा पिस्नुपर्थ्यो ।

‘दिनभरि ओखलमा पिस्दा हात दुख्थे, नङ्ग्राहरू सबै खिइए,’ पुतलीदेवी ती दिन सम्झँदै भन्छिन्, ‘हामीले हिम्मत हारेनौँ ।’

1000047239

उनीहरूको यही लगन र मेहनतले बिस्तारै रङ ल्याउन थाल्यो । पहिलो चरणमा उत्पादन गरेका तीन सय साबुन सदरमुकाम चैनपुरको सिलादेवी मेलामा राख्दा २९० वटा बिक्री भए, जसबाट उनीहरूले १४ हजार ५३० रुपैयाँ आम्दानी गरे । यो सानो सफलताले उनीहरूलाई ठुलो हौसला दियो ।

विगत दुई वर्षको अवधिमा यो उद्योगले व्यावसायिक फट्को मारेको छ । जहाँ पहिले ओखलको आवाज सुनिन्थ्यो, हाल आधुनिक मेसिनको घरघराहट सुनिन्छ ।

संस्थाको सहयोगमा हालै उनीहरूले करिब ५ लाख रुपैयाँ बराबरको नयाँ मेसिन पाएका छन् । यसमा खरीढुंगा पिस्ने चक्की मेसिन, साबुनलाई आकारमा काट्ने कटिङ मेसिन, र साबुनमा नाम र ब्रान्ड छाप्ने ‘डाइ’ मेसिन समावेश छन् । यी मेसिनले उत्पादनको गति र गुणस्तर दुवैलाई आकाश–पातालको फरक पारेको छ ।

उद्योगको लगानी र सम्पत्ति पनि लोभलाग्दो तरिकाले बढेको छ । साबुन बनाउनकै लागि बनाइएको नयाँ घर, आधुनिक मेसिन र कच्चा पदार्थसहित उद्योगको कुल सम्पत्ति करिब १० लाख रुपैयाँ पुगेको छ । हालसम्म उनीहरूले डेढ लाख रुपैयाँभन्दा बढीको साबुन विक्री गरिसकेका छन् ।

हाल थापागाउँ साबुन उद्योगले १० किसिमका फरक–फरक जडीबुटी साबुन उत्पादन गर्छ । उनीहरूको उत्पादन सूचीमा चिउरी, घिउकुमारी, सिस्नु, अल्लो, गाँजा, सोत्रो, तितेपाती, लालीगुराँस, कोइरालो र धायाजस्ता रैथाने जडीबुटीबाट बनेका साबुन छन् ।

उत्पादन विविधीकरणसँगै उनीहरूले ब्रान्डिङ र प्याकेजिङमा पनि व्यावसायिकता अपनाएका छन् । पहिले सामान्य प्लास्टिकमा पोको पारिने साबुन अहिले आकर्षक कभरमा प्याक हुन्छन्, जसमा साबुनको प्रकार, फाइदा र प्रयोग भएका सामग्रीबारे स्पष्ट जानकारी लेखिएको हुन्छ ।

उद्योगको लगानी र सम्पत्ति पनि लोभलाग्दो तरिकाले बढेको छ । साबुन बनाउनकै लागि बनाइएको नयाँ घर, आधुनिक मेसिन र कच्चा पदार्थसहित उद्योगको कुल सम्पत्ति करिब १० लाख रुपैयाँ पुगेको छ । हालसम्म उनीहरूले डेढ लाख रुपैयाँभन्दा बढीको साबुन विक्री गरिसकेका छन् ।

उनीहरूको बजार अब स्थानीय हाटबजारमा मात्र सीमित छैन । साबुनको गुणस्तर र औषधीय महत्त्व बुझेका ठुला कर्मचारी र स्वास्थ्यप्रति सचेत व्यक्तिहरूले समेत उनीहरूको उत्पादन खोज्न थालेका छन् । साबुनको मूल्य पनि प्रतिगोटा ५० देखि ७० रुपैयाँभन्दा माथि पुगेको छ । उनीहरूको मेहनतले उचित सम्मान पाएको छ । गुणस्तर सुनिश्चितताका लागि उनीहरूले उत्पादनको नमुना प्रदेश प्रयोगशालामा परीक्षणका लागि पठाएका छन् र उद्योगलाई मन्त्रालयमा दर्ता गर्ने प्रक्रिया पनि अगाडि बढाएका छन् ।

आफ्नो सिपलाई अझ तिखार्न पुतलीदेवीले भर्खरै काठमाडौँमा एक विशेषज्ञसँग एक दिने उन्नत तालिम लिने अवसर पनि पाइन् । यसले उनलाई उत्पादनको गुणस्तर अझै सुधार्न र नयाँ प्रविधिबारे सिक्न ठुलो मद्दत गरेको छ ।

यो सफलताको पछाडि यी तीन महिलाको लगनशीलताका साथै विभिन्न निकायको सहयोग पनि उत्तिकै महत्त्वपूर्ण छ । प्रगतिशील युवा समाजले सुरुवाती तालिमदेखि मेसिन खरिद र बजार व्यवस्थापनसम्म निरन्तर सहयोग गरिरहेको छ ।

1000047266

सामाजिक परिचालक ताराप्रसाद ओझाका अनुसार, संस्थाले उनीहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउन भैरव साना किसान कृषि सहकारी संस्थामार्फत विक्री कक्षको व्यवस्थापनमा पनि सघाइरहेको छ । यसका साथै थलारा गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय बझाङले पनि कच्चा पदार्थ र तालिममा सहयोग गरेका छन् ।

‘बझाङको विकट गाउँमा सीमित स्रोतसाधनका बिच तीन महिलाले सुरु गरेको यो सानो उद्यम आज धेरैका लागि उदाहरण बनेको छ । अहिले त उद्योगमा अरु महिलाहरू जोडिएका छन् । समय मिलेको बेला उनीहरू काम गर्छन्,’ ओझाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप