बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
किताबका कुरा

१२३ वटा भाषालाई कार्पेटमुनि राखेर नेपाली साहित्यको विकास हुँदैन– भूपाल राई

शनिबार, २२ कात्तिक २०८२, १९ : ००
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • भूपाल राईको अन्तर्वार्तामा पठन संस्कृति र सूचनाको महत्वबारे चर्चा गरिएको छ।
  • उनले विद्यालय र विश्वविद्यालयको अध्ययनको भिन्नता र स्वअध्ययनको महत्वबारे प्रकाश पारेका छन्।
  • राईले लेखनमा बाल्यकालको प्रभाव, गीत लेखनको प्रेरणा र भाषाको महत्त्वबारे विचार व्यक्त गरेका छन्।

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राई स्पष्ट वक्ता हुन् । उनी कवितामा जति सहजतासाथ पोखिन्छन् त्यो भन्दा सहज ढंगले आम मानिसमाझ प्रस्तुत हुन्छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको परम्परागत वैचारिक वर्चस्व भन्दा फरक मत राख्ने राईका आगोले ‘जन्मोत्सव मनाउँदैन’, ‘सिमान्त सौन्दर्य’, ‘भूमिगत प्रश्नहरू’ कवितासंग्रह तथा ‘शब्द सायारेम’ निबन्ध संग्रह प्रकाशित छन् । उनै प्राज्ञ तथा कुलपति राईसँग रातोपाटीका लागि रमा सुवेदीनरेश ज्ञवालीले गरेको कुराकानी । 

मानिसलाई पुस्तकको आवश्यकता किन पर्छ र किन पढ्नुपर्छ ? 

मानिस सूचना सम्प्रेषण गर्ने र सूचनाकै भरमा सबै काम गर्ने प्रजाति हो । किताब मानिसका लागि सूचना सम्प्रेषण गर्ने सबैभन्दा ठुलो हतियार हो । जब पठन–पाठनको संस्कृति निर्माण भयो; भाषा, लिपि गर्दै लेखन संस्कृति स्थापित भयो, पृथ्वीभरिका मानिसले एकअर्काको जीवन, संस्कार, संस्कृति बुझ्न चाहे । अनि मानिसले किताब पढ्न थाले । धेरैले किताबलाई ज्ञानसँग जोडेर हेर्लान् । तर, मेरो लागि किताब पढ्नु भनेको सूचनासँग अपडेट हुनु हो । 

ज्ञान भने प्रकृतिसँग जोडिएको हुन्छ । मूलतः मानिसले आफ्नो उद्विकासका क्रममा, प्रकृतिको नियम बुझ्ने क्रममा आर्जन गरेको कुरा हो ज्ञान । प्रकृतिको नियम बुझ्ने ज्ञान एउटा थियो । जस्तै आगोले पोल्छ भन्ने ज्ञान हो । पुस्तक त्यही नियमलाई सम्प्रेषण गर्ने साधन हो । मैले बुझेको ज्ञानलाई किताबमा हुबहु लेखेँ र त्यसलाई जापान वा अमेरिकामा बस्ने कसैले पढ्यो भने मेरो बुझाइको सूचना उसले प्राप्त गर्छ । त्यसैले पुस्तकलाई म ज्ञान भन्दा पनि सूचनाको माध्यम ठान्छु । 

पढाइ र अध्ययनबिच के अन्तर छ ? यसमा हामीले समानता भेट्न सक्छौँ कि सक्दैनौँ ? 

एउटा औचापरिक अध्ययन हुन्छ भने अर्को अनौपचारिक अध्ययन हुन्छ । जस्तै, सानो कक्षादेखि विश्वविद्यालयसम्म पुग्ने एउटा प्रक्रिया हो । तर विद्यालय र विश्वविद्यालयको अध्ययनको आफ्नै सीमा हुन्छ । किनभने त्यहाँ पाठ्यक्रम बनाइएको हुन्छ र तपाईंले त्यसै अनुसार अध्ययन गर्नु हुन्छ । सानो विद्यालयमा हामीले बालसुलभता पाइने विषयको अध्ययन गर्छौँ । तर विश्वविद्यालयमा पुगेपछि त्यस पठन–पाठनको स्तर पनि बढ्दै जान्छ । यसै अनुरुपको दायरा फराकिलो हुँदै जान्छ । 

अर्को मैले भनेको अनौपचारिक अध्ययनमा तपाईं स्वअध्ययन गर्नु हुन्छ । स्वअध्ययन अभिरुचिअनुरुप तय गरिन्छ । यसमा व्यक्तिले आफ्नो रुचिअनुसार सूचना खोज्छ । यसको दायरा फराकिलो र छरिएको हुन सक्छ । म मेरै उदाहरण हेर्छु । मैले जति विद्यालय वा विश्वविद्यालयको पाठ्यक्रममा अध्ययन गरेँ त्यो भन्दा बेसी मैले बाहिरी दुनियामा पढेँ । 

लेखनको दुनियाँमा कसरी आइपुग्नु भयो त ?  

लेखनको मेरो खास स्रोत बाल्यकालको वातावरण र समाज हो । बाल्यकालमा लेखनतिर मलाई आकर्षित गर्ने केही घटना छन् । एउटा त म बसेको घर र विद्यालयको दुरी हो । घरबाट स्कुल लगभग एक–डेढ घण्टाको दुरीमा थियो । घना जंगल, ठुलाठुला खोला, खोल्सीहरू तरेर जानुपर्ने । भीरपहरासँगै ठुलो चियानघारी हुँदै विद्यालय जानु पर्थ्यो । समाज कस्तो थियो भने बेलुका सुत्नेबेला प्रत्येक दिन केही न केही भूतप्रेतको कथा सुनेर सुनेर सुनिन्थ्यो । 

गाउँको ठाउँमा विद्यालय जान सधैँ साथी नपाईने । त्यसमाथि चियानघारीमा छिचोलेर पुग्नुपर्दा म सधै तर्सिन्थेँ । कैयौँ पटक त म चिहानघारी हेर्दै उल्टो हिडेर स्कुल गएको छु, फर्केको छु । त्यो चिहाघारीले स्कुल धाउँदाको पूरै १० वर्ष तर्साइरह्यो । अनि त्यो घटनालाई लिएर मैले एउटा कविता लेखेको थिएँ । त्यो कविता अहिले मसँग छैन । तर त्यो एउटा गीति कविता थियो ।  

bhupal3

अर्कोचाहिँ मेरो गाउँका दुईटा पात्र, कवितेकामी र सोताङ्गे जेठा हुन् । कविते कामीको वास्तविक नाम रघुवीर विश्वकर्मा हो । ऊ जतिबेलै ट्याक्क कविता फुराएर भावना व्यक्त गरिहाल्ने पात्र थियो । तत्कालको तत्काल कविता बनाइहाल्थे । उनीसँग मेरो दैनन्दिन भेट भइरहन्थ्यो । उनले भनेको कवितै हो कि होइन त्यतिबेला मलाई थाहा थिएन । तर तुक्का जोडेर गीतको शैलीमा कुरा गर्ने उनको क्षमताप्रति म आकर्षित थिएँ । छेउमा बसेर म उनलाई सुनिरहन्थेँ । उनको प्रतिभाकै कारण समाजले उनको नाम ‘कवितेकामी’ राखिदिएको थियो । 

अर्का थिए सोताङ्गेजेठा । उनी राई हुन् । ती सोताङ्गेजेठाको घरमा प्रायः कवितेकामी गइरहन्थे । ती दुईजनाको एक समयमा कवितै–कवितामा संवाद भयो । त्यो घटना मेरा लागि प्रेरणा स्रोत बन्यो । ‘ओहो ! यसरी पनि आफ्ना कुरा व्यक्त गर्न सकिँदोरहेछ’ भन्ने मनमा आयो । त्यतिखेर म त्यस्तै ५/६ क्लासमा पढ्थे हुँला । तर लेख्न थालेको चाहिँ आठ कक्षादेखि हो । 

तेस्रो कारण मेरो दाई हो । मेरो जेठो दाई तिनताका भोजपुर कलेजमा पढ्थे । कलेजबाट फर्किँदा दाइले प्रायः घरमा पुस्तक ल्याउने । धेरैजसो पुस्तक राता किताब हुन्थे । केही साहित्यका किताब पनि हुन्थे । अलि सामान्य खालका साहित्यिक पुस्तक सर्सर्ती हेदा ठीक लाग्यो भने म पढ्थे । त्यो समयमा गाउँमा पानीको निकै समस्या थियो । एक गाग्री पानी लिन पनि निकै टाढा जानुपथ्र्यो । साँच्चै भन्ने हो मेरो दुईजना दिदीले घण्टौँ लगाएर बोकेको पानी खाएर हुर्केको हुँ म । 

दाईले त्यही पानीको त्यो समस्यालाई लिएर नाटक लेख्नुभयो । ‘प्रधानपञ्च’ नाटकमा दाइले गाउँको प्रधानपञ्चलाई खलनायक बनाएर लेख्नु भएको रहेछ । त्यो नाटक मञ्चन गरेर दाजुले गाउँमा पानीको कुलो खन्नु भयो । त्यो घटनाले पनि मलाई लेखनमा आकर्षित र प्रेरित गर्‍यो । त्यतिबेला मलाई लेखनले गाउँमा खाने पानी नै ल्याउने शक्ति हुँदोरहेछ भन्ने लाग्यो । चौथो भनेको मेरो घरमा पठनपाठनको वातावरण थियो । 

हामी लाहुरे देखाउन जाने समुदायका थियौं । तर मेरो बुबाले लाहुरे हुन जाने होइन भन्ने चेतना दिनुभयो । उहाँकै आदर्श पच्छ्याउँदै अध्ययनको कखरा सिकेको हो । मेरो बुवासँग तीनवटा प्रतिभा राम्रो थियो । उहाँ सारै राम्रो अक्षरमा लेख्नुहुन्थ्यो । बाँसुरी सारै मिठो बजाउनु हुन्थ्यो र अध्ययन गर्नुहुन्थ्यो र अरूलाई पनि त्यसमा प्रेरित गरिरहनुहुन्थ्यो । त्यसैले मलाई लेखनमा डोहोर्‍याउँदै लग्यो । 

लेखनमा वा अध्ययनमा गम्भीर र हल्का भन्ने हुन्छ वा हुँदैन ? 

अध्ययन अनुसन्धानको विषय त अलिकति गम्भीर हुने नै भयो । त्यसले अध्ययनको बेसी माग पनि गर्छ । साहित्य लेखनमा केही न केही मनोविज्ञान हुन्छ । लेख्नु भन्दा अगाडि लेखकहरूको मनोविज्ञानले काम गर्छ । जस्तोः बीपीले सुम्निमा किन लेखे होलान् ? उनको लेखन मनोविज्ञानले डोहोर्‍याएर लेखे नि । आत्मवृत्तान्त कसरी लेखेहोला ? 

एउटा लेखकको निर्दिष्ट पाठक हुन्छन त्यसैले कसलाई लक्षित गरेर लेखेको हो भन्नेले नै लेखकलाई गम्भीर र हल्का भनिएको होला । हामी विद्यार्थी जीवनमा हुँदा हामीले प्रकाश कोविदको पुस्तक निकै खोजी–खोजी पढ्यौँ । त्यतिबेला त्यो नै हाम्रा लागि गम्भीर अध्ययनमा छिर्ने पहिलो खुड्किलो भइदियो । त्यसैले त्यो समय–कालमा त्यसलाई कसरी हल्का लेखन मान्छे । त्यसको आफ्नै महत्त्व थियो होला, आजका दिनमा हाम्रो महत्त्व वा रुचि अर्कै भए होलान् । 

bhupal2

तर, प्रकाश कोविदकोमा कालजयिता थियो त ? 

मलाई उनको उपन्यास अत्यन्तै कालजयी लाग्छ । किनभने त्यही उपन्यासको खुट्किलो चढेर हामी अगाडि बढ्यौँ । त्यो कालका लागि त्यही कालजयी उपन्यास थियो । बरु त्यसपछि हामीले पाब्लो नेरुदा, हावर्ड फास्ट, एमसी रेग्मी र चिनुवा अचिवे खोज्दै हिड्यौँ होला । भाषामा, कलामा अलिक बढी शिल्प भएको, बेग्लै खालको चित्रण भएको किताब खोज्दै हिड्यौँ होला । त्यो बेग्लै कुरा भयो । मलाई यो कुरालाई सापेक्षतामा हेर्नुपर्छ भन्ने लाग्छ । 

तपाईँलाई आज प्रयन्त लेख्न केले प्रेरित गर्छ ? 

पहिले मलाई मेरो समाजले लेख्न प्रेरित गर्‍यो । त्यसपछि समाजको विविधताले लेख्न प्रेरित गर्‍यो । त्यसपछि राज्यसत्ताको चरित्रले लेख्न प्रेरित गर्‍यो । त्यसपछि न्याय, समानता र अधिकारका कुराले लेख्न प्रेरित गर्‍यो । समयक्रमसँगै विभेद विरुद्धको चेतनाले लेख्न प्रेरित गर्‍यो । 

गीततर्फ तपाईंलाई केले आकर्षित गर्‍यो त ? 

समाज हेरेँ, समाजको विविधता हेरेँ, राज्यको उपस्थिति हेरेँ । त्यसपछि मैले जुन समुदायका लागि कविता लेखेको ठान्थेँ त्यस विधाले खास असर नगरेको देखेँ । त्यसपछि त्यो समुदायलाई, मेरो गाउँको, समाजको माथिल्लो र पिँधमा रहेको दुवैलाई सुनाउन मैले गीत लेख्नुपर्छ भन्ने ठानेँ । त्यसपछि चालिसको उत्तरार्द्धतिर गीत लेखनतर्फ लागेँ ।  

एउटा सर्जकले बन्दुक बोक्ने कुरा आएन । आफूलाई लागेको अभिव्यक्त के गरि गर्ने त भन्दा म कविता र गीत लेखनतर्फ डोरिएँ । त्यसैले मैले लेखेको पहिलो गीत आज पनि मलाई याद छ । 

यो तिम्रै माटो हो तिमीले टेकेको
यो तिम्रै आकाश हो तिमीले ओढेको
आमा यसरी कथा सुनाउँछिन्–
अघि बढ्नेलाई खुला बाटो छ
पछि अड्नेलाई मुरी माटो छ ।
तर राज्यबाट प्रतिबन्धमा पर्‍यो यो गीत । राज्यलाई कहिल्यै पनि समानताको गीत र कविता मन पर्दैन । 

हाम्रै जस्ता मुलुकहरूको साहित्य विश्व बजारमा पुग्दा पनि हामी किन पछि पर्‍यौँ हौला ?

यो, एकदमै गम्भीर र डरलाग्दो प्रश्न हो । त्यसैले यसमा मैले राम्रो जबाफ दिन गाह्रो छ । तथापि यो प्रश्न आउनासाथ मेरो मनमा झट्ट दुइटा कुरा आयो । पहिलो साहित्य, संगीत, कला र लेखन, चिन्तनको क्षेत्रमा राज्यको नगन्य लगानी छ । सारमा भन्ने हो भने हाम्रो संस्कृति निर्माणमा त्यसको चिन्तन प्रणालीमा राज्यको उपस्थिति नगन्य छ । घरीघरी त राज्य यस्ता विषय नै बुझ्दैन कि क्या हो भन्ने लाग्छ । 

दोस्रो, नेपाली भाषाको लेखन इतिहास छोटो छ । नेपाली भाषामा लेख्न थालिएको जम्मा दुइ–अढाई सय वर्ष भयो । नेपालमा अरू भाषा नभएका होइनन्, यहाँ मैथिली, नेवारी, भोजपुरीजस्तै अन्य आदिवासी भाषा पनि थिए, तर त्यस भाषामा रहेका ज्ञान प्रणालीलाई हुर्कनै दिइएन वा मारियो । भन्नुको अर्थ, जुन भाषामा लामो ज्ञान परम्परा थियो, त्यस भाषालाई राज्यले एकल भाषाका माध्यमबाट मरणाशन्न बनाइदियो र जुन भाषाको ज्ञान परम्परा निकै कमजोर थियो त्यो भाषा साहित्यको भाषा बनेर सतहमा ल्याइदियो । 

अघि मैले भनेँ नि, साहित्य सूचनाको आदानप्रदान हो भनेर । पृथ्वीको कुनै पनि मानिसलाई आफ्नो कुरा भन्न लगाउनुस् उसले आफ्नो भाषामा जति राम्रोगरी अर्को भाषामा व्यक्त गर्नै सक्दैन । अनि नेपालका आदिवासी भाषाको ज्ञान परम्परामा हुर्केकाले कसरी आफ्नो कुरा व्यक्त गर्न सक्छन् त ? त्यसैले स्वाभाविक रूपमा नेपाली साहित्यले विश्वमा आफ्नो उपस्थिति देखाउन धेरै वर्ष लाग्ने निश्चित छ । यस्तै अवस्था रहने हो भने शताब्दीयौँसम्म नेपालको साहित्यले फड्को मार्न गाह्रो छ । 

हाम्रो संस्कृति, चिन्तन प्रणाली र लेखनबिच कस्तो अन्तरसम्बन्ध हुने गर्छ भन्ने ठान्नु हुन्छ ? 

पछिल्लो कालमा लेखन अलिकति फराकिलो भएर आएको छ । अहिलेसम्म हामीले जे–जे भोगेर आयौँ, त्यो लेखिए । नलेखिएको कुराहरू अहिले लेखिँदै छन् । तर संस्कृति भनेको चिन्तन प्रणाली हो । अहिलेको पछिल्लो जेनजी आन्दोलनलाई नै लिनुस् न । उनीहरूको मुद्दा भ्रष्टाचार निर्मुल गर्नु भन्ने थियो । उनीहरूले ठ्याक्कै भाषामा नभने पनि भ्रष्टाचारको संस्कृति अन्त्य गर्न भनेका हुन् । त्यसअर्थमा उनीहरूले भ्रष्टाचारबाट मौलाएको डरलाग्दो संस्कृतिलाई नै निर्मुल गर्न चाहे । अपसंस्कृतिलाई निर्मुल गर्न चाहे । यो धेरै ठुलो कुरा हो । 

भ्रष्टाचार भनेको सामान्य आर्थिक प्रकरण मात्रै होइन, यो आफैमा एउटा ठुलो कुसंस्कृति हो । यो चिन्तन प्रणालीसँग, सत्तासँग जोडिएको छ । सत्ता नै पनि हामीकहाँ एउटा संस्कृति भएको छ । सत्तामा पहुँच हुनेहरूले भ्रष्टाचार गरेका छन् । सत्तामा हालिमुहाली गर्दै जाने क्रममा त्यो एक खालको वर्गले, एक खालको समुदायले बढी भ्रष्टाचार गरिरहेका छन् । जेनजीहरूले यसलाई संस्कृति त भनेनन् । तर मैलेचाहिँ भ्रष्टाचारले निम्त्याएको संस्कृतिकै अन्त्य गर्न खोजेका हुन् भनेर बुझेँ । त्यसअर्थमा जेनजीको यो आन्दोलन सानो आन्दोलन होइन । 

bhupal

हामीलाई भ्रष्टाचार निर्मुल गरिएको संस्कृति चाहिएको छ । यो कुरा कागजमा लेखेर, भाषणमा सीमित गरेर हुँदैन । राज्यले देशको विविधतालाई आत्मसात गरेर मात्र हुन्छ । यो देशमा १२३ वटा भाषा छन् भन्ने मनले स्वीकार गर्नुपर्छ । १२३ वटा भाषालाई कार्पेटमुनि राखेर यो देशको साहित्य कसरी विकास हुन्छ ? एउटा मात्रै भाषाको दौड गरेर अरू भाषामा रहेको ज्ञान प्रणालीलाई नजरअन्दाज गरेर साहित्यको विकास हुँदैन । त्यसैले यहाँको विविधतालाई, ज्ञानको प्रचुरतालाई साहित्यको विषय बनाउनैपर्छ । 

तपाईं कुलपति भएपछि केही नेपाली भाषी साहित्यप्रेमीहरूले तपाईंलाई लक्षित गरी कटाक्ष गरिरहेका छन् किन ?

केही भाषिक एकात्मवादीहरू के सोच्छन् भने यो देश एउटै मात्र भाषा भएको देश हो । साथसाथै के पनि सोच्छन् भने नेपाली भाषा भनेको अहिले हामी जुन भाषामा संवाद गरिरहेका छौँ त्यो मात्र नेपाली भाषा हो । त्यसैले उनीहरू के मान्यता राख्छन् भने कुलपति हुनलाई न्यूनतम नेपाली भाषाको पण्डित हुनैपर्छ । नेपाली भाषाको वर्णविन्यास जान्नै पर्छ । तर उनीहरूले बुझ्न जरुरी छ, यो देश १२४ भाषाभाषीहरूको साझा देश हो ।

दोस्रो, संविधानतः नेपालमा बोलिने सबै भाषाहरू राष्ट्र भाषा हुन । त्यसैले के स्वीकार गर्नुपर्छ भने नेपाल प्रज्ञा प्रतिष्ठान भनेको ती सबै १२४ भाषाभाषीकै साझा र समान पहुँच भएको थलो हो, न कि नेपाली भाषालाई मात्रै मातृभाषा ठान्नेहरूको । स्वाभाविक रूपमा नेपाली मेरो मातृभाषा होइन । हो, म नेपाली भाषामै गीत–कविता कोर्छु, लेख्ने–पढ्ने यसमै गर्छु तर यो त मैले पछि सिकेको हो । आमाले मलाई सिकाएको पहिलो भाषा त वान्तवा खोलामा बोलिने दुङ्माली– नेपाली भाषा हो, जुन १२४ मध्येको एक हो । 

यो भाषा मानव सम्पदा र मानव ज्ञान प्रणालीका दृष्टिले त्यतिकै महत्त्वपूर्ण र त्यतिकै हकदार भाषा हो, जत्तिको अरू भाषा । र नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भनेको नेपालका सबै भाषा र साहित्यको समान अंशियारीसहितको नेतृत्व हो । अब उहाँ शुद्धतावादीहरूलाई नै सोधौँ– के नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति हुने अधिकार नेपाली भाषाबाहेक अन्य मातृभाषा बोल्नेहरूले हुन मिल्दैन ? वा नेपाल प्रज्ञा प्रतिष्ठान भनेको नेपाली भाषाका लागि मात्र स्थापना गरिएको संस्था हो ? 

तपाईंले पढेका पुस्तकमध्ये त्यस्ता कुनै पाठकमाझ सिफारिस गर्न चाहनुहुन्छ ? 

पुस्तक सिफारिस गर्नु भनेको डाक्टरले औषधि सिफारिस गरेजस्तो होइन । ज्ञान र सूचनाको अभेद्य दुनियाँमा मैले पाएको सूचना नै ठिक भनेर कसैलाई लादेर आफू बुज्रुक देखिन खोज्ने काम मलाई उचित लाग्दैन । किनभने सूचना र ज्ञानको क्षेत्र आआफ्नै सापेक्षका हुन्छन् । लाखौँ करोडौँ पुस्तकहरूको जङ्गलमा आफ्नो सीमा र सीमित पहुँचले भेटेका पुस्तकहरू नै अब्बल हुन् भनेर कसरी भन्न सकिएला र ? त्यसैले तपाईंले सोधेको प्रश्नले मलाई खासै आकर्षित गरेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेश ज्ञवाली
नरेश ज्ञवाली

 @GyawaliNaresh 

लेखकबाट थप
रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप