बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल स्काउटद्वारा कार्यालयमामा भएको तोडफोड र आक्रमणप्रति गहिरो खेद प्रकट

आइतबार, २३ कात्तिक २०८२, ०४ : २४
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • नेपाल स्काउटको राष्ट्रिय कार्यालयमा भएको तोडफोड र आक्रमणको घटनाप्रति स्काउटले खेद व्यक्त गरेको छ।
  • संस्थाले घटनालाई स्काउट जगतमाथिको हमला भन्दै निन्दा गरेको छ र आतङ्ककारी कार्यको भर्त्सना गरेको छ।
  • निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै भएको विवादका बीच, स्काउटले घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ।

काठमाडौँ । नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा शनिबार भएको तोडफोड, आक्रमण र अराजक गतिविधिप्रति नेपाल स्काउटले गहिरो खेद प्रकट गरेको छ। संस्थाले यस घटनालाई ‘पवित्र संस्था र सम्पूर्ण स्काउट जगतमाथिको निर्मम हमला’ भन्दै कडा शब्दमा निन्दा गरेको छ।

शनिबारको घटनापछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आतङ्ककारी कार्यहरूको हदैसम्म निन्दा गर्दछौँ। यो हमला सम्पूर्ण स्काउट परिवारमाथिको गम्भीर प्रहार हो।’

नेपाल स्काउटका अनुसार, संस्थाका आन्तरिक विषयहरू वार्ता, संवाद र छलफलबाट समाधान गर्न नेतृत्व सधैँ तयार रहेको भए पनि ‘आफू बाहेक अरू सबैलाई गलत ठान्ने हठधर्मी सोचले’ यस्तो दुर्भाग्यपूर्ण अवस्था सिर्जना गरेको हो।

‘सार्वजनिक संस्थामा हुने हरेक गतिविधिप्रति सचेत रहनु र जबाफदेहिता माग्नु प्रत्येक सदस्यको वैध अधिकार हो । संस्थाका कार्यप्रति असन्तुष्टि रहँदा पनि कानुनी प्रक्रिया मार्फत आफ्ना मागहरू राख्न पाउने पूर्ण अवसर रहँदा रहँदै पनि, संस्थाको कुनै पनि तहको सदस्य नरहेका, सक्रिय राजनीतिमा संलग्न रहेका र स्काउटको नाममा अवैध व्यापार चलाइरहेका, विद्यालय तथा अभिभावकहरूमाथि लुट मच्चाइ रहेका यस्ता अराजक तत्त्वहरू कदापि स्काउट हुनै सक्दैनन्’, जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल स्काउटले यसअघि मिति २०८२ असोज ८ गते गोरखापत्र दैनिकमा निर्देशक (कार्यालय प्रमुख) पदपूर्तिको सूचना प्रकाशित गरेको थियो। सोही पदपूर्तिको अन्तर्वार्ता चलिरहेको बेला आक्रमण गरिएको स्काउटले जनाएको छ।

संस्थाले सम्बन्धित निकाय र सरकारसँग घटनामा संलग्न सबै व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ।

scout

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप