मिरुनालाई प्रश्न– जनजातिभित्रै रमाउनुभयो भन्ने आरोप छ नि ?
सारांश
- अभिनेत्री मिरुना मगरको नयाँ फिल्म 'जारी २' प्रदर्शनको तयारीमा छ, जसमा उनी दयाहाङ राईसँगको जोडीको रूपमा देखिनेछिन्।
- फिल्म 'जारी २' मा मिरुनाले आफ्नो पात्रको नयाँ सङ्घर्ष र आत्म-अनुभूतिबारे बताइन्, र यो फिल्म 'जारी' को कथाको निरन्तरता हो।
- मिरुनाले आफूलाई उचाइमा नभई यात्रामा रहेको मान्ने र 'ग्रे जोन' का पात्रहरू तथा खलपात्रको भूमिका निर्वाह गर्न इच्छुक रहेको बताइन्।
मिरुना मगर पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । ‘कबड्डी ४ः द फाइनल म्याच’ र ‘जारी’ जस्ता सफल फिल्मबाट उनले दर्शकको मन जित्न सफल भएकी छन् ।
दयाहाङ राईसँगको उनको जोडीलाई दर्शकले अत्यधिक रुचाएका छन् । राईसँगको आफ्नो जोडी दर्शक र मेकर दुवैले मन पराएको उनी स्विकार्छिन् । उनी अभिनीत नयाँ फिल्म ‘जारी २’ प्रदर्शनको तयारीमा छ ।
शुक्रबार (२१ कात्तिक)बाट सार्वजनिक प्रदर्शनमा आएको फिल्ममा उनी दयाहाङकै जोडीको रूपमा देखिँदै छिन् । यही फिल्मको प्रचारप्रसारको क्रममा रातोपाटीसँग भेटिएकी उनी फिल्मप्रति दर्शकको उच्च अपेक्षा रहेको बताउँछिन् ।
हिट फिल्म ‘जारी’को सिक्वेलको रूपमा आउन लागेको यो फिल्म पहिलेभन्दा राम्रो भएको उनको दाबी छ । फिल्मले नयाँ कथासमेत पस्किएको उनी सुनाउँछिन् । ‘जारी २’मा आफ्नो पात्रले गरेको नयाँ सङ्घर्ष र आफैसँगको द्वन्द्व रहेको उनी बताउँछिन् । फिल्म र उनको अभिनयबारे अभिनेत्री मिरुनासँग गरिएको कुराकानीको अंश ।
‘जारी २’ शुक्रबारबाट प्रदर्शनमा आएको छ , प्रतिक्रिया कस्तो छ ?
– फिल्मको प्रचार प्रसार राम्रो गरेका थियौ । फिल्म प्रति दर्शकको अपेक्षा एकदमै थियो । फिल्मले शुक्रबार र शनिबार राम्रो ब्यवसाय पनि गरेको छ । यस पटक स्क्रिप्ट पनि एकदमै राम्रो छ, कथा पनि अझ रिफाइन भएर आएको छ ।
‘जारी २’ बन्ने कुराले कतिको खुसी दिएको थियो ?
– आफ्नो सफल फिल्मको सिक्वेल बन्दै गर्दा खुसी त मिल्छ नै । त्योभन्दा पनि बढी मैले च्यालेन्ज महसुस गरेको थिएँ । पहिलो, वातावरण र क्यारेक्टर सेम देखाउनुपर्ने थियो । तर समय भने केही वर्ष बितिसकेको थियो ।
त्यो समयमा ऊ कसरी इन्भल्भ (समावेश) भएको छ, उसको लाइफ कसरी चेन्ज भएको छलगायत धेरै कुरो आउँथ्यो । खुसीचाहिँ कस्तो भने पहिले धेरै बसेर सुटिङ गरेको ठाउँमा फेरि जाँदा त्यही टाइममा फर्केजस्तै फिल भयो, पहिले २०१९ (सन्) मा सुटिङ भएको थियो ।
तपाईंको विचारमा ‘जारी २’ बन्नु आवश्यक थियो त ?
– ‘जारी’ नै एउटा कम्प्लिट स्टोरी थियो । त्यो यत्तिकै नै सुन्दर कथामा थियो । त्यो हेरिराख्दा कसैले पनि यसको सिक्वेल आउँछ भनेर सोच्न सक्दैन थिए । सुरुमा ‘जारी २’ बन्ने कुरा हुँदाचाहिँ कस्तो होला त ? कसरी बन्छ होला अब ? स्टोरी के होला भन्ने कौतूहल मनमा थियो । किनभने ‘जारी’ मेरो पनि मन पर्ने फिल्म हो । जब फिल्मको स्क्रिप्ट तयार भएर आयो, तब हामी ढुक्क भयौँ ।

‘जारी’ नहेरेका दर्शकले ‘जारी २’ हेर्दा बुझ्लान् त ?
– त्यो कुरामा ढुक्क भए हुन्छ । सुरुमा अलिकति म पनि त्यस्तै सोच्थेँ । तर फिल्मको पूरै स्क्रिप्ट पढिसकेपछि चाहिँ यो फेरि अर्को एउटा पूर्ण कथा रहेछ भन्ने पाएँ । यसको कथा वान (पहिलो) हेरेँ पनि, नहेरे पनि, टु मात्रै हेर्दा पनि दर्शकले बुझ्छन् ।
‘जारी’को कथालाई निरन्तरता दिँदै नयाँ कथा पनि बुनिएको भन्न खोज्नुभएको हो ?
– हो । ‘जारी’मा हामीले जुन कथा उठाएका छौँ, त्यो कथाको ६, ७ वर्षपछिको कथा हो ‘जारी २’ । ६, ७ वर्षपछि त्यही क्यारेक्टरहरू त्यही ठाउँमा पनि धेरै कुराहरू आएका छन् । यो फिल्ममा केही पात्र नयाँ पनि थपिएका छन्, जसले फिल्मलाई नयाँ पन र विशेष बनाउनुभएको छ ।
फिल्ममा तपाईंको पात्र र पत्रले गर्ने संघर्षचाँहि नयाँ छ कि पुरानै ?
– नयाँ सङ्घर्ष छ, यो फिल्ममा मेरो एउटा जर्नी र सेल्फ रियलाइजेसन पनि छ । ‘जारी’मा म समाजदेखि धेरैसँग लडेको थिएँ । यसमा म आफैसँग लड्नुपर्नेछ । आफूसँगको द्वन्द्व, इन्टरनल ब्याटल धेरै छ, मैले रियलाइजेसन गर्ने कुराहरू धेरै छन् ।
‘जारी २’ सिक्वेल भनेर रोज्नुभयो कि, कथाको कारण ?
– निर्देशक उपेन्द्र सुब्बा मामासँग जसरी ‘जारी’, ‘कबड्डी ४’, ‘मनसरा’काम काम गरेँ । त्यो काम गर्दा जुन टिम थियो, जुन अनुभव गरेको थिएँ । त्यो एकदमै सुखद र स्मरणीय थियो । उहाँप्रति मेरो एक किसिमको विश्वास छ । त्यसको कारण काम गरेको हो । फिल्म बन्ने कुरो गर्दागर्दै केही फरक भए हुन्थ्यो भन्ने लागेको थियो । स्क्रिप्ट हात पर्दा त्यो पाएँ ।
फिल्मको प्रचार सामग्री हेर्दा ‘जारी’जस्तै छ नि ?
– दर्शकको माया होला । म पहिल्यैदेखि भन्दै आएकी छु । एउटा कलाकारले फिल्मको लागि गर्न सक्ने भनेको सेटमा हुँदाखेरी हो । त्यो समय आफ्नो काम इमानदार भएर मज्जाले कम्प्लिट गर्नुपर्छ । कथालाई न्याय दिने हिसाबले काम गर्नुपर्छ । व्यावसायिक सफलता र असफलता पछिको कुरो हो, कथा राम्रो भयो । मेकरहरूले राम्रो सेटिङमा, राम्रो तरिकाले बनाउनुभयो । त्यो सबै राम्रो भएर जान्छ ।
फिल्ममा जनयुद्धको सन्दर्भ पनि जोड्न खोजिएको छ ?
– यसको जवाफ निर्देशकसँग होला । तथापि फिल्मले सन् १९९९–२००० को समयलाई छोएको छ र समाजमा भइरहेका घटनाहरूको प्रतिबिम्बका रूपमा यसलाई बुझ्न सकिन्छ । फिल्म रिलिज अगाडि कथाको विस्तृत कुरा भन्न मिल्दैन ।

तपाईंलाई जनजातिभित्रै रमाउनुभयो भन्ने आरोप छ नि ?
– आरोपभन्दा नि त्यो हो नै । यो दर्शकको माया हो । जसले मलाई फरक भूमिकामा हेर्न चाहन्छन् । फिल्म ‘कुस्ती’ र ‘ड्रबल, ट्रिपल’जस्ता अर्बन र भिन्न कथाहरूमा काम गरिरहेको छु । अहिलेसम्म नभनिएका कथाहरूलाई प्रतिनिधित्व गर्न पाउँदा मलाई खुसी लाग्छ । जुन फिल्म आएपछि आरोपको चिरफार हुन्छ । पहिला जनजातीय महिलाहरूको कथा कम आउँथ्यो, अहिले लगातार आएकोले मात्रै धेरै भयोजस्तो लाग्छ । मलाई लाग्छ सबै भेगका कथाहरू आउनुपर्छ ।
आफूले आफैँलाई मूल्याङ्कन गर्दा करिअरको कुन उचाइ हुनुहुन्छ ?
– म आफूलाई उचाइमा भन्दा पनि एउटा यात्रामा हिँडिरहेको ठान्छु । मेरा लागि काम गरिरहन पाउनु नै ठुलो सफलता हो । मलाई दयाहाङ राईसँगको जोडी दर्शकले मन पराए पनि विपिन कार्की, सौगात मल्ल, आर्यन सिग्देल, प्रदीप खड्का, धीरज मगरजस्ता विविध कलाकारसँग काम पनि गर्दै आएको छु । यो अवसर पाएकोमा आफूलाई भाग्यमानी ठान्छु । यी अनुभवहरू मेरा लागि सधैँ नयाँ पाठ र सिक्ने अवसर बनेका छन् ।
अब कस्तो भूमिका अभिनय गर्न मन छ ?
म ‘ग्रे जोन’का पात्रहरू निभाउन चाहन्छु । जसका कार्यहरू प्रश्नयोग्य भए पनि तार्किक रूपमा उचित हुन्छन् । समाजमा यस्ता पात्रहरू धेरै हुन्छन् जो आफूलाई कतै पनि पूर्ण रूपमा फिट महसुस गर्न सक्दैनन् । आफैँलाई खोजिरहेका यस्ता मनोवैज्ञानिक चरित्रहरूमा काम गर्न मलाई रुचि छ । खलपात्र पनि गर्न मन छ ।
विवाहको प्रश्न कति आउँछ, अब सोच्ने बेला भएन र ?
– विवाहको प्रश्न त आउँछ, तर खासै हैरान पारेको छैन । कसैले जिज्ञासा राखेर सोधेमा म पनि सामान्य रूपमा नै जवाफ दिन्छु । विवाह समय आएपछि हुने भए भइहाल्छ, सबैलाई थाहा भइहाल्छ । अहिले तत्काल विवाहको सोच भने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण