बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

भारतीय सीमा क्षेत्रबाट हुँडार पसेको भन्दै रंगेलीमा त्रास, सतर्क रहन आग्रह

अहिलेसम्म हुँडार वा त्यसखालको कुनै जनावर नभेटिएको वन कार्यालयको भनाइ
सोमबार, २४ कात्तिक २०८२, ११ : ५३
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • मोरङको रंगेलीमा भारतबाट ब्वाँसो (हुँडार) आएको हल्लाले स्थानीयमा त्रास फैलिएको छ।
  • डिभिजन वन कार्यालय मोरङले अहिलेसम्म हुँडार नभेटिएको जनाएको छ, तर सतर्कता अपनाउन आग्रह गरेको छ।
  • स्थानीयका अनुसार, हुँडारले अहिलेसम्म क्षति नगरे पनि बालबालिकालाई एक्लै छाड्न नहुने सुझाव छ।

विराटनगर । दुई दिनदेखि मोरङको रंगेलीमा भारतबाट हुँडार (ब्वाँसो) देखिएको हल्ला चलेपछि त्यस क्षेत्रमा आतङ्क फैलिएको छ । रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालले भारतबाट हुँडार पसेको भन्ने सर्वसाधारणबाट जानकारी आएको बताए ।

‘भारतबाट हुँडार आएको भनेर सर्वसाधारणले जानकारी गराएका छन् । कति आएको छ भन्ने विषयमा अपुष्ट कुरा आएको हो । हामीले सूचना जारी गरेर सतर्क रहन सर्वसाधारणलाई भनेका छौँ,’ अग्रवालले भने ।

त्यहाँ हुँडारले मानिसलाई घाइते बनाएको हल्ला छ, तर त्यो नेपालमा नभइ भारतमा भएको घटना हुनसक्ने अग्रवालले बताए । डिभिजन वन कार्यालय मोरङले भने अहिलेसम्म हुँडार नभेटिएको जनाएको छ । ‘हामीले हुँडारले घाइते बनाएको मानिस पनि भेटेका छैनौँ, हुँडार पनि भेटिएको छैन,’ वन कार्यालयका प्रमुख उत्सव थापाले भने, ‘हामीले रंगेली सवडिभिजन वन कार्यालय, उर्लाबारीस्थित मंगलबारेको वन कार्यालय र कोशी टप्पु वन्यजन्तु आरक्षसँग पनि सम्पर्क गरिरहेका छौँ ।’

स्थानीय पालिका र वडासँग समन्वय गरेर सतर्कता अपनाउन लगाइएको थापाले बताए । ‘अहिलेसम्म हुँडार भेटिएको छैन, तर भेटिएन भनेर आनन्दले बस्ने कुरा भएन । हामीले सतर्कता अपनाउन भनेका छौँ,’ उनले भने, ‘हुँडार मांसाहारी र खतरनाक जीव भएकाले सतर्क रहनुपर्ने देखिन्छ ।’

नेपालको पश्चिम क्षेत्रमा हुँडार देखिए पनि पूर्वमा हालसम्म देखिएको थिएन । नेपालमा हुँडार लोपोन्मुख जनावरको सूचीमा छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालले आफूहरूले त्यसबारे जानकारी नपाएको बताइन् । ‘हामीलाई यसबारे कुनै आधिकारिक रिपोर्ट आएको छैन,’ उनले भनिन्, ‘यसबारे म बुझेर जानकारी दिन्छु ।’

रंगेली नगरपालिकाका प्रमुख अग्रवालको सचिवालय सदस्य करण ठाकुरले भने रंगेलीको आँपगाछी क्षेत्रमा आइतबारदेखि हुँडार देखिएको दाबी गरे । ‘यो हुँडार केही दिनअघि बडङ्गा क्षेत्रमा देखिएको र त्यहाँबाट सर्दै रंगेलीतिर आएको अनुमान गरिएको छ,’ उनले भने, ‘हुँडार खतरनाक जीव भएकाले मानिसहरू डराउनु स्वाभाविक हो । यसको समाधान खोज्नुपर्ने देखिन्छ ।’

अहिलेसम्म हुँडारले कुनै क्षति नगरेको पनि उनले बताए । ‘स्थानीय बासिन्दाहरू सूचना पाएपछि सतर्क भएका छन् र विशेषगरी केटाकेटीहरूलाई साँझ र दिउँसोको समयमा एक्लै छाडिएको छैन,’ उनले भने ।

हुँडारले भेटेमा विशेषगरी केटाकेटीलाई आक्रमण गर्न सक्ने र त्यो उसको स्वभाव नै भएकाले आतङ्क मच्चिएको हो ।

उता, सामाजिक सञ्जाल फेसबुकमा भने सडकमा हुँडारको बथानको फोटो शेयर गर्नेहरू बढ्दै गएका छन् । रं‌गेली– ५ का वडाध्यक्ष महान्द मण्डलले शनिबार राति हुँडारको हुल देखिएको दाबी गरे । वन कार्यालयले भने सामाजिक सञ्जालमा राखिएको फोटो नेपालको नभएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप