‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान
सारांश
- पर्वतको विहादी गाउँपालिकाले तरकारी उत्पादनमा आत्मनिर्भर बन्न हाइटेक टनेल खेती विस्तार सुरु गरेको छ।
- गाउँपालिकाले ८० प्रतिशत अनुदानमा टनेल निर्माणका लागि प्रस्ताव आह्वान गरेको छ, जसका लागि २ करोड २५ लाख विनियोजन गरिएको छ।
- यस कार्यक्रमले प्रविधिमा पहुँच, दिगो आम्दानी र युवालाई कृषिमा आकर्षित गर्ने लक्ष्य राखेको छ।
पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका ‘हाइटेक टनेल’खेती विस्तार अभियानमा जुटेको छ ।
कृषकलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाले ८० प्रतिशत अनुदानमा हाइटेक टनेल (आधुनिक प्रविधिबाट बेमौसमी तरकारीखेती गर्न बनाइएको संरचना) निर्माणका लागि सहकारी संस्था, कृषक समूह तथा व्यावसायिक कृषक फार्मबाट प्रस्ताव आह्वान गरेको छ ।
स्थानीय किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा हाइटेक टनेल निर्माण कार्यक्रम सञ्चालन गर्न रु दुई करोड २५ लाख विनियोजन गरेको छ । गाउँपालिकाको कृषि शाखाका अनुसार यो कार्यक्रमले उत्पादनमा विविधता ल्याउने, बेमौसमी सब्जी खेतीलाई निरन्तरता दिने र युवालाई कृषिमा पुनः आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
“हामीले यस कार्यक्रममार्फत कृषकलाई प्रविधिको पहुँचमा ल्याउँदै दिगो आम्दानीको बाटो खोल्ने प्रयास गरेका हौँ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले भने । उनका अनुसार टनेल खेतीले परम्परागत प्रणालीभन्दा कम लागतमा बढी उत्पादन लिन सकिने भएकाले यसले कृषि क्षेत्रलाई नयाँ आयाम दिनेछ ।
विहादीका अधिकांश किसानले विगत केही वर्षयता सानासाना टनेल प्रयोग गरेर प्रशस्त उत्पादन गरेका छन् । प्रविधिको पहुँच, पुँजी र संरचनाको अभावले हाइटेक टनेल खेती विस्तार गर्न नसकिएको स्थानीय किसानको भनाइ छ ।
गाउँपालिकाले यही आवश्यकता महसुस गर्दै सहकारी, समूह र फार्मलाई सहभागी गराएर सामूहिक रूपमा आधुनिक टनेल निर्माण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिए ।
“छ वटा वडा रहेको विहादीमा मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि प्रशस्त सम्भावना रहेको छ । यहाँका सयौँ कृषक व्यावसायिक कृषिमा लागेका छन् । सडकको राम्रो पहुँच विस्तार भएसँगै बजारको समस्या छैन”, उनले भने ।
कार्यक्रमअन्तर्गत सहभागी हुन चाहने कृषक, समूह वा सहकारीले सूचना प्रकाशित मितिदेखि १५ दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेस गर्नुपर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार विशेषगरी हाइटेक टनेल खेतीमा सक्रिय कृषक समूहलाई प्राथमिकता दिइने छ ।
यो कार्यक्रम सफल भएमा विहादी गाउँपालिकालाई ‘हाइटेक कृषि क्षेत्र’ का रूपमा चिनाउने पालिकाको कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताउनुभयो । स्थानीय उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना गर्ने र गाउँमै रोजगारीका अवसर बढाउने अपेक्षा गरिएको उनको भनाइ छ ।
कृषि क्षेत्रलाई जोड दिँदै आएको विहादीले यसअघि पनि टनेल विस्तार अभियान थालेको थियो । टनेलसँगै मल्चिङ प्लाष्टिक, सिकेचर, स्प्रे तथा बीउबिजनमा अनुदान दिँदै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण