शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वैभव सूर्यवंशीको कीर्तिमानी शतक

शनिबार, २९ कात्तिक २०८२, १५ : ४५
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • युएईविरुद्धको खेलमा वैभव सूर्यवंशीले १४४ रन बनाउँदै कीर्तिमान कायम गरे।
  • उनले ३२ बलमा शतक पूरा गरे, जुन टी-२० मा दोस्रो छिटो शतक हो।
  • १४ वर्षको उमेरमा सूर्यवंशी सिनियर स्तरमा शतक बनाउने कान्छो खेलाडी बने।

नयाँ दिल्ली । किशोर खेलाडी वैभव सूर्यवंशीले युएईविरुद्ध एसिया कप राइजिङ स्टार्स २०२५ को उद्घाटन खेलमा भारत ‘ए’ का लागि मात्र ४२ बलमा १४४ रन बनाएर कीर्तिमानहरूको सिलसिला कायम राखेका छन्।

उनको शतक मात्र ३२ बलमा पूरा भएको थियो, जुन पुरुष टी–२० मा भारतीय खेलाडीले बनाएको संयुक्त रूपमा दोस्रो छिटो शतक हो। यसअघि गुजरातका उर्भिल पटेल र पन्जाबका अभिषेक शर्माले २०२४ सैयद मुश्ताक अली ट्रफीमा २८ बलमा शतक बनाएका थिए भने ऋषभ पन्तले पनि २०१८ मा दिल्लीका लागि ३२ बलमा शतक बनाएका थिए।

सूर्यवंशीको १४४ रनको स्कोर टी–२० ढाँचामा कुनै पनि भारतीय खेलाडीले बनाएको चौथो उच्च स्कोर हो । समग्रमा, उनको शतक पुरुष टी–२० मा संयुक्त रूपमा पाँचौँ छिटो शतक हो ।

 १४ वर्ष र २३२ दिनको उमेरमा सूर्यवंशी राष्ट्रिय प्रतिनिधि टोलीका लागि सिनियर स्तरमा शतक बनाउने सबैभन्दा कम उमेरका पुरुष खेलाडी बनेका छन् ।

यसअघि यो कीर्तिमान बंगलादेशका मुशफिकुर रहिमको नाममा थियो, जसले २००५ मा बंगलादेश ‘ए’ बाट जिम्बाब्वे ‘ए’ विरुद्धको प्रथम श्रेणीको खेलमा १११ रन बनाउँदा १६ वर्ष र १७१ दिनका थिए।

सूर्यवंशी पहिलो बलमै क्याचआउट हुनबाट बचेका थिए तर उनले दोस्रो जीवनको पूर्ण सदुपयोग गर्दै १३ औँ ओभरमा आउट हुनुअघि ११ चौका र १५ छक्का प्रहार गरे। उनले ३४२.८५ को स्ट्राइक रेट कायम गरे, जुन पुरुष टी–२० मा १०० वा सोभन्दा बढी स्कोर बनाउने खेलाडीमध्ये चौथो उच्च स्ट्राइक रेट हो ।

यो सूर्यवंशीको दोस्रो टी–२० शतक हो। यसअघि उनले आईपीएल २०२५ मा राजस्थान रोयल्सका लागि ३५ बलमा शतक बनाएका थिए। उनी टी–२० मा शतक बनाउने सबैभन्दा कम उमेरका पुरुष खेलाडी हुन्। 

उनी आईपीएल इतिहासमा क्रिस गेल पछि दोस्रो छिटो शतक बनाउने खेलाडी बनेका थिए । गेलले २०११ मा पुणे वारियर्सविरुद्ध ३० बलमा शतक बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप