डीआईजी बढुवामा खापुङले छुटाएका अधिकारीलाई कार्कीको न्याय, आईजीपी बन्न सक्लान् ?
सारांश
- तत्कालीन आईजीपी खापुङले डिआईजी बढुवा सिफारिस गर्दा विश्व अधिकारीलाई छुटाएका थिए।
- जेनजी आन्दोलनमा बल प्रयोगको आरोप लागेपछि अधिकारीलाई काठमाडौँ परिसरबाट सरुवा गरिएको थियो।
- अधिकारीलाई डिआईजी बढुवा सिफारिस २३ दिन ढिलो हुँदा आईजीपी बन्दा केही फरक पर्छ कि पर्दैन भन्ने प्रश्न उठेको छ।
काठमाडौँ । तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले कात्तिक ९ गते ५ प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई नायब महानिरीक्षक (डिआईजीपी)मा बढुवा सिफारिस गर्दा १ नम्बरमा रहेका विश्व अधिकारीलाई छुटाएका थिए । वरियताक्रममा उनीभन्दा पछि रहेका भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस हुँदा अधिकारीलाई छुटेका थिए ।
अधिकारीलाई खापुङपछि महानिरीक्षकमा बढुवा भएका दानबहादुर कार्कीले तानेका छन् । मंसिर १ गते अधिकारीलाई बढुवा समितिले एकल बढुवा सिफारिस गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला काठमाडौँ प्रहरी परिसरको प्रमुख रहेका अधिकारीलाई बल प्रयोग गर्न निर्देशन दिएको आरोप लागेको थियो । त्यसपछि उनलाई प्रहरी मुख्यालयले परिसरबाट तानेर बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौडा, मकवानपुरमा सरुवा गरेको थियो ।
आन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले बयानका लागि बोलाउने तयारी गरेको भन्दै खापुङले अधिकारीलाई छुटाएका थिए । उनको त्यो कार्यको चर्को आलोचना पनि भएको थियो ।
यससँगै प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने लाइनमा रहेका अधिकारीलाई डीआईजी बढुवा सिफारिसमा २३ दिन ढिला हुँदा फरक पर्छ कि पर्दैन भन्ने विषयहरू पनि बाहिर आएका छन् ।
२०५६ सालमा निरीक्षकबाट प्रहरी प्रवेश गरेका अधिकारी त्यो पदमा रहँदा गरेका तालिम सबैमा पहिलो रहेका थिए । निरीक्षकबाट नायव उपरीक्षक र उपरीक्षक बन्दा तेस्रो वरियतामा बढुवा भएका अधिकारी वरिष्ठ उपरीक्षक बढुवामा एक नम्बरमा बढुवा भएका थिए ।
उपरीक्षक बढुवा हुँदा उनीभन्दा माथि १ र २ नम्बरमा बढुवा भएकाहरू बढुवा भएको केही समयमै अनिवार्य अवकाशमा जाने थिए । तर, डिआईजीपी बढुवामा भने उनलाई एउटा चरणमा छुटाइएको छ ।
यसअघिका केही घटनाक्रम हेर्ने हो भने यो बढुवा सिफारिसले आईजीपी बन्दा केही फरक पर्दैन । प्रहरी अतिरिक्त महानिरीक्षकमा १८ महिनाअघि बढुवा भएका विश्वराज पोखरेललाई पछि पार्दै प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएको ३ दिनमै धिरजप्रताप सिंह आईजीपी भएका थिए । वरिष्ठ उपरीक्षकमा बढुवा हुँदा १३ औँ नम्बरमा रहेका वसन्त कुँवर डीआइजी र एआइजी हुँदा एक नम्बरमा बढुवा भएर आइजीपी बनेका थिए ।
अधिकारी भने आफूले डीआईजीको बढुवा सिफारिस मात्रै भएकाले फुली नलगाउँदै यस विषयमा नबोल्ने बताए । आइजीपीमा बढुवा नियुक्तिमा एक नम्बरमा भएर पनि छुट्दा केही असर गर्छ कि गर्दैन भन्ने प्रश्नमा यसअघिका घटनाक्रमलाई हेर्न उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण