शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

जेनजी आन्दोलनका अगुवाको प्राथमिकतामा परेन दल दर्ता, राष्ट्रिय जेनजी पार्टी नेपाल निष्क्रिय

आयोगमा नयाँ ३७ दलको निवेदन : उस्तैउस्तै पार्टी, थरीथरीका सिद्धान्त
बुधबार, ०३ मङ्सिर २०८२, १५ : ००
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • निर्वाचन आयोगमा ३७ वटा नयाँ दल दर्ताका लागि निवेदन परेको छ, जसमा ६ दलले प्रमाणपत्र पाएका छन्।
  • जेनजी समूह निर्वाचनका लागि दल दर्ता गर्न विभाजित देखिए, कतिपयले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाए।
  • विभिन्न दल र समूहले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्, र केहीले आफ्नो विचार र उद्देश्यबारे जानकारी दिएका छन्।

काठमाडौँ । निर्वाचन आयोगमा दल दर्ता प्रमाणपत्रका लागि ३७ वटा नयाँ दलले निवेदन दिएका छन् । कात्तिक ३० गतेसम्म ३७ वटा दलले निवेदन दिएका हुन् । निवेदन दिएकामध्ये मंगलबारसम्म ६ दलले मात्र प्रमाणपत्र पाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि जेनजी आन्दोलनका अगुवाहरूले दल दर्ताका लागि चासो देखाएका छैनन् । जेनजीको नाममा अहिले २५–३० समूह सक्रिय छन् । सरकारका खेलकुदमन्त्री समेत रहेका बब्लु गुप्ता समूह, ‘हामी नेपाल’का संयोजक सुदन गुरुङ, पुरुषोत्तम यादव, मिराज ढुंगाना, आकृति घिमिरे, रक्षा बम, धिरज जोशी लगायत समूहले आयोगमा दल दर्ताका लागि निवेदन दिएका छैनन् । उनीहरूले आफूहरू निर्वाचनका लागि सडकमा आएको नभई भ्रष्टाचार र बेथितिविरुद्ध आएको जिकिर गर्दै आएका छन् ।

भदौ २३ गते निहत्था विद्यार्थीमाथि निर्मम दमन गर्ने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायत घटनाका जिम्मेवार सबैमाथि कारबाही गर्न उनीहरूले सरकारलाई दबाब दिइरहेका छन् । भ्रष्टहरूलाई कारबाही नभएसम्म निर्वाचनमा जान नसकिने जेनजीहरूको भनाइ छ । यद्यपि परम्परागत दलबाट अलग भएका, चर्चित व्यक्ति, कलाकार, पत्रकार, सामाजिक अभियन्ताहरू जेनजी उमेर समूहको नाममा आयोगमा दल दर्ता गराउन सक्रिय देखिए । जेनजी समूह आपसमा मिल्न नसक्दा एउटै अलाइन्स वा दल बनाउने प्रयास असफल भएको हो ।

यता आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने रास्वपाले जेनजीका विभिन्न समूहसँग छलफल गरेको थियो । यद्यपि संवाद सार्थक नदेखिएको नेताहरूले बताएका छन् । निर्वाचनमा एउटै अलाइन्स बनाएर जाने विषयमा सरकारका ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, रास्वपाबाट अलग भएकी सुमना श्रेष्ठ लगायतले पनि पहल जारी राखेका छन् । एउटै पार्टी वा अलाइन्स बनाएर जाने विषयमा सहमति नजुटेपछि मन्त्री घिसिङले अनुप कुमार उपाध्यायको नेतृत्वमा आयोगमा दल दर्ता गराएका छन् । जेनजी विद्रोहका क्रममा घाइते भएकाहरूको उद्धारमा सक्रिय रहेकी किशोरी कार्कीले पनि अयोगमा दल दर्ताका लागि निवेदन दिएकी छन् । हिराप्रसाद सोतीको नाममा राष्ट्रिय जेनजी पार्टी नेपाल दर्ताको प्रक्रिया निष्क्रिय भएको छ ।

यी बाहेक आयोगमा राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी, जनयुग पार्टी, हाम्रो पार्टी नेपाल, नेपाल राष्ट्रिय युवा पार्टी, राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल, सुन्दर नेपाल निर्माण पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । यसैगरी नागरिक सर्वोच्चता पार्टी नेपाल, राष्ट्रिय स्वराज पार्टी, आवाज पार्टी, सार्वभौम नागरिक पार्टी, नागरिक बचाउ दल नेपाल, राष्ट्र निर्माण दल नेपाल, जनादेश पार्टी नेपाल, पिपुल फर्स्ट पार्टी, नेपाली प्रथम पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपालले पनि निवेदन दिएका छन् ।

राष्ट्रिय स्वाभिमान पार्टी नेपाल, समावेशी समाजवादी पार्टी नेपाल, राष्ट्रिय गौरव पार्टी, एकता पार्टी लगायत पार्टी दर्ता प्रक्रियामै रहेको आयोगका प्रवक्ता भट्टराईले बताए ।

आयोगमा दल दर्ताका लागि निवेदन दिएका केही पार्टीका प्रतिनिधिसँग दलको विचार, सिद्धान्त र उद्देश्यबारे जानकारी लिएका छौँ ।

  • उज्यालो नेपाल पार्टी

ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता प्रक्रियामै छ । अनुप कुमार उपाध्यायको नेतृत्वमा रहेको यो पार्टीको तत्कालीन कार्यनीति मध्यपन्थी रहेको केन्द्रीय सदस्य हिराप्रसाद सोतीले जानकारी दिए । यो पार्टीको दीर्घकालीन लक्ष्य सामुदायिक समाजवाद रहेको उनको भनाइ छ ।

‘सामुदायिक समाजवादको लक्ष्य राखेर उज्यालो पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । तत्कालीन कार्यनीति सेन्टर(मध्यपन्थी) भए पनि दीर्घकालीन रणनीति ‘सेन्टर टु लेफ्ट’ सामुदायिक समाजवादमा पुग्ने हो । वामपन्थीतर्फ थोरै झुकाव रहेको पार्टी बन्छ’, उनले भने ।

  • राष्ट्रिय जेनजी पार्टी नेपाल

सामाजिक उदारवादको लक्ष्य लिएर दल दर्ताका लागि आयोगमा निवेदन दिएको राष्ट्रिय जेनजी पार्टी नेपाल दर्ता नहुने भएको छ । जेनजी विद्रोहपछि हिराप्रसाद सोतीको नेतृत्वमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । जेनजी समूहले छुट्टाछुट्टै दल दर्ता गराउँदा पुरानै राजनीतिक दलहरूले फाइदा उठाउन सक्नेतर्फ ध्यान दिएर दर्ता प्रक्रिया स्थगन गर्न निवेदन दिएको उनले जिकिर गरे । उनी आफैँ अहिले ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपालका केन्द्रीय सदस्य छन् ।

  • नेकपा (माओवादी)

वैज्ञानिक समाजवाद र साम्यवादको उच्च सभ्यतामा पु¥याउने लक्ष्य नेकपा (माओवादी)को छ । यो पार्टीले मार्क्स, लेनिन, स्तालिन, माओ र कम्युनिस्ट विचारलाई आत्मसात् गर्दै आएको छ । नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा, श्रमिक, मजदुर, किसान, देशभक्तको नेतृत्वमा जनवादी सत्ता स्थापाना गर्ने पार्टीको उद्देश्य छ ।

१० वर्षे माओवादी सशस्त्र विद्रोहमा सहभागी भएर शान्ति प्रक्रियामा आएको ७ वर्षमा माओवादीबाट अलग भएर नेकपा गठन भयो । केही समय एकीकृत जनक्रान्तिको बाटोमा लागेको नेकपा २०७८ सालमा फेरि शान्तिपूर्ण बाटोमा फर्किएको थियो । अहिले उत्पादन र जनक्रान्तिलाई सँगसँगै लैजाने नीति नेकपाको छ । निर्वाचनमा भाग लिने उद्देश्यले सुरुमा कम्युनिस्ट पार्टी नेपाल नामको दल दर्ता गर्न आयोगमा निवेदन दिए पनि अन्तिम समयमा दलको नाम संशोधन गरी नेकपा(माओवादी) राखेर आयोगबाट मंगलबार प्रमाणपत्र लिएको छ । विप्लव नेतृत्वको नेकपा (माओवादी) पहिलोपटक निर्वाचनमा भाग लिन लागेको हो । 

  • प्रगतिशील नागरिक पार्टी

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वाम दल मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि माओवादीका नेता जनार्दन शर्मा सहितको समूह अलग भए । पूर्वमन्त्री समेत रहेका सुदन किरातीको संयोजनमा प्रगतिशील राष्ट्रिय अभियान सञ्चालन गरिएको छ । प्रगतिशील समाजवादको परिकल्पना गरेर शर्मा निकट नेता सविन सिग्देलको नेतृत्वमा आयोगमा प्रगतिशील नागरिक पार्टी दर्ता गराएको छ । दर्ता प्रक्रियामै रहेको यो पार्टीले प्रगतिशील समाजवादमा पुग्ने लक्ष्य राखेको छ । यद्यपि वामपन्थी विचारधारा नछाडेको सिग्देलको दाबी छ ।

‘हामीले वामपन्थी विचारधारा छोडेका छैनौँ । छोड्ने कुरा पनि भएन । कम्युनिस्ट भनेपछि धेरै मानिसलाई गोलबन्द गर्न नसकिने भएकाले नयाँ उडान भरेको हो । लोकतान्त्रिक विधि, पद्धति, समावेशी, सबै पेसा, व्यवसायलाई समेट्ने उद्देश्यले यो पार्टी दार्ता गरिएको हो’, उनले भने ।

बाबुराम, जनार्दन र सन्तोष परियारका पार्टीसँग पनि सहकार्य हुन सक्ने भए पनि अहिले नै सहकार्यका लागि केही सोच नबनाएको उनको जिकिर छ ।

  • नेकपा (वामपन्थी केन्द्र)

नेपाली कम्युनिस्टमा सहभागी नभएका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठन गरी अगाडि बढ्ने तयारी गरेका छन् । पुनर्गठित पार्टीका संयोजक रहेका उनले मंसिरको अन्तिम हप्ता राष्ट्रिय भेलाको तयारी गरेका छन् ।

आगामी निर्वाचनमा भाग लिनका लागि भुसालकै संरक्षकत्वमा नेकपा वामपन्थी केन्द्र खुलेको हो । भुसाल निकट रहेका राजकुमार कक्षपती वामपन्थी केन्द्रका अध्यक्ष छन् । मार्क्सवाद र लेनिनवाद मार्गदर्शक सिद्धान्त रहेको यो पार्टीले सबै प्रगतिशील वामपन्थी दलहरूलाई गोलबन्द गर्ने लक्ष्य लिएको छ । यो दल पनि दर्ताको प्रक्रियामै छ ।

  • नवनिर्माण पार्टी

जेनजी आन्दोलनका क्रममा घाइतेलाई अस्पताल लैजान सहयोग गरेर चर्चामा आएकी किशोरी कार्कीले आयोगमा नवनिर्माण पार्टी दर्ताका लागि निवेदन दिएकी छन् । देशभर युवाहरूको भावना बुझ्न अहिले जिल्ला दौडाहमा रहेकी उनले पार्टी निर्माणकै क्रममा रहेको बताइन् ।

उनले भनिन्, ‘जेनजी युवा लगायत सबैको भावनालाई कसरी समेट्न सकिन्छ भन्ने विषयमा छलफलकै क्रममा छौँ । सबैको आवाज सुनेपछि मात्र पार्टीको आगामी योजना बनाउँछौँ । समावेशी सिद्धान्तका आधारमा नै पार्टी निर्माण गर्छौं । महिलाको हक अधिकार प्राथमिकतामा पर्नेछन् । शिक्षा, स्वास्थ्य, रोजगार लगायत पक्षमा हाम्रो विशेष ध्यान जानेछ । अहिले यो पार्टी निर्माणकै क्रममा छ ।’

  • सर्वोदय पार्टी

आयोगले जनस्वराज नामको दल दर्ताको प्रमाणपत्र दिएर पनि सर्वोच्च अदालतले खारेज गरेपछि दिपक साहले सर्वोदय नामको नयाँ दल दर्ता गरेका छन् । दल दर्ताका लागि आवश्यक दस्तावेज लिएर आयोग पुगेका उनले आफ्नो पार्टी समावेशी चरित्रको हुने बताए । समावेशी समाजवादलाई आत्मसात् गर्दै नयाँ दल खोलिएको उनले बताए ।

‘सर्वोदय पार्टी राष्ट्रिय दल हो । हिमाल, पहाड र तराई सबैलाई समेटेर दर्ता गरेका छौँ । आयोगका कमजोरीका कारण जनस्वराज दलको प्रमाणपत्र खारेज भयो । समावेशी समाजवाद, लोकतान्त्रिक विधि प्रक्रियाबाटै यो पार्टी अगाडि बढ्छ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप