गलेश्वर मन्दिरको गजुरमा सुनको जलप
सारांश
- म्याग्दीको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ, जसको लागि स्थानीयले आर्थिक सहयोग गरेका हुन्।
- गलेश्वर मन्दिर विकास कोषको निर्णय अनुसार मन्दिरको छानोमा सुनौलो रङ र गजुरमा सुनको जलप लगाइएको छ, जसले मन्दिरलाई आकर्षक बनाएको छ।
- गलेश्वर मन्दिरमा यसअघि पनि विभिन्न संरचना निर्माण र सौन्दर्यकरणका काम भएका छन्, र यस वर्ष बजार सौन्दर्यकरण योजना पनि सञ्चालन गरिने भएको छ।
म्याग्दी । दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ । गलेश्वर निवासी बमबहादुर पुनले रु चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो) रङ र गजुरमा सुनको जलप लगाएका छन् ।
गलेश्वर मन्दिर विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार कोषको निर्णय र स्वीकृति लिएर पुनले रङरोगन र जलप लगाएका हुन् । कोषका उपाध्यक्षसमेत रहेका उनले यसअघि व्यक्तिगत लगानीमा गलेश्वर मन्दिरमा रहेको शिवजीको ज्योतिएलिङ्गमा चाँदीको मुकुटले छोपेका थिए ।
जलप लगाउन प्रयोग भएको सात ग्राम सुन खरिदमा रु एक लाख ५१ हजार, २७ लिटर सुनौलो रङ खरिद, ढुवानी र ज्यालामा रु दुई लाख ३६ हजार खर्च भएको पुनले जानकारी दिए । गलेश्वर मन्दिरको छानो पित्तल र गजुर तामाको छ ।
यसअघि विसं २०७७ मा कोषको रु २७ लाख आन्तरिक आम्दानीबाट र सहयोगदाता रमेश शर्माको रु पाँच लाख ५५ हजार ५५५ मा मन्दिरको छानोलाई पित्तलले छाइएको थियो । शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर गलेश्वर मन्दिर निर्माण गरेका थिए ।
रङ रोगन र सुनौलो जलप लगाएपछि गलेश्वर मन्दिर चम्किलो र आकर्षक देखिएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।
कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरमा शिवालय मन्दिर छ । हिन्दु धर्मग्रन्थ गलेश्वरमा सतीदेवीको गला पतन भएर उत्पत्ति भएको उल्लेख छ । साउन महिनाको सोमबार, बाला चतुर्दशी र महाशिवरात्रि पर्वमा यहाँ मेला लाग्ने गर्दछ भने दैनिक नित्य पूजाआजा हुन्छ ।
यस मन्दिरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको कोषका अध्यक्ष रेग्मीले बताए । उनका अनुसार यस मन्दिरमा दाताले चढाउने भेटी र दाताको सहयोगबाट सङ्कलित रकम पूर्वाधार निर्माण, स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गरिँदै आइएको छ ।
यस वर्ष बेनी नगरपालिकासँगको साझेदारीमा गलेश्वर बजार सौन्दर्यकरण योजना सञ्चालन र गलेश्वर मन्दिर परिसरमा उज्यालोका लागि १८ मिटर अग्लो तीन हजार २०० वाट क्षमताको ‘हाइमाक्स लाइट’ जडान गर्न लागिएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले जानकारी दिए । उनका अनुसार गलेश्वर बजार क्षेत्रलाई धार्मिक तथा सङ्गितमय बनाउन सात ठाउँमा ‘स्पिकर’ जडान गर्ने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण