बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चीनको लागि जासुसी गर्ने फिलिपिनी पूर्वमेयरलाई आजीवन काराबास

बिहीबार, ०४ मङ्सिर २०८२, १२ : ३३
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • फिलिपिन्सकी पूर्वमेयर एलिस गुओलाई मानव तस्करी र स्क्याम सेन्टर चलाएको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ।
  • गुओमाथि चीनको लागि जासुसी गरेको आरोप पनि लागेको थियो, र उनीमाथि अन्य मुद्दाहरू पनि चलिरहेका छन्।
  • गुओले बाम्बानमा स्क्याम सेन्टर चलाएको आरोप लागेको थियो र उनलाई इन्डोनेसियाबाट सुपुर्दगी गरिएको थियो।

मनिला । चीनको लागि जासुसी गरेको लगायत अनेकौँ आरोप खेपिरहेकी फिलिपिन्सकी एक पूर्वमेयरलाई आजीवन कारावासको सजाय सुनाइएको छ । मानव तस्करी गरेर स्क्याम सेन्टर चलाएको अभियोगमा दोषी ठहर भएपछि ३५ वर्षीय एलिस गुओलाई सो सजाय सुनाइएको हो । 

बिहीबार त्यहाँको एउटा क्षेत्रीय अदालतले गुओसहित ४ जनालाई आजीवन कारावासको सजाय सुनाएको हो । दोषी ठहर भएका सबैलाई २० लाख फिलिपिनी पेसो जरिवाना तिर्न पनि अदालतले आदेश दिएको छ ।

उनी मेयर रहेको सानो सहर बाम्बानमा देशको सबैभन्दा ठुलो स्क्याम सेन्टर सञ्चालन भइरहेको अधिकारीहरूले फेला पारेका थिए । छापा मार्ने क्रममा अधिकारीहरूले विशाल स्क्याम केन्द्रबाट करिब ८०० फिलिपिनो र विदेशीलाई उद्धार गरेका थिए ।

यी केन्द्रमा मान्छेलाई फसाएर अनलाइन ठगीको धन्दामा प्रयोग गर्ने गरेको पाइयो । यो काण्डको पर्दाफास भएपछि गुओ हप्तौँसम्म फरार भइन् । गएको वर्ष प्रहरीले उनलाई समातेपछि गुओले आफू माथिको सबै आरोप अस्वीकार गरेकी थिइन् ।

अदालतको फैसलाको विरुद्धमा गुओले पुनरावेदनमा मुद्दा हाल्छिन् कि हाल्दिनन् भन्ने स्पष्ट भएको छैन । गुओविरुद्ध अझै ५ वटा मुद्दा चलिरहेको छ । एउटामा उनीमाथि कालो धनलाई सेतो बनाएको अभियोग लागेको छ ।

२०२२ मा गुओ बम्बानको मेयर बनेकी थिइन् । तर फिलिपिनी स्क्याम सेन्टरहरूबारे खुलासा भएपछि २०२४ मा सो सहरले सबैको ध्यान खिच्यो । यहाँ अनलाइन क्यासिनोको आडमा अनलाइन ठगीको धन्दा व्यापक रूपमा सञ्चालन भइरहेको पाइयो । सुरुमा गुओले यसबारे आफूलाई केही पनि थाहा नभएको बताएकी थिइन् ।

तर छानबिनको क्रममा ३६ वटा भवन भएको सो स्क्याम सेन्टर यस अघि गुओको नाममा रहेको जग्गामा बनेको थाहा भयो । खोजविनको क्रममा गुओ फिलिपिन्समा नभएर चीनमा जन्मिएको र उनी किशोरी हुँदा परिवारको साथमा फिलिपिन्स आएको पनि थाहा भयो । थप खोजी गर्ने क्रममा गुओको औँलाको छाप गुओ हुवा पिङ नाम गरेकी  चिनियाँ नागरिकसँग मेल खायो । 

उनले चीनको लागि जासुस गरेको आशङ्का पनि गरिएको थियो । यसपछि उनलाई तत्कालै मेयरबाट हटाइयो । थप विवरणहरू आउँदै गर्दा २०२४ को जुलाईमा गुओ बेपत्ता भइन् । सोही वर्षको सेप्टेम्बरमा इन्डोनेसियामा पक्राउ परेपछि फिलिपिन्सलाई उनको सुपुर्दगी गरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप