बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले राजनीति

अध्यक्षमा उठ्ने ईश्वरकाे घाेषणा, ओलीलाई भने– तपाईं बिदा लिनुस्

‘म माधव नेपाल र भीम रावल हाेइन’
बिहीबार, ०४ मङ्सिर २०८२, २२ : ०५
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरे।
  • पोखरेलले ओलीलाई पार्टीको सक्रिय राजनीतिबाट बिदा लिन र अभिभावक बन्न सुझाव दिएका थिए।
  • ओलीले प्रतिस्पर्धा गर्न चेतावनी दिँदै पार्टी एकता कायम राख्न आग्रह गरे भने पोखरेलले माधव नेपाल र भीम रावल नभएको बताए।

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । 

बिहीबार बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीलाई पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएर अभिभावकीय भूमिकामा रहन सुझाव दिँदै आफूले पार्टी हाँक्ने बताएका हुन् । 

‘तपाईं पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिनुस् । म अब पार्टी हाँक्छु, तपाईँले नमाने म महाधिवेशनमा प्रतिस्पर्धा गर्छु ’,बैठकमा पोखरेलले राखेको धारणा उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘तपाईंका पछिल्ला कार्यशैली, व्यवहार, दृष्टिकोण र निर्णय ठिक छैनन् । जनताले रुचाएका पनि छैनन् ।’

पोखरेलले भदौ २३ र २४ को घटना र त्यसपछिको स्थितिको विश्लेषण गर्दै ओलीलाई बिदा लिन सुझाव दिएका हुन् । जवाफमा ओलीले आफू नछोड्ने र प्रतिस्पर्धा गर्नेभए स्वस्थ प्रतिस्पर्धा गर्न चेतावनी दिएका थिए । 

‘प्रतिस्पर्धा गर्न पाइन्छ । तर पार्टी एकता कायम हुनुपर्छ ।  विगतमा प्रतिस्पर्धा गर्नेहरू अहिले कहाँ छन् भन्ने पनि ख्याल गर्नुहोला’, ओलीले पोखरेललाई भनेका छन्, ‘ठिक छ प्रतिस्पर्धा गरौँ ।’ 

ओलीले यति भनेपछि पुन पोखरेल बोलेका थिए । उनले आफू माधव नेपाल र भीम रावल नभएको बताएका छन् । एमालेको महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौँमा हुँदैछ । 

पोखरेलसहितका नेताहरूलाई पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको साथ रहने बताइएको छ । बिहीबारको सचिवालय बैठकमा नेताहरूले विद्याको सदस्यताबारे सोधखोज गर्दा ओलीले केही बताएनन् ।

बरु मधेसको तनावबारे प्रसङ्ग निस्किएपछि महासचिव शंकर पोखरेलले मुख्यमन्त्री सरोज यादवले राजीनामा दिनु उपयुक्त हुने धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप