दसैँ-तिहार सकिएसँगै विदेश जान चाहने बढे, तर छैन पासपोर्ट
सारांश
- भदौ २४ को आन्दोलनमा राहदानी विभागमा आगजनी हुँदा राहदानी अभाव भएको छ, जसले गर्दा वितरण प्रणालीमा समस्या आएको छ।
- राहदानी अभावको मौका छोपेर बिचौलियाहरू सक्रिय भएका छन् र सेवाग्राहीसँग रकम ठगी गर्ने प्रयास भइरहेको छ, जसमा १५ जना पक्राउ परेका छन्।
- सरकारले राहदानी आपूर्तिका लागि फ्रान्सेली कम्पनी आइडेमियासँग सम्झौता गर्ने प्रयास गरिरहेको छ, तर मूल्यको विषयमा सहमति हुन सकेको छैन।
काठमाडौँ । भदौ २४ को जेनजी आन्दोलनका क्रममा राहदानी विभागमा पनि तोडफोड र आगजनी भयो । जसकारण तयार भइसकेका राहदानी र वितरण गर्ने सामग्रीहरू जलेर नष्ट भए । यतिबेला राहदानीको अभाव देखिएको छ ।
राहदानीको सहज आपूर्तिका लागि सरकारले विभिन्न उपाय खोजिरहेको छ । राहदानी विभागसँग डेढ लाख प्रति राहदानी मात्रै बाँकी छ । राहदानी अभावको मौका छोपेर अहिले बिचौलियाहरु सक्रिय भएका छन् । राहदानी बनाउन आउने सेवाग्राहीहरूलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्न खोज्ने प्रवृत्ति देखा परेको छ । छिटो राहदानी बनाइदिने भन्दै सेवाग्राहीबाट रकम लिएर ठगी गरेको आरोपमा हालसम्म १५ जनालाई पक्राउ गरेको राहदानी विभागले जनाएको छ ।
आगजनी र तोडफोडले विभागमा मात्रै होइन, राहदानी वितरण गर्ने देशभरका अधिकांश जिल्ला र इलाका प्रशासन कार्यालयहरूमा समेत क्षति पुग्यो । यसले वितरण प्रणालीमा समेत समस्या उत्पन्न भएको छ । सरकारले विदेशी नियोगदेखि विभाग, जिल्ला प्रशासन, इलाका प्रशासनबाट गरी दैनिक चार-पाँच हजार राहदानी वितरण गर्थ्यो । अहिले दैनिक दुई हजारमा झारिएको छ ।
विभागका एक अधिकारी भन्छन्, ‘राहदानीको माग अहिले ह्वातै बढेको छ, तर हामीसँग पर्याप्त राहदानी छैन । भण्डारमा भएका राहदानी पनि सकिन लागेका छन् । अब कुनै वैकल्पिक उपाय ननिकाले समस्या हुन्छ ।’
जेनजी आन्दोलनपछि विदेश जान रोकिएकाहरूले राहदानी बनाउन थालेका छन् । चाडपर्व मनाएर विदेश जानेहरू पनि अहिले राहदानी बनाउन खोजिरहेका छन् । ‘अहिले माग अनुसार पुर्याउने अवस्था छैन । त्यही भएर अति आवश्यक भएकाले मात्र राहदानी लिन आग्रह गरेका छौं,’ ती अधिकारीले भने ।
अन्तरिम व्यवस्थापनका लागि वैकल्पिक उपाय खोजिरहेको र दुई सातासम्ममा समस्या समाधान हुने विभाग बताउँछ । परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर क्षेत्री विभिन्न कारणले अहिले अभाव देखिएका कारण राहदानी वितरणमा कटौती गरिएको र केही दिनमै सहज हुने बताउँछन् ।
राहदानी विभाग स्रोतका अनुसार सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनी आइडेमियासँगै राहदानी लिने तयारी भइरहेको छ । १५ वर्षदेखि नेपाललाई राहदानी दिएको आइडेमियाको म्याद गत वर्ष नै सकिएको थियो । राहदानी छाप्ने काम जर्मनीको कम्पनीले पाएको छ । उक्त कम्पनीले फागुन दोस्रो सातादेखि मात्र राहदानी दिने भनिएले नेपाल सरकारको विकल्पमा पुन: आइडेमियालाई गुहारेको हो ।
विभागका अनुसार आइडेमियाले पहिलेदेखि नै नेपाली राहदानी छापिरहेकाले उसले तत्काल दिन सक्ने भएकाले आग्रह गरिएको हो । तर रकममा कुरा नमिलेको कारण केही ढिलाइ भएको हो । स्रोतका अनुसार आइडेमियाले प्रति राहदानी १५.५१ अमेरिकी डलर प्रस्ताव गरेको छ । त्यसलाई नेपाल सरकारले स्विकार गरेको छैन । यसअघि आइडेमियाले नै प्रति राहदानी १०.१३ अमेरिकी डलरमा आपूर्ति गरेको थियो । तर तर अहिले उसैले बढाएर मागि रहेको छ । कम्पनीले बाध्यताको फाइदा उठाउन खोजेको जस्तो छ ।
परराष्ट्र मन्त्रालयले जर्मन कम्पनीलाई पनि राहदानी चाँडै आपूर्ति गरिदिन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले जर्मन राजदूतलाई बोलाएर राहदानीको बारेमा छलफल गरेकी छिन् । राहदानीको अभाव भएकाले सम्झौता अगाडि नै आपूर्ति गर्न प्रधानमन्त्री कार्कीले आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुनै उपाय ननिस्के विभागले एमआरपी राहदानी छपाइको प्रयास समेत गरिने जनाएको छ । सरकारले २०७९ मंसिरदेखि विद्युतीय राहदानी वितरण सुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण