शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

महाधिवेशन विवाद मिलाउन कांग्रेस शीर्ष नेताहरू छलफलमा

शुक्रबार, ०५ मङ्सिर २०८२, १७ : ४८
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसका पदाधिकारीहरू पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विवाद मिलाउन छलफलमा जुटेका छन्।
  • कार्यवाहक सभापति र महामन्त्रीहरूले मध्यमार्गी बाटोबाट सहमति खोज्ने प्रयास गरिरहेका छन्।
  • दुई प्रस्तावका कारण महाधिवेशनबारे विवाद चर्किएपछि शीर्ष नेताहरू समाधान खोज्न अनौपचारिक छलफलमा छन्।

काठमाडौँ । पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद मिलाउन नेपाली कांग्रेसका पदाधिकारीहरू छलफल गरिरहेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले विवादको निरूपण गर्न मध्यमार्गी बाटोबाट सहमति जुटाउने प्रयासमा लागेका हुन् ।

पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महाधिवेशनका सम्बन्धमा देखिएको विवाद समाधानका लागि शीर्ष तहका नेताहरू अहिले अनौपचारिक छलफलमा रहेको जानकारी दिए । 

‘कार्यवाहक सभापति, महामन्त्रीहरूलगायतका नेताहरू महाधिवेशन विवाद मिलाउने मध्यमार्गी बाटो खोज्न अनौपचारिक छलफल गरिरहनु भएको छ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘भोलि बैठक बस्छ । केही न केही मध्यमार्गी प्रस्ताव ल्याउन नेताहरूमाथि दबाब छ । ल्याउनु हुन्छ ।’

गत असोज २८ गतेबाट जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका सम्बन्धमा दुई प्रस्ताव पेस भएका छन् ।

कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । त्यसैदिन थापाको प्रस्तावलाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।

महामन्त्री थापाको प्रस्तावलाई इतर समूहले र सहमहामन्त्री यादवको प्रस्तावलाई संस्थापन समूहले समर्थन गरेपछि विवाद चर्किएको छ । केही नेताहरूले दुवै प्रस्तावलाई मिलाएर मध्यमार्गी प्रस्ताव ल्याइ विवाद समाधान गर्न प्रयास गरिरहेका छन् । त्यसमा पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्यायलगायत छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ गते बिहीबारबाट विवाद नमिलेपछि सूचना टाँस्दै स्थगित हुँदै आएको छ । बैठक शनिबार १ बजेका लागि बोलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप