विवाह पञ्चमी महोत्सव : फूलबारी लीला धूमधामका साथ सम्पन्न
सारांश
- जनकपुरधाममा जारी सीताराम विवाह पञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला सम्पन्न भयो।
- पौराणिक मान्यताअनुसार, फूलबारी लीलामा राम र लक्ष्मणले सीतालाई पहिलो पटक भेटेको स्मरण गरिन्छ।
- महोत्सवमा शुक्रबार तिलकोत्सव, शनिबार धनुष यज्ञ, र विवाह पञ्चमी समारोह आयोजना हुनेछ।
जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको दोस्रो दिन आज ऐतिहासिक फूलबारी लीला धूमधामका साथ सम्पन्न भएको छ । महोत्सवको प्रमुख आकर्षण मानिने यो पौराणिक झाँकी अवलोकन गर्न बिहानदेखि नै भक्तजनहरूको भीड लागेको थियो ।
पौराणिक मान्यताअनुसार राम लक्ष्मणले प्रथमपटक जानकीलाई देखेको पुष्प बाटिकालाई स्मरण गर्दै आज भगवान् राम र लक्ष्मणका स्वरूपमा सिँगारिएका बालबालिकालाई फूलबारी परिक्रमा गराइयो । साँझतिर विवाह मण्डप नजिकको फूलबारी क्षेत्रमा आयोजित कार्यक्रमले महोत्सवको वातावरण झनै उल्लासपूर्ण बनाएको थियो।
जानकी मन्दिरका सह महन्त रामरोशन दासका अनुसार यही पुष्प बाटिकामा राम सिताको पहिलो पटक भेट भएको विश्वास रहिआएको छ । यही क्षणलाई जीवित राख्न बर्सेनि फूलबारी लीला गरिनु धार्मिक–सांस्कृतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।
महोत्सवको पहिलो दिन : राम लक्ष्मणलाई सहर परिक्रमा
बिहीबार महोत्सवको पहिलो दिन राम लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो । सहरको मुख्य मार्ग परिक्रमा गराउँदै बालरूपका राम लक्ष्मणलाई भक्तजनहरूले दर्शन गरेका थिए ।
महोत्सवअन्तर्गत शुक्रबार तिलकोत्सव, शनिबार धनुष यज्ञ, मङ्सिर ८ गते राम–जानकी मटकोर र मङ्सिर ९ गते मुख्य विवाह पञ्चमी समारोह आयोजना हुने कार्यक्रम तय भएको छ । मङ्सिर १० गते रामकलेवा गरी महोत्सव विधिवत् रूपमा सम्पन्न गरिने जनाइएको छ ।
विवाह पञ्चमी अवलोकन र पूजा आराधनाका लागि देश–विदेशबाट श्रद्धालुहरूको आगमन दिन प्रतिदिन बढिरहेको जनाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण