बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मनोरञ्जन

हल र थिएटरमा एकसाथ दर्शकको क्रेज

सोमबार, १५ मङ्सिर २०८२, १० : ०८
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • जाडो मौसम सुरु भएपछि नेपाली कला क्षेत्रमा उत्साह थपिएको छ, फिल्म र नाटक दुवैले दर्शकको साथ पाइरहेका छन्।
  • बक्स अफिसमा नेपाली फिल्मको राज छ, 'परान' ले राम्रो कमाइ गरिरहेको छ भने अन्य फिल्महरू पनि दर्शकको रोजाइमा परेका छन्।
  • काठमाडौँका विभिन्न थिएटरहरूमा नाटकहरू मञ्चन भइरहेका छन्, जसमा 'मिलारेपा', 'महारानीको जात्रा' र 'के अस' जस्ता नाटकहरू दर्शकले रुचाएका छन्।

काठमाडौँ । जाडो मौसम सुरु भएसँगै नेपाली कला क्षेत्र तातेको छ । नेपाली फिल्म प्रदर्शन भइरहेका मल्टिप्लेक्सदेखि सिङ्गल स्क्रिनसम्म दर्शकले भरिभराउ छन् । 

फिल्ममात्र होइन, नाटकघर (थिएटर)हरूमा पनि कला पारखीहरूको भिड उस्तै लोभलाग्दो छ । पर्दामा चल्ने फिल्म र मञ्चमा देखिने नाटक दुवै विधाले यतिबेला दर्शकको साथ पाइरहेका छन् । नेपाली कला क्षेत्रका लागि यो समय निकै सुखद् बनेको छ ।

  • बक्स अफिसमा नेपाली फिल्मको राज

विदेशी फिल्मको दबदबा रहने नेपाली बक्स अफिसमा यतिबेला नेपाली फिल्मले एकछत्र राज गरिरहेका छन् । हाल प्रदर्शनरत ८ फिल्ममध्ये ५ वटा नेपाली फिल्म हुनुले पनि यसको पुष्टि गर्छ । अहिले ‘हर्ष’, ‘जारी २’, ‘मन बिनाको धन’, ‘परान’ र ‘जेरी अन टप’ जस्ता स्वदेशी फिल्मले नेपाली दर्शकलाई हलसम्म तानिरहेका छन् ।

‘हर्ष’ गत शुक्रबार रिलिज भएकाले यसको व्यसायलाई अन्य फिल्मसँग तुलना गर्ने समय आइसकेको छैन । फिल्मले रिलिजको दिनदेखि नै दर्शकको राम्रो साथ पाइरहेको बताइन्छ । यसको बक्सअफिस रिपोर्ट आउन बाँकी छ ।

सामाजिक कथामा आधारित फिल्म ‘परान’ व्यवसायका दृष्टिले सबैभन्दा अगाडि दौडिरहेको छ । गत कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मको क्रेज अझै घटेको छैन । फिल्मले प्रदर्शनको २७ औँ दिन बुधबारसम्म सिनेपाः बक्स अफिसमा १५ करोड ३२ लाख रुपैयाँ ग्रस कमाएको छ ।

यस्तै, असोज ३१ गते रिलिज भएको ‘जेरी अन टप’ पनि लामो रेसको घोडा साबित हुँदै बक्स अफिसमा बलियो पकड जमाएको छ । यो फिल्मले १२ करोड १९ लाख रुपैयाँभन्दा बढी कमाएको बक्सअफिस रिपोर्टमा उल्लेख छ । ‘जारी २’, ‘मन बिनाको धन’ पनि केही सातादेखि प्रदर्शनमा छन् ।

थिएटरको अवस्था कस्तो छ ?

हलमा फिल्मको राम्रै व्यवसाय चलिरहँदा धेरैको मनमा प्रश्न उठ्न सक्छ, ‘के ग्ल्यामर र स्टारडमको छायामा रङ्गमञ्च (थिएटर) ओझेलमा परेको छ ?’ 

फिल्मको व्यापार बढिरहँदा थिएटर पनि दर्शकको मन जित्न सफल हुँदै आएका छन् । यतिबेला थिएटरहरूमा पनि ‘हाउसफुल’को रौनक छ । काठमाडौँका प्रमुख तीन थिएटर– मण्डला (थापागाउँ), कान्तिपुर (गैरीधारा) र कौसी (टेकु)मा तीन फरक स्वादका नाटक मञ्चन भएका छन् । तीनै स्थानमा दर्शकको उपस्थिति उत्साहजनक छ ।

थापागाउँस्थित मण्डला थिएटरमा अहिले ११औँ शताब्दीका तिब्बती योगी एवं कवि मिलारेखाको जीवनमा आधारित नाटक ‘मिलारेपा’ हेर्न दर्शकको भिड छ । चर्चित कलाकार बुद्धि तामाङ र उमेश तामाङको परिकल्पना तथा निर्देशन रहेको यो नाटकले एक साधारण मानिस कसरी तान्त्रिक शक्ति सम्पन्न योगी बन्छ भन्ने यात्रालाई देखाउँछ ।

natak milarakha

करिब पौने दुई घण्टाको यो नाटकमा मिलारेपाको भूमिकामा रुपेश लामाले अभिनय गरेका छन् । गत कात्तिक तेस्रो सातादेखि प्रदर्शनमा आएको यो नाटक आगामी मंसिर २१ गतेसम्म चल्ने छ । नाटकले दर्शकलाई पापबोधदेखि ज्ञानप्राप्तिसम्मको आध्यात्मिक यात्रा गराइरहेको छ ।

नाटक सुरुका दिनदेखि नै हाउसफुल रहेर मञ्चन भइरहेको मण्डला थिएटरकी प्रज्ञा बिष्ट बताउँछिन् । ‘यो समय नाटकका लागि राम्रो पनि हो’, उनले भनिन्, ‘नाटक राम्रो भएर पनि सुरुदेखि नै दर्शक देखिएका छन् ।’ 

विगतका वर्षमा पनि जाडोको समय नाटकले राम्रै दर्शक पाउने गरेको बिष्ट सुनाउँछिन् । 

गैरीधारास्थित कान्तिपुर थिएटरमा अहिले नाटक ‘महारानीको जात्रा’ मञ्चन भइरहेको छ । रेखा थापा र जीवन लुइँटेललाई रङ्गमञ्चमा उतारेर चर्चा कमाएको कान्तिपुर फिल्म एकेडेमी (कान्तिपुर थिएटर) ले यसपटक अभिनेत्री उषा रजकलाई मञ्चमा उभ्याएको छ । 

दिपल बरालको निर्देशन र रमेश पुरीको निर्माण रहेको यस नाटकमा उषा रजक, राज न्यौपाने लगायतका कलाकारहरूको अभिनय छ । ‘मीरा’ र ‘शिरीषको फूल’ को सफल मञ्चनपछि कान्तिपुरले यो नाटक ल्याएको हो । यो नाटक हेर्न वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठदेखि विभिन्न सेलिब्रेटी पुगिरहेका छन् । गत कात्तिक २४ गतेदेखि मञ्चन सुरु भएको नाटक मंसिर २० गतेसम्म चल्नेछ । 

त्यस्तै, टेकुस्थित कौसी थिएटरमा पनि नाटक ‘के अस’ले दर्शक राम्रो पाइरहेको छ । इलुममणि दीक्षित र विजय आनन्द ताम्राकारको लेखन, निर्देशन र अभिनय रहेको यो नाटक ‘डार्क कमेडी’ शैलीमा छ । भदौ २३ र २४ को घटनापश्चात कलाकारहरूले अनुभूत गरेको मानसिक छटपटी र सामाजिक मनोदशालाई अभिव्यक्त गर्ने उद्देश्यले तयार गरिएको नाटकले असम्भव परिस्थितिभित्र मानवीय भावना, अराजकता र मनोविज्ञानको खोज प्रस्तुत गर्छ । शुक्रबार (मंसिर १२)देखि मञ्चन भइरहेको यो नाटक मंसिर २१ सम्म मञ्चन हुनेछ ।

नाटक ‘के अस’ सुरु भएको भर्खर दुई दिन भयो । सुरुका दिनदेखि नै दर्शक राम्रो रहेको कौसी थिएटरका म्यानेजमेन्ट हेर्दै आएका अर्जुन निरौलाले बताए ।

निरौलाका अनुसार जाडोको सिजनमा अघिल्ला वर्ष पनि नाटकले राम्रो दर्शक पाउँदै आएका थिए । अहिले देशको परिस्थिति तनावग्रस्त भएकाले पनि दर्शक नाटक र फिल्ममा रमाउन थालेको उनको धारणा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप