कांग्रेस गण्डकीका नेता : जिल्ला अधिवेशन दोस्रो चरणमा गए कहिले गर्ने ?
सारांश
- नेपाली कांग्रेसले महाधिवेशनको मिति पुस २६ देखि २८ गतेसम्म तोकेको छ।
- जिल्लास्तरीय नेताहरूले निर्वाचनमा ५१ प्रतिशत मत नआए दोस्रो चरणको अधिवेशन कहिले हुने भन्ने आशंका व्यक्त गरेका छन्।
- केही नेताहरूले विधान र तालिका हेर्दा महाधिवेशन हुने संकेत नदेखाएको र तालिका सच्याउनुपर्ने बताएका छन्।
पोखरा । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले महाधिवेशनको मिति टुंगो लगाएको छ । पुस २६ देखि २८ गतेसम्म हुने महाधिवेशनका लागि तल्लो तहदेखि नै तालिका सार्वजनिक भएको छ । सार्वजनिक भएको तालिका अनुसार एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन पुस २१ गते, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस २२ गते, प्रदेश अधिवेशन पुस २३ र २४ गते तोकिएको छ ।
जिल्लास्तरीय नेताहरुले २१ र २२ गतेको जिल्ला अधिवेशनको पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाए अधिवेशन दोस्रो चरणको अधिवेशन कहिले हुने भन्ने अन्योल हुनसक्ने आशंका गरेका छन् ।
कास्कीका जिल्ला सभापति किशोरदत्त बरालले भने, ‘नियमित महाधिवेशन स्वागतयोग्य छ, तर यसले केही महत्त्वपूर्ण प्रश्नहरु भने उठाएको छ । पहिलो चरणमा ५१ प्रतिशत मत नपाए दोस्रो चरण कहिले गर्ने ?’ उनले दोस्रो चरण थाँती राखेरै प्रदेश अधिवेशनमा जान सक्ने अवस्था नरहेको बताए । समयरेखा र प्रक्रिया हेर्दा महाधिवेशन हुनुपर्ने दिशातर्फ संकेत नगरेको उनको भनाइ छ ।
कांग्रेस विधान अनुसार, जिल्ला, प्रदेश र केन्द्रको सभापति निर्वाचित हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत पाउनुपर्छ । अन्य तहको निर्वाचन र अन्य पदाधिकारी तथा सदस्यहरुमा यो व्यवस्था लागु छैन । कांग्रेसका गोरखा जिल्ला सभापति नन्दप्रसाद न्यौपाने पनि विधानको व्यवस्था र घोषित मिति हेर्दा आशंका गर्ने ठाउँ प्रशस्त देख्छन् ।
‘अहिलेको मिति घोषणा गर्नुलाई स्वागत गर्नुपर्छ । तर विधान र तालिका हेर्दा महाधिवेशन हुने संकेत देखाउँदैन,’ उनले भने, ‘तालिका सच्याउनुपर्छ । कम्तीमा केही दिन ग्याप रहने गरी निर्वाचनको तालिका हुनुपर्छ ।’
उनले एउटै व्यक्ति तल्लो तहदेखि निर्वाचित हुँदै आउनुपर्ने प्रावधानका कारण उसको भौतिक उपस्थितिविना निर्वाचन सम्पन्न नहुने अवस्था भएकाले कम्तीमा नतिजा र अर्को अधिवेशनमा सहभागी हुन जाने समयलाई ख्याल राख्नुपर्ने सुझाव दिए । ‘निर्वाचन त हुन्छ, तर मतगणना कहिले गर्ने ? गणनाको रिजल्ट ननिस्किँदै अर्को चुनावमा जाने कुरा हुँदैन । मतपरिणाम आएपछि पनि अर्को चुनावमा पुग्न लाग्ने बाटोको अवधि हेर्नुपर्छ,’ उनी भन्छन्, ‘बाटोको म्याद र गणनाको समय हेर्नुपर्छ । ५० प्रतिशत भन्दा बढी भोट ल्याउनैपर्ने पदमा दोस्रो पटक निर्वाचनको समय हुनुपर्छ ।’
कांग्रेस गण्डकीले मंसिरभित्रै विशेष वा नियमित महाधिवेशन टुंग्याउन माग गर्दै केन्द्रलाई ध्यानाकर्षण गराएको थियो । प्रदेशस्तरीय भेला राखेर सर्वसम्मत रुपमा निर्णय गरेर केन्द्रमा पत्र पठाएको हो । केन्द्रीय समितिले तोकेको तालिकामा नियमित महाधिवेशनमाथि आशंका गर्दै धेरै नेताहरुले विशेषका लागि तयार रहन तल्लो तहसम्म सूचित गरेका छन् । क्षेत्रीय सभापतिहरुले महाधिवेशन अनिवार्य भएपनि टार्ने काम गर्न लागेको आशंका गरेका छन् ।
निर्वाचनअघि महाधिवेशन गर्न नहुने कित्तामा उभिएका बागलुङका सभापति जित शेरचन केन्द्रीय समितिले गरेको निर्णय अव्यावहारिक भएको बताउँछन् । ‘हिमाली जिल्लाका मान्छे बेंसी झरिसके । जिल्लामा कसलाई भेटेर क्रियाशील नवीकरण र नयाँ वितरण गर्ने ? अधिवेशन कहाँ गर्ने ?,’ उनले भने, ‘अहिले संगठनात्मक महाधिवेशन सहज छैन । कागजी गर्ने भए भन्नु छैन ।’ उनले क्रियाशील सदस्यता वितरणमै दुई महिना लाग्ने भन्दै प्रक्रिया बाहिरबाट काम गर्न नसकिने बताए ।
‘केन्द्रमा बसेर साम्राज्य कब्जा गरिन्छ भन्ने भूतबाट मुक्त हुनुपर्छ । संगठन गर्ने हो भने क्रियाशील वितरण गर्न दुई महिना लाग्छ । प्रतिनिधि खटाउनुपर्छ, भेला गर्नुपर्छ । टोल समितिको अवस्था के छ भनेर हेर्नुपर्छ,’ उनले अगाडि भने, ‘क्रियाशील रिन्यु भएपनि चुनावी तालिका कसरी मिल्छ ? यो निर्णय अपरिपक्व र केटाकेटीवाला भयो ।’
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा महाधिवेशन अनिवार्य सर्त भएपनि तालिकाले आशंका गर्ने ठाउँ दिएको बताउँछन् । तर तालिकाभित्रै काम गरिसक्ने प्रतिबद्धता उनले जनाएका छन् । ‘केन्द्रीय समितिबाट निर्णय भएर आएको तालिका निकै कसिलो छ । देशको विषम परिस्थिति र पार्टीको बाध्यताको चाप छ,’ उनले भने, ‘यही चापलाई हेरेर हामी तोकिएकै समयमा आफ्ना काम भत्ते गर्न तयार छौं, गर्छौं ।’ प्रदेशका सबै जिल्लामा क्रियाशील सदस्यता नवीकरणको काम टुंगिएको भएपनि केही जिल्लाले बुझाउन बाँकी रहेको उनले बताए ।
नयाँ सदस्यता पनि तुरुन्तै वितरण गरिने उनको भनाइ छ । ‘सबैको कार्यकाल सकिएको छ । प्रदेश समितिले पनि तुरुन्तै महाधिवेशन गर्नुपर्छ भनेर माग पठाएको छ,’ शर्मा भन्छन्, ‘हामी हाइ स्पिरिटमा गएर काम गर्दा सम्पन्न गर्न सकिन्छ भन्नेमा विश्वस्त छौं ।’ अहिले कार्यकाल सकिने थाहा भएपनि नियमित प्रक्रियाहरुमा वास्ता नगरेका कारण अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण