बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

पुरानालाई धक्का दिने तयारीमा नयाँ दल

कुन दलले के गर्दैछन् ?
मङ्गलबार, १६ मङ्सिर २०८२, २० : ००
मङ्गलबार, १६ मङ्सिर २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नयाँ राजनीतिक दलहरू आ–आफ्नै ढंगले तयारी गरिरहेका छन् । निर्वाचन आयोगले निर्वाचनका लागि कात्तिक ३० गतेसम्म दल दर्ता प्रमाणपत्र लिने समय तोकेको थियो । 

मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समयसीमाभित्र नयाँ र पुराना गरी १२० दलले दर्ता गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । दल दर्ताको प्रमाणपत्र पाउने नयाँ दल मात्रै २१ वटा छन् । निवेदन दिएका १६ दलले आवश्यक कागजात जुटाउन नसक्दा निर्वाचन प्रयोजनका लागि प्रमाणपत्र पाउन सकेनन् ।

बहुमत ल्याउने तयारीमा रास्वपा

निर्वाचनमा भाग लिन योग्य नयाँ दलहरूले समान विचार, सिद्धान्त मिल्ने चुनावी तालमेल, एउटै चिन्ह प्रयोगदेखि पार्टी एकताको कसरत जारी राखेका छन् । आफूलाई वैकल्पिक मूलधारको राजनीतिक पार्टी दाबी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आइतबार विवेकशील साझा पार्टीसँग एकता गरेको छ । २०७९ सालको निर्वाचनभन्दा पाँच महिनाअघि मात्रै खुलेको रास्वपाले २१ सिट जितेको थियो । समानुपातिकतर्फ ११ लाख ३५ हजार मत प्राप्त गरेको थियो । 

रास्वपाले आगामी निर्वाचनमा परम्परागत दलहरूलाई धक्का दिनेगरी आयोगमा दर्ता भएका अन्य नयाँ पार्टीसँग पनि छलफल अगाडि बढाएको छ । कात्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले समानुपातिकतर्फका उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएको छ । सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको उम्मेदवार छनोट समितिले रुपरेखा नै तयार बनाएर प्रक्रिया सुरु गरिसकेको छ । कात्तिक २२ देखि मंसिर २५ गतेसम्म उम्मेदवार बन्न इच्छुक व्यक्तिले ५० हजार रुपैयाँ आवेदन शुल्क तिरेर अनलाइन फारम भर्न सकिने आचार्यले जानकारी दिए ।

उपसभापति डा. स्वर्णिम वाग्ले संयोजकत्वको राजनीतिक संवाद समितिले विभिन्न १२ दलसँग छलफल गरिरहेको महामन्त्री कवीन्द्र बुर्लाकोटी बताउँछन् । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँग एकताको सम्भावना लगभग टरेको बुर्लाकोटीको भनाइ छ । यद्यपि चुनावी सहकार्यको सम्भावना कायमै रहेको उनी बताउँछन् । 

‘पुराना दलहरूसँग हाम्रो चुनावी तालमेल र सहकार्य हुँदैन । निर्वाचन आयोगमा दर्ता भएका विभिन्न १२ वटा दलसँग सहकार्यका लागि छलफल भइरहेको छ । निर्वाचनमा बहुमत ल्याउने गरी चुनावी तयारीमा जुट्छौँ’, बुर्लाकोटी भन्छन् । 

उज्यालो पार्टी नेपालसँग पार्टी एकताकै तहमा छलफल भएपनि घिसिङलाई कार्यकारी उपाध्यक्ष बनाउने प्रस्ताव आएपछि रास्वपाले अस्वीकार गरेको थियो । रास्वपाले सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिवद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीमा विश्वास गर्दै आएको छ । शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै आएको छ ।

कुन दलको के छ तयारी ?

जेनजी विद्रोहपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ । सुरुमा निर्वाचनमा लागि सकारात्मक नदेखिएका ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले पनि आयोगमा दल दर्ता अध्यावधिक गरिसकेकाले चुनावी वातावरण सकारात्मक बन्दै गएको छ । यी दुवै दल निर्वाचन अगाडि नै नयाँ नेतृत्व छान्न महाधिवेशनको तयारीमा छन् । 

साविक नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादी लगायत १५ वटा वाम घटकसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाएको छ । अहिले पार्टी एकता सन्देश र चुनावी प्रचारका लागि नेकपा देश दौडाहामा छ । 

यता जेनजी विद्रोहपछि खुलेका नयाँ दलहरूले उनीहरूको भावना र बलिदानीलाई खेर जान नदिन एकता, सहकार्य र चुनावी तालमेलसम्मका रणनीतिक तयारीमा जुटेका छन् । जेनजी पुस्ताले पुरानो सत्ता ढालेपनि संगठित भएर निर्वाचनमा जाने वातावरण बन्न नसक्दा फेरि परम्परागत दलहरू नै आउन सक्नेतर्फ उनीहरू सचेत देखिएका छन् । निर्वाचनको माध्यमबाट पुराना दललाई रोक्न रास्वपा, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, सुदन गुरुङ, ऊर्जामन्त्री समेत रहेका कसलमान घिसिङबिच सहकार्यको प्रयास सफल भइसकेको छैन । यी बाहेक आयोगमा दर्ता भएका २१ दलले आ–आफ्नै ढंगले चुनावी तयारी गरेका छन् ।   

श्रम संस्कृति पार्टी

२०७९ सालको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा कांग्रेस र एमालेका उम्मेदवारलाई अत्याधिक मतले हराएर निर्वाचित भएपछि हर्क साम्पाङ चर्चामा आए । धरान उपमहानगरपालिकाभित्र भएका भ्रष्टाचार र बेथिति विरुद्ध लागातार खबरदारी अभियान चलाए । निर्वाचित भएपछि नगरवासीलाई जनश्रमदान मार्फत् पानी खुवाएपछि उनी थप लोकप्रिय भए ।

जेनजी विद्रोहपछि अन्तरिम सरकारको प्रधानमन्त्री दाबी गर्न आएका साम्पाङ सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएकोमा असन्तुष्टि व्यक्त गर्दै घर फर्किए । साम्पाङ अहिले श्रम संस्कृति पार्टी खोलेर चुनावी अभियानमा दौडिएका छन् । सार्वजनिक रुपमा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने नीति लिएका उनी अन्य दलसँग सहकार्य गर्ने पक्षमा देखिएका छैनन् । उनले नेपालको माटो सुहाउँदो श्रमवादमा आधारित भएर पार्टी निर्माण गरेको दाबी गरेका छन् ।  

गतिशील लोकतान्त्रिक पार्टी

दिनेशराज प्रसाईं अध्यक्ष रहेको गतिशील लोकतान्त्रिक पार्टीले १० वर्षमा सय मिलियन डलर कुल ग्राहस्थ उत्पादन गर्ने लक्ष्य राखेको छ । आर्थिक समृद्धि र समतामूलक समुन्नत नेपाल निर्माण गर्ने उद्देश्यसाथ पार्टी गठन गरेको प्रसाईंको दाबी छ ।  

‘लामो म्याराथनका साथ यो पार्टी गठन भएको हो । हामी अन्य दल जस्तो समाजवाद बेचेर खाँदैनौँ । विचारको हिसाबले मध्यपन्थी बाटो पार्टीले अवलम्बन गरेको छ । आगामी निर्वाचनमा २० प्रतिशत उम्मेदवार अन्य नयाँ दलसँग तालमेल गर्ने नीति रहेको छ । यसबारे बैठकले निर्णय गर्नेछ’, उनी भन्छन् । 

नागरिक उन्मुक्ति पार्टी, नेपाल

 २०७९ सालको निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएको नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिच मतभेद हुँदा विभाजन भयो । अघिल्लो निर्वाचनमा चार सिट जितेको नाउपाले चौधरी र श्रीमती समेत रहेकी अध्यक्ष श्रेष्ठबिच अन्तरविरोध चर्केपछि कबीर सोपको नेतृत्वमा नाउपा नेपाल आयोगमा दर्ता भएको छ । नाउपा नेपालको संरक्षक चौधरी नै रहेका छन् । 

आगामी निर्वाचनमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एउटै चिन्ह लिएर निर्वाचनमा भाग लिने सहमति भएको छ । चुनाव चिन्ह नाउपा नेपालको लिने सहमति भएको छ । मौलिक मूल्य र मान्यतामा आधारित भएर पार्टी खुलेको संरक्षक चौधरीले जिकिर गरे । चुनावी तालमेल गर्ने सन्दर्भमा अन्य पार्टीसँग पनि छलफल भइरहेको उनले बताए ।

‘राजनीतिमा छलछाम चल्दैन । हामी लेफ्टिस पनि होइन, राइटिस पनि होइन । विचार मिल्नेसँग सहकार्य गर्छौँ । यस विषयमा दीपक साह नेतृत्वको पार्टीसँग सम्झौता भएको छ । हर्क साम्पाङले कोहीसँग सहकार्य गर्दिन भनेकाले भएन । उज्यालो नेपालसँग पनि छलफल गरेको तर कुरा मिलेन’, चौधरी भन्छन्, ‘बाबुराम र जनार्दनसँग सहकार्य गर्ने कुरा चलिरहेको छ । राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन मुद्दा मिल्ने सबैसँग सहकार्य गर्छौँ ।’

नेकपा (माओवादी)

वैज्ञानिक समाजवाद र साम्यवादको उच्च सभ्यतामा पुर्‍याउने लक्ष्य साथ नेकपा (माओवादी) दर्ता गरेका नेत्रविक्रम चन्द विप्लव पहिलो पटक निर्वाचनमा भाग लिन लागेका हुन् । कार्ल मार्क्स, लेनिन, स्टालिन, माओ र कम्युनिस्ट विचारलाई आत्मसात गर्दै उनले विचार मिल्ने शक्तिसँग मिलेर नयाँ कम्युनिस्ट केन्द्र बनाउने नीति लिएका छन् । नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा, श्रमिक, मजदुर, किसान, देशभक्तको नेतृत्वमा जनवादी सत्ता स्थापना गर्ने पार्टीको उद्देश्य छ ।

१० वर्षे माओवादी सशस्त्र विद्रोहमा सहभागी भएर शान्ति प्रक्रियामा आएको सात वर्षमा माओवादीबाट अलग भएर उनले नेकपा गठन गरे । केही समय एकीकृत जनक्रान्तिको बाटोमा लागेको नेकपा २०७८ सालमा फेरि शान्तिपूर्ण बाटोमा फर्किएका थिए । अहिले उत्पादन र जनक्रान्तिलाई सँगै लैजाने नीति लिएका विप्लवले एमालेसँग चुनावी तालमेल गर्ने नीति खुला राखेका छन् । 

तत्कालीन समाजवादी मोर्चाका संयोजक समेत रहेका उनले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय केन्द्रीय समिति बैठकबाट अनुमोदन गराएका थिए । तर मोर्चामा आबद्ध भएका अन्य तीन दल सहित १५ घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि उनी मोर्चाबाट अलग भए ।

राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल

विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद योगेन्द्र मण्डलले राष्ट्रिय उर्जाशील पार्टी, नेपाल आयोगमा दर्ता गरेका छन् । लामो समय एमाले राजनीतिमा क्रियाशील रहेका मण्डलले अघिल्लो निर्वाचनमा मोरङ–५ बाट निर्वाचित भएका थिए ।

मण्डलले पुराना पार्टी नसुध्रिएकाले उनीहरूले प्रयोग गरेका आयतीत सिद्धान्तलाई रिफ्रेन्स लिएर नयाँ दल खोलेको बताए ।  आफ्नो पार्टी कुनै वाद नभई नेपालवाद भएको उनले जिकिर गरे ।

‘नेपाल नेपालीले नै बनाउनुपर्छ । यहीँकै स्रोत र साधनले नेपाल बनाउने हो । मसँग दुई विकल्प थिए । पहिलो अन्य पार्टीमा मिसिने । दोस्रो नयाँ पार्टी खोल्ने । प्रचण्ड, ओली, देउवासँग हिजो जे भयो भयो आज सुध्रिन्छन् कि भनेर पटक-पटक झक्झकाएँ, तर सुध्रिएनन्’, उनी भन्छन्, ‘जेनजी भाइबहिनीले जे गरे राम्रो गरे । पुराना पार्टी नसुध्रिएपछि नयाँ दल खोल्ने निर्णयमा पुगेँ ।’

अघिल्लो निर्वाचनमा स्वतन्त्र सांसद जितेका किरण साह नेतृत्वको राष्ट्रिय एकता अभियानसँग एकताको प्रयास सफल नभएपछि अन्य विकल्प नसोचिएको उनको भनाइ छ । 

उज्यालो नेपाल पार्टी

पूर्व ऊर्जासचिव रहेका अनुपराज उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टीको संरक्षक वर्तमान मन्त्री समेत रहेका कुलमान घिसिङ छन् । रास्वपासँग एकता गर्ने प्रयास असफल भएपछि उनी अहिले बालेन शाहसँग चुनावी तालमेल गर्ने गरी छलफलमा जुटेका छन् । 

सामाजिक अभियन्ता खगेन्द्र सुनारको दल हाम्रो पार्टी नेपालबिच एउटै चुनाव चिन्ह लिने सहमति भइसकेको छ । बलेको चिम चिन्ह लिएर निर्वाचनमा जाने सम्झौता भएको छ । तत्कालीन कार्यनीति मध्यपन्थी रहेको यो पार्टीको दीर्घकालीन लक्ष्य सामुदायिक समाजवाद रहेको छ ।

स्वाभिमान पार्टी

सत्यवान कुमार सिंह नेतृत्वको स्वाभिमान पार्टी अर्को हप्ता जनकपुरमा घोषणा हुँदैछ । प्राथमिकता मधेस प्रदेशलाई दिएको छ । अहिले कुनै दलसँग तालमेल गर्ने पक्षमा नभएको सिंहले जानकारी दिए ।

जेनजी पुस्ताले उठाएको कुरामा समर्थन गर्दै शिक्षा, स्वास्थ्यमा जोड दिने र पुरानो पार्टीका संरचनालाई विघटन गरेर नयाँ संरचना बनाउने पार्टीको नीति भएको उनी बताउँछन् । 

‘उम्मेदवार घोषणा गर्नु छ भने एक वर्षअघि नै सार्वजनिक गर्नेछौँ । भोलि चुनाव छ, बेलुका टिकट दिने काम गर्दैर्नौँ । समावेशी सिद्धान्तलाई बढी जोड दिन्छौँ । यो वादी वा त्यो वादी भन्दा पनि समाजको यथार्थ के हो त्यही अनुसार अगाडि बढ्छौँ’, उनी भन्छन् । 

हाम्रो पार्टी नेपाल

हाम्रो पार्टी नेपाल पार्टी खोलेका अभियन्ता खगेन्द्र सुनार दलित समुदायमाथि भएका अत्याचार, शोषण र दमनका विरद्ध अभियान चलाएर चर्चामा आएका हुन् ।

कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने सूचीमा रहेर पनि असावधानीवश एउटै नाम गरेका अर्का व्यक्तिको बहुविवाह मुद्दा सार्वजनिक हुँदा मन्त्री बन्न रोकिएका थिए । सयौँ वर्षदेखि समाजमा जगडिएर रहेका जातीय उत्पीडन खेपेका दलित समुदायको हकहित र मुक्तिका लागि नयाँ दल खोलेको उनले जिकिर गरेका छन् ।   

नागरिक सर्वोच्चता पार्टी नेपाल

रत्नप्रसाद श्रेष्ठ नेतृत्वको नागरिक सर्वोच्चता पार्टी नेपालले नयाँ पुराना दलसँग असन्तुष्ट कार्यकर्तालाई फकाएर आफूतिर तान्ने प्रयास गरिरहेको छ । अन्य दलसँगको संयन्त्रमा समेत छलफल गरेको यो पार्टीले सचेत नेपाली पार्टीसँग एउटै चुनाव चिन्ह प्रयोग गर्ने सहमति गरेको सचिव भरत खड्काले जानकारी दिए । खड्काका अनुसार नाम र दस्तावेज नागरिक सर्वोच्चताको र चुनाव चिन्ह सचेत नेपालीको लिने सहमति भएको छ ।

सामाजिक नागरिकतन्त्र राजनीतिक अभियानमा दुई वर्षदेखि सक्रिय रहेको उनले जिकिर गरे । यो पार्टीको वैचारिक र सैद्धान्तिक लाइन रैथाने मूल्य र मान्यतामा आधारित मौलिक विचार अवलम्बन गरेको छ । बुद्धको दर्शनलाई मार्गदर्शन सिद्धान्त मानेको यो पार्टीले नागरिकलाई सर्वोच्चतामा विश्वास गरेको छ । स्थानीय मौलिकता, निर्माण, उत्पादन र बजारिकरण र नागरिक समृद्धि यो पार्टीको लक्ष्य रहेको छ ।

प्रगतिशील नागरिक पार्टी

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वाम दल मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि माओवादीका नेता जनार्दन शर्मा सहितको समूह अलग भए । सोही क्रममा अलग भएका सविन सिग्देलले प्रगतिशील नागरिक पार्टी खोले । प्रगतिशील समाजवादको परिकल्पना गरेर पार्टी खोलिएको सिग्देलले बताए । यद्यपि वामपन्थी विचारधारा नछाडेको उनको दाबी छ ।

‘हामीले वामपन्थी विचारधारा छोडेका छैनौँ । छोड्ने कुरा पनि भएन । कम्युनिस्ट भनेपछि धेरै मानिसलाई गोलबन्द गर्न नसकिने भएकाले नयाँ उडान भरेको हो । लोकतान्त्रिक विधि, पद्धति, समावेशी, सबै पेसा, व्यवसायलाई समेट्ने उद्देश्यले यो पार्टी दार्ता गरिएको हो’, उनले भने ।

सिग्देलले बाबुराम, जनार्दन र सन्तोष परियारको पार्टीसँग पनि सहकार्य हुन सक्ने बताएका छन् ।

सर्वोदय पार्टी

आयोगले जनस्वराज नामको दल दर्ताको प्रमाणपत्र दिएर पनि सर्वोच्च अदालतले खारेज गरेपछि इन्जिनियर दीपक साहले सर्वोदय नामको नयाँ दल दर्ता गरे । समावेशी समाजवादलाई आत्मसात गरी नयाँ दल खोलिएको साह बताउँछन् । उनले विचार र मुद्दा मिल्ने सबैसँग निर्वाचनमा सहकार्य हुन सक्ने बताए । 

प्रगतिशील लोकतान्त्रिक पार्टी

माओवादी केन्द्रले एकीकृत समाजवादी लगायत १५ वटा वाम घटकसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि जनार्दन शर्मा, राम कार्की, सुदन किराती लगायत नेताहरूले पूर्वनेता बाबुराम भट्टराईसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन् । यो पार्टीमा रास्वपाबाट विद्रोह गरी आएका सन्तोष परियार पनि छन् । 

पाँच जना अध्यक्ष परिषद् गठन गरेको यो दलले १५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । भट्टराई संरक्षक रहेको नेसपा नयाँ शक्तिले प्रयोग गरेको चुनाव चिन्हलाई प्रलोपाले प्रयोग गरेको छ । रास्वपा, नाउपा नेपाल, जनमत पार्टी, जेनजीका विभिन्न समूहसँग एकता र सहकार्य गर्ने प्रयास जारी राखेको यो दलले युवाहरूलाई अगाडि बढाउने नीति लिएको छ ।

यी बाहेक राजेश प्रतेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टी, रियाज अहमद शेग नेतृत्वको राष्ट्रिय जनमत पार्टी, अकबर खान नेतृत्वको राष्ट्र निर्माण दल नेपाल, प्रशान्त सिंह नेतृत्वको पिपुल फर्स्ट पार्टी, सञ्चारकर्मी ऋषि धमला र कलाकार एलिजा गौतम संरक्षक रहेको जनादेश पार्टी नेपाल पनि चुनावी तायारीमा जुटेको छ । यो पार्टीको अध्यक्षमा रवणकुमार कर्ण छन् । 

यस्तै गणेशकुमार मण्डल नेतृत्वको सार्वभौम नागरिक पार्टी, श्रृया केसी नेतृत्वको नागरिक सेवा पार्टी, नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल नेतृत्वको सम्मुनत नेपाल पार्टी, प्रकाश खड्का नेतृत्वको नेपाल जनसेवा पार्टी र मेडिकल व्यवसायी दुर्गा प्रसाईं संरक्षक रहेको नागरिक बचाउ दल नेपालले पनि चुनावी तालमेलदेखि एकतासम्मका प्रयास गरेका छन् । यो पार्टीको अध्यक्ष माधवप्रसाद खतिवडा छन् ।

यी हुन् आयोगमा निवेदन दिएर दल दर्ता प्रमाणपत्र नपाएका नयाँ दल

१. नेपाल लिवरल पार्टी – अध्यक्ष, गोपीलाल न्यौपाने
२. नेपाल राष्ट्रिय युवा पार्टी – अध्यक्ष, हिमालयबहादुर चन्द
३. सुन्दर नेपाल निर्माण पार्टी – अध्यक्ष, चन्द्रप्रकाश सुवेदी
४. नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र)– अध्यक्ष, राजकुमार कक्षपति 
५. आवाज पार्टी – अध्यक्ष, सुन्दरराम बोहरा
६. नेपाली प्रथम पार्टी – अध्यक्ष, प्रशान्त आचार्य
७. जनता लोकतान्त्रिक पार्टी, नेपाल – अध्यक्ष, अशोककुमार यादव
८. राष्ट्रिय स्वाभिमान पार्टी, नेपाल – अध्यक्ष, सन्दीप उप्रेती
९. समावेशी समाजवादी पार्टी – अध्यक्ष, नुमा लिम्बु
१०. राष्ट्रिय गौरव पार्टी – अध्यक्ष, टीकाराम पुरी
११. एकता नेपाल – अध्यक्ष, जीवन लिम्बु
१२. नवनिर्माण पार्टी – अध्यक्ष, किशोरी कार्की
१३. राष्ट्रिय सनातन पार्टी नेपाल– अध्यक्ष, लक्ष्मीप्रसाद खतिवडा
१४. जनअधिकार पार्टी – अध्यक्ष, शरद्सिंह यादव

१५. न्यु नेस्लिस्ट पार्टी – अध्यक्ष, काजल अधिकारी
१६. उदार लोकतान्त्रिक पार्टी – अध्यक्ष, शम्भु पोखरेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप