मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाल-चीनबिच कृषि सहकार्यमा जोड, भैँसीको मासु निर्यात र कृषि पार्क स्थापना मुख्य प्राथमिकता

शुक्रबार, १९ मङ्सिर २०८२, १६ : ४१
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • कृषि मन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता भयो, जसमा कृषि क्षेत्रको विकासबारे छलफल भयो।
  • मन्त्रीले नेपाल-चीनबीचको मित्रतालाई कृषि र पशुपालनको माध्यमबाट अझ बलियो बनाउने प्रतिबद्धता जनाए।
  • बैठकमा कृषि पार्क स्थापना, बीउ उत्पादन र खाद्य प्रशोधन उद्योगको विकासमा जोड दिइयो।

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम चेन सङबिच शुक्रबार भेटवार्ता भएको छ । बैठकमा मन्त्री परियारले नेपाल–चीनबिचको दीर्घकालीन मित्रतालाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

उनले आधुनिक, दिगो र जलवायु–मैत्री कृषि प्रणालीको विकास, उत्पादन वृद्धि तथा द्विपक्षीय व्यापार विस्तारका लागि चीनको प्राविधिक, संस्थागत र व्यापारिक सहकार्यलाई नेपालका लागि महत्त्वपूर्ण रहेको बताए । विभिन्न प्रोटोकल, अवधारणा–पत्र तथा सहकार्य संयन्त्रहरूको प्रभावकारी कार्यान्वयनका लागि दुई देशबीच निरन्तर संवाद र साझेदारी आवश्यक रहेको उनको भनाइ छ ।

चिनियाँ राजदूत सङले बैठक अत्यन्तै सकारात्मक वातावरणमा सम्पन्न भएको जानकारी दिए । उनले भविष्यका लागि प्राथमिकतामा रहेका क्षेत्रहरूका रूपमा कृषि पार्क स्थापना, हाइब्रिड धान र आलुका बीउ उत्पादन, उच्च उत्पादन क्षमता भएका मकैका जातहरूको प्रवर्द्धन तथा खाद्य प्रशोधन उद्योग विकासलाई उजागर गरे ।

क्षमता अभिवृद्धि, मिश्रित मल उत्पादन, रोगमुक्त भैँसीको मासुको निर्यात, र कृषि प्रदर्शन पार्क स्थापना जस्ता मुख्य विषयहरूमा केन्द्रित रहेको उक्त बैठकमा दुवै पक्षले नेपालको कृषि क्षेत्र सुदृढ पार्न प्राविधिक सहयोग, लगानी र ज्ञान आदानप्रदानको महत्वमा जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप