पोर्चुगलको मदेइरामा घुम्ती शिविर सुरुः पहिलो दिन ५५ नेपालीले लिए सेवा
पोर्चुगल । पोर्चुगलको लिस्बनस्थित रहेको नेपाली दूतावासले सामुद्रिक टापु ‘मदेइरा’मा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको टोलीले मदेइरा आइल्यान्डको फुन्चालमा घुम्ती शिविर सञ्चालन गरेर शनिबारदेखि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो । घुम्ती सेवाको पहिलो दिन आज ५५ जना सेवाग्राही नेपालीले सेवा लिएको टोलीले जनाएको छ ।
राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई घुम्ती शिविरमार्फत मदेइरामै सेवा दिन सुरु गरिएको राजदूत पौडेलले बताए । दुई दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट मदेइरा क्षेत्रमा बसोबास गर्ने एक सय बढी नेपालीले सेवा लिने अपेक्षा गरिएको उनले बताए । आइतबारसम्म सञ्चालन हुने शिविरमा उपस्थित भई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन राजदूत पौडेलले मदेइरावासी नेपाली समुदायलाई विशेष आग्रहसमेत गरे ।
शिविर अवधिभर दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद छ महिनाभन्दा कम रहेकाको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्नेछ ।
यस्तै प्रहरी रिपोर्ट, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका सेवा प्रदान गरिने दूतावासले जनाएको छ । दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो । घुम्ती शिविरले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका मदेइरावासी नेपालीलाई राहत मिलेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदीले बताए । विशेषतः शिविरबाट पोर्चुगलको कागजी प्रक्रियामा रहेका तर राहदानी नै नभएका, म्याद सकिएका, हराएका र अन्य कागजात प्रमाणीकरण गर्नुपर्ने नेपालीहरूलाई राहत मिलेको उनको भनाइ छ ।
घुम्ती शिविरबाटै दूतावासको सेवा पाउँदा सामुद्रिक टापु मदेइरा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि अत्यन्तै सहज भएको सुवेदीले बताए ।
यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेर दुई सय नेपालीलाई सेवा दिएको थियो । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ७० हजारको हाराहारीमा रहेको अनुमान छभने मदेइरामा दुई हजार बढीको हाराहारीमा नेपाली रहेको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण