कार्की ब्यांक्वेटबाट ईश्वरको फायर– माधव र भीमको दृष्टान्त दोहोरिन्न
सारांश
- एमाले महाधिवेशनमा अध्यक्ष पदका लागि ईश्वर पोखरेलले केपी ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरे।
- पोखरेलले ओलीलाई सहमति र अभिभावकीय भूमिकाको शर्त तेर्साए, अन्यथा प्रतिस्पर्धा गर्ने संकेत गरे।
- पोखरेलले पार्टी विभाजन नगर्ने र प्रतिस्पर्धामा पराजित भए पनि एमालेमै रहने बताए।
काठमाडौँ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका नेता ईश्वर पोखरेलले बुधबार आफ्ना कुरा राख्न प्रमुख सञ्चार माध्यमका सम्पादकहरूसँग साक्षात्कार गरे ।
काठमाडौँको थापाथलीस्थित कार्की ब्यांक्वेटमा सम्पादकहरूलाई बोलाएर पोखरेलले पहिला उनीहरूका कुरा सुने । त्यसपछि केही प्रश्नको जवाफ दिए भने केही आफ्ना विचार सुनाए । करिब २ घण्टाको साक्षात्कारमा पोखरेललाई सम्पादकहरूले प्रश्न सोध्दा नै ५० मिनेट बितिसकेको थियो । सोधिएका प्रश्नहरूको संक्षिप्त जवाफ दिएका पोखरेलले आफ्नो भनाइ करिब ३० मिनेटमा सकाए ।
साक्षात्कारमा सहभागी पोखरेललाई प्रश्न सोध्ने धेरैजसो सम्पादक र पत्रकारले आसन्न एमाले महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्दा पराजित भएमा विगतमा माधव नेपाल र भीम रावलको अवस्थासँग तुलना गरे ।
प्रश्नकर्ताहरू केहीले नेकपा एमालेको भावी अध्यक्षका लागि पोखरेललाई शुभकामना दिँदै एमालेभित्रको लोकतन्त्र मात्र होइन, मुलुककै लोकतन्त्र सङ्कटमा परेको अवस्थामा लोकतान्त्रिक धारका दलहरूबीचको संवाद र सहकार्यका साथै एमाले महाधिवेशन तथा नेतृत्व परिवर्तनले मुलुकलाई दिने निकासको कार्ययोजनाबारे सोधीखोजी गरे ।
पत्रकारहरूको प्रश्न सुनिसकेपछि पोखरेलले धेरै प्रश्नको जवाफ 'स्किप' गरे । समग्रमा उनले एमाले महाधिवेशनमा आफ्नो र आफ्नो समूहको उम्मेदवारी किन भन्ने प्रश्नलाई केन्द्रमा राखेर जवाफ दिने प्रयत्न गरे पनि ओली र आफूमा व्यक्तिको अनुहारमा भिन्नताबाहेक आफूले जिते पनि ल्याउने परिवर्तनबारे थप प्रस्ट पार्न चाहेनन् । सायद उनी समयको चाप र प्रश्नबाट घेरिएका थिए, थिचिएका थिए ।
विशेषतः उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र विधि पद्धतिको विषयलाई मुख्य एजेन्डा बनाएर आफूले अध्यक्षमा दाबी गर्न लागेको दलिल पेस गरे । आफ्नो टिममा खुलेका हालका पदाधिकारीहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, गोकर्ण बिष्ट र योगेश भट्टराईलाई साथमा राखेर प्रस्तुत भएका पोखरेलले सहमति र अभिभावकीय भूमिकाको शर्त प्रतिस्पर्धी ओलीसामु तेर्याए ।
अन्तरक्रियाको केन्द्रबिन्दुमा महाधिवेशनमा नेतृत्व चयनको विषय नै थियो । एमालेभित्र सर्वसम्मत नेतृत्व चयनको रटान चलिरहँदा पोखरेलले भने त्यसलाई एक शर्तसहित मात्र स्वीकार्य हुने स्पष्ट पारे । उनले अहिलेको परिस्थितिमा अन्य कुनै तरिकाले सहमति जुट्ने सम्भावना आफूले नदेखेको प्रस्ट्याए । सहमतिका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले अब नेतृत्व छाड्नुपर्ने र 'अभिभावकीय भूमिका'मा बस्नुपर्ने बटमलाइन पोखरेलले अघि सारे ।
‘सहमति हुनसक्छ, तर अहिलेको सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिकामा बस्ने र उहाँले महाधिवेशन हलमा औपचारिक ढङ्गले अबको नेतृत्व फलानो हो भन्नुभयो भने सहमति हुनसक्छ । त्यस्तो अवस्थामा मात्र सहमति हुन्छ, नत्र अरू हिसाबमा सहमति हुन्छ जस्तो मलाई लाग्दैन,’ पोखरेलको सङ्केत थियो ।
उनको यो भनाइले एमालेभित्र नेतृत्वका लागि ओलीलाई निर्विरोध छाड्ने पक्षमा पोखरेल नरहेको स्पष्ट सङ्केत गरेको छ । उनले घुमाउरो पारामा यदि ओलीले आफूबाहेक अरू कसैलाई ९जस्तै तेस्रो व्यक्तिलाई० पनि प्रस्ताव गरेमा आफू बाधक नबन्ने प्रस्टै खुलाए ।
एक सम्पादकले ‘तपाईं बाहेक अरूलाई छोडे पनि तपाईं मान्न तयार होरु’ भनेर सोधेको प्रश्नमा उनले ओलीले आफू हटेर प्रस्ताव ल्याएको खण्डमा आफ्नो कुनै आपत्ति नहुने बताए । तर, स्वयं ओली नै उम्मेदवार बन्ने हो भने आफू प्रतिस्पर्धाबाट पछि नहट्ने पोखरेलले दृढता जनाए । आफू आफ्नो शैली र विचारमा अडिग रहने बताउँदै पोखरेलले भने, ‘म त म हो नि, म अरू कोही जस्तो हुन सक्दिनँ ।’
साक्षात्कारमा पनि आफ्नो मौलिकतालाई नगुमाएका पोखरेलले माधव नेपाल र भीम रावलसँगको तुलनाको जवाफमा त्यो दृष्टान्त नदोहोरिने दाबी गरे ।
महाधिवेशनमा अध्यक्ष जित्ने दाबी गरेका पोखरेलले यदि पराजित भए पनि आफू र आफ्नो समूह पार्टी विभाजनको पक्षमा नरहेको र भीम रावलको जस्तो निष्क्रियता पनि नरोक्ने स्पष्ट पारे । ‘भीम रावलजी र माधव नेपालको जस्तो दृष्टान्त हाम्रो हकमा लागु हुँदैन । हामी प्रतिस्पर्धा गर्छौं र विजय प्राप्त गर्छौं भन्ने विश्वास छ । कथंकदाचित नतिजा पक्षमा नआए पनि हामी नेकपा एमालेको पक्षमा, नेकपा एमाले भएर सधैँ रहिरहन्छौँ,’ पोखरेलको जवाफ थियो । एमालेको वर्तमान संरचना र आन्दोलन आफूहरूले नै बनाएको घर भएको भन्दै पोखरेलले एमालेरुपी घर छोडेर कतै नजाने उद्घोष गरे ।
प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर पक्षको रूपमा व्याख्या गरेका पोखरेलले प्रतिस्पर्धाबाट प्राप्त नतिजा स्वीकार्नु उन्नत राजनीतिक संस्कारबाट पछि हट्न नहुने जिकिर गरे । ‘एउटा समस्या हामीमा के छ भने प्रतिस्पर्धा गर्न तत्पर हुने तर प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई स्वीकार गर्न नसक्ने । यो राजनीतिक संस्कारमा रहेको कमजोरी हो,’ उनले भने, ‘हामी दृढतापूर्वक के कुरामा उभिन्छौँ भने प्रतिस्पर्धा गरिन्छ भने त्यसको परिणामलाई स्वीकार गरिन्छ ।’
माधव नेपालको बाटो (विभाजन) र भीम रावलको बाटो (किनारा लाग्ने) दुवै अस्वीकार गर्दै पार्टीभित्रै रहेर सङ्घर्ष र विधि स्थापना गर्ने बाटो रोजेको सन्देश दिँदै पोखरेलले थप भने, ‘जाने कुरा भनेको कहाँ जानेरु हामीले बनाएको घर, हामीले बनाएको यो संरचना, त्यसमै हामी दृढतापूर्वक उभिरहन्छौँ ।’
विधिको शासन र सामूहिक नेतृत्वमा जोड
पोखरेलले आफ्नो उम्मेदवारीलाई पदको लडाइँभन्दा पनि ‘पार्टी जीवनको लोकतान्त्रिकरण’ को मुद्दासँग जोडेर व्याख्या गरे । उनले एमालेभित्र पछिल्लो समय सामूहिक नेतृत्व प्रणाली कमजोर भएको र विधि मिचिएकोमा आफूहरूको चिन्ता रहेको बताए । ‘सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ नगर्ने हो भने कुनै पनि पोलिटिकल पार्टी, अझ त्यसमा कम्युनिस्ट पार्टी चल्न सक्दैन,’ पोखरेलको भनाइ छ ।
उनले वर्तमान ओली नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै भने, ‘हाम्रो कार्यसम्पादन गर्ने शैली त्रुटिपूर्ण हुँदै गयो जसले गर्दा हाम्रा सही विचारहरू जनतामा पुग्ने कुरामा समस्या खडा भयो ।’ सत्य एउटा हुने तर घोषणा अर्कै हुने, गल्ती कमजोरी महसुस नगर्ने प्रवृत्ति पार्टी नेतृत्वमा हाबी हुँदा जनताको बहुदलीय जनवाद (जबज) मान्ने पार्टीमा लोकतान्त्रिकीकरणको सवालमा प्रश्न उठ्न पुगेको पोखरेलको निष्कर्ष सुनियो ।
‘नेतृत्वको बारेमा पनि हामीले खास कुरा उठाएको पनि होइन, तर यस बीचमा एउटा शृङ्खला छ, कार्यसम्पादन शैली त्रुटिपूर्ण भयो,’ सीपी मैनालीको उदाहरण दिँदै एमालेको इतिहासमा ठुला–ठुला ‘मिथक नायक’ जस्ता नेताहरू पनि समयक्रममा परिवर्तन भएको स्मरण गराए । नक्खु जेल ब्रेक गरेर निस्केका, दन्त्य कथाको राजकुमार जस्तो छवि बनाएका सीपी मैनालीलाई समेत महासचिवबाट बिदा गर्नुपर्ने स्थिति आएको प्रसङ्ग कोट्याउँदै उनले अहिले पनि नेतृत्व परिवर्तन समयको माग भएको दाबीलाई दोहोर्याए ।
आयोगमा बयान र ओलीको अवज्ञामाथि टिप्पणी
जेनजी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रम र जाँचबुझ आयोगको विषयमा पनि पोखरेलले खुलेरै कुरा राखे । विशेषगरी आयोगले बयानका लागि बोलाउँदा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले जान अस्वीकार गरेको सन्दर्भमा पोखरेलको मत भिन्न देखियो । उनले कानुनी राज्य र सरकारी आयोगलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै स्पष्ट शब्दमा भने, ‘सरकारले बनाएको आयोगमा बयान दिन जाने कुरा स्वाभाविक हो । म भएको भए अझै अगाडि नै गएर बयान दिने थिएँ । त्यसको अवज्ञाले राम्रो गर्दैन ।’ यद्यपि, उनले आयोगका अध्यक्षको भूमिका र तटस्थतामाथि भने प्रश्न उठाए ।
आयोगका अध्यक्षले सामाजिक सञ्जालमा पहिले नै पूर्वाग्रह देखिने गरी अभिव्यक्ति दिएको भन्दै उनले निष्पक्ष छानबिनमा शङ्का व्यक्त गरे । तर, शङ्का हुँदाहुँदै पनि आयोगलाई ‘फेस’ गर्नुपर्ने र आफ्ना तथ्यहरू राख्नुपर्ने उनको तर्क थियो । ‘हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ,’ पोखरेल विश्वस्त देखिन्थे ।
भदौ २३ गतेको आन्दोलन र २४ को घटनाक्रमलाई छुट्याएर हेर्नुपर्ने भन्दै पोखरेलले सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालको प्रयोगजस्ता मागहरू जायज भएको र एमाले त्यसको पक्षमै रहेको सुनाए । तर, आन्दोलनको आवरणमा घुसपैठ भएको र षड्यन्त्रपूर्ण घटनाहरू पनि भएको भन्दै उनले छानबिन गरी दुवै दिनका दोषीमाथि कारबाहीको माग गरे ।
संसद् विघटन प्रतिगामी र भावी रोडम्याप
जनताबाट निर्वाचित संस्था भङ्ग गर्नु उचित नभएको र त्यसले संविधानलाई चिथोर्ने काम गरेको पोखरेलको भनाइ थियो । ‘संविधान कमजोर बनाउने काम त गरियो,’ पोखरेलले राष्ट्रपतिले थोरै भए पनि संविधान बचाउने काम गरेको बताए । अबको निकास के त भन्ने प्रश्नमा उनले स्पष्ट रोडम्याप अघि सारे– प्रतिनिधि सभाको पुनर्स्थापना, संविधान संशोधन र निर्वाचन ।
सर्वोच्च अदालतमा विचाराधीन विषय भएकाले सडक आन्दोलनभन्दा पनि विधिबाटै निकास खोज्नुपर्नेमा जोड दिएका पोखरेलले भने, ‘प्रतिनिधि सभाले नै संविधान संशोधन गर्न सक्छ । जेन(जी आन्दोलनका माग सम्बोधन गर्न पनि संविधान संशोधन आवश्यक छ ।’ सर्वदलीय वा नागरिक स्तरको सरकार बनाएर निर्वाचनमा जान सकिने विकल्प सुझाए पनि एमाले लोकतान्त्रिक पार्टी भएकाले चुनावबाट नभाग्ने र जुनसुकै बेला चुनाव सामना गर्न तयार रहेको पोखरेलले सुनाए ।
वाम एकता र विद्याको अधिकार
वामपन्थी एकताको सवालमा पोखरेलले ‘नामको मात्र वामपन्थी’ नभई ‘कामको वामपन्थी’ एकतामा जोड दिए । विगतको एकता साँचो अर्थमा हुन नसकेको टिप्पणी गरेका उनले विचार मिल्नेहरूसँग सहकार्य र एकताका लागि एमाले सधैँ खुला रहेको तथा पार्टी छोडेर गएकाहरूलाई फर्कन आग्रहसमेत गरे । ‘ढोक्सा थापेर बस्नेहरूमा हामी जाने छैनौँ,’ नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेताहरूको अभिव्यक्तितर्फ सङ्केत गर्दै पोखरेलले भने । पूर्व राष्ट्रपति विद्या भण्डारीप्रति सदाशयता देखाएका उनले संविधान र कानुनले नरोकेको अवस्थामा कुनै पनि व्यक्तिलाई अधिकारबाट वञ्चित गर्न नहुने पुरानै कुरा दोहोर्याए ।
‘राज्यको संविधानले रोक्दैन भने, पार्टीको विधानले रोक्दैन भने व्यक्तिको चाहना छ भने किन नपाउनेरु पाउनुपर्छ,’ उनले भने ।
डर र त्रास चिर्ने सङ्कल्प
अन्तमा, एक पत्रकारले सोधेको गाउँगाउँमा एमाले कार्यकर्तामा देखिएको डर र त्रासको विषयलाई पोखरेलले गम्भीरतापूर्वक लिनुपर्ने बताए । पछिल्लो आन्दोलन र घटनाक्रमले कार्यकर्तामा एक प्रकारको मनोविज्ञान र त्रास सिर्जना गरेको स्वीकार गर्दै उनले यसलाई चिर्न लाग्नुपर्नेमा जोड दिए ।
‘यो २३र२४ को घटनाले एक मनोविज्ञान निर्माण गरेको छ, त्रास सिर्जना गरेको छ । तर हामी जनताका कुरा सुन्ने र आफ्ना कुरा भन्ने कामलाई निरन्तरता दिन्छौँ,’ पोखरेलको भनाइ छ । एमाले सच्चिएर जनताको बीचमा जाने र गुनासाहरू सुन्ने हो भने यो त्रास धेरै दिन नरहने उनको विश्वास थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण